झापाको मेचीनगरमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
मेचीनगर नगरपालिका–१५ नीलकोठीमा गएराति भएको कुटपिटका कारण स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
प्रहरीका अनुसार, आइतबार (१७ जेठ) राति करिब १० बजे नीलकोठीस्थित कार्यस्थलमै ज्याला मजदुरी गर्ने तनहुँको दमौली घर बताउने ३५ वर्षीय रामबहादुर गौतम र श्रेष्ठबीच सामान्य भनाभन भएको थियो। सोही क्रममा विवाद बढ्दै जाँदा गौतमले श्रेष्ठमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेर उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए। घटनाबारे आज सोमबार बिहान ७ः२० बजे मात्र प्रहरी चौकी ज्यामिरगढीमा खबर पुगेको थियो। ्
ज्यामिरगढीबाट प्रहरी सहायक निरीक्षक सरोज थापाको कमाण्डमा टोलीले गम्भीर घाइते श्रेष्ठलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बिहान ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी खड्काले जानकारी दिए।
कुटपिटमा संलग्न आरोपी गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ।
Shares

प्रतिक्रिया