झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा शङ्कास्पद रूपमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको प्रहरीले पुष्टि गरेको हो।
रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी ती महिलाको उमेर सुरुमा अन्दाजी ३०र३२ वर्ष जस्तो अनुमान प्रहरीले गरेको थियो। इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान सुरु गरे पनि मृतकको पहिचान नहुँदा अनुसन्धान कार्य जटिल बनेको थियो।
ट्याटु बन्यो पहिचानको मुख्य आधार
मृतकको पहिचान खुलाउन प्रहरीले उनको बायाँ हातमा रहेको विशेष प्रकारको ट्याटुको फोटो सहितको प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरेको थियो। उक्त ट्याटु र हुलियाका आधारमा सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले आइतबार दिउँसो प्रहरी कार्यालय झापामा पुगेर शवको पहिचान गरेका थिए।
घरबाट निस्किएको चौथो दिनमा शव फेला
प्रहरीले अनुसन्धानको प्रारम्भिक विवरण अनुसार, मृतक रमा तिवारी गत जेठ १३ गते राति करिव ९ः३० बजेको समयमा कसैलाई केही नभनी घरबाट आफूखुसी निस्किएकी थिइन्। घरबाट निस्किएपछि परिवारसँग सम्पर्कविहीन बनेकी रमाको जेठ १६ गते (चार दिनपछि) खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।
तिवारीको हत्या गरेर बोरामा पोको पारी खोलामा फालिएको हुनसक्ने आशङ्का सहित इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उनको मृत्युको कारण अझैसम्म खुलिसकेको छैन।
Shares

प्रतिक्रिया