नायिका अरुणिमा लम्सालले सुनसरी जिल्ला अदालतमा फिरादपत्र दर्ता गर्दै सम्बन्ध विच्छेदसँगै अंशसमेत माग गरेकी छिन्। लम्सालले जिल्ला अदालतमा सम्बन्ध विच्छेदसँगै अंश मुद्दा हालेको अदालत स्रोतले जनाएको छ।
सुनसरी वराहक्षेत्र नगरपालिका वडा न १, खरखोला बस्ने वर्ष ३९ का युवराज श्रेष्ठसँग २०८१ साउन ३१ गते जिल्ला अदालत सुनसरीबाट नै विवाह गरेकी लम्सालले त्यसको ८ महिनामै सम्बन्ध विच्छेदको फिरादपत्र दर्ता गरेकी हुन्।
उनले दर्ता गरेको फिराद पत्रमा भनिएको छ, ‘विपक्षीलाई तलब गरी मसँग जोडी मेरा साक्षी प्रमाणसमेत बुझी उल्लिखित कार्य गर्ने विपक्षी र म फिरादी बीचको पतिपत्नीको सम्बन्ध विच्छेद गरी विपक्षीको परिवारमा बुवा, दुईवटी आमा तथा एक जना दाजु, एक जना भाइ रहेको हुँदा मूल अंश ६ भाग लगाई विपक्षीको १ भागबाट आधा भाग अंशसमेत दिलाई पाऊँ।’
उनले फिरादपत्रमा सबैभन्दा पहिले विराटनगर निवासी अमीत अर्यालसँग विवाह भएकोमा हामी दुवै पतिपत्नी अमेरिकामा रहेबसेको अवस्थामा आफूले श्रीमतीको हैसियतबाट पाउनुपर्ने माया सम्मान नपाएको कारण सम्बन्ध विच्छेद भएको पनि उल्लेख गरेकी छिन्।
‘सम्बन्ध विच्छेद भएको अवस्थामा २०८१ साउन २ गते नेपाल आएको र विराटनगरमा आफन्तलाई भेट्न भनी प्लेनबाट आउँदा मलाई एयरपोर्टमा लिन आएका मेरा आफन्तसँग विपक्षी (युवराज) आएकाले निजसँग मेरो चिनजान भई विराटनगरमा रहँदा घुमफिर गर्दा,’ फिरादमा उनले लेखेकी छन्, ‘मसँग कुराकानीको सिलसिलामा म अविवाहित नेपालको प्रतिष्ठित व्यापारी तथा राजनीतिकर्मी हुँ, मेरो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग राम्रो सम्बन्ध भई म वहाँहरूको विश्वास पात्र हुँ, मैले स्नातकोत्तरसम्म अध्ययन पूरा गरेको छु भन्दै नेताहरूसँग खिचेको फोटो देखाएको मसँग पटकपटक भेट गर्न आउँदा फरक-फरक गाडीमा आउने गरेको अवस्थामा निजले मसँग माया पिरतीको कुरा गरी विवाह गरी म पनि अमेरिका आउँछु, त्यहाँ व्यापार गरौँला भनी प्रस्ताव गरेकोमा म निजको बोली, वचन व्यवहारमा मन्त्रमुग्ध भई एकल महिला भएको र श्रीमानको माया चाहिएकी महिला भएको कारण निजको भनाइमा विश्वासमा पर्न गएको कारण २०८१।४।३१ मा यसै अदालतबाट विवाह भएको थियो।’
फिरादपत्रमा अपशब्द प्रयोग गरी गाली गलौच समेत गरेको, अत्यन्त मानसिक पीडामा परेको हुँदा यस्ता विवाह हुनुपुर्व मन गढन्ते, झुट्टा कुरा गरी धोका दिएको पनि उल्लेख गरिएको छ। विपक्षीकाे बारेमा बुझ्दै जाँदा स्नातकोत्तर अध्ययन नगरेको, राजनीतिमा पनि क्षेत्रीय स्तरमा उपाध्यक्ष जस्तो सामान्य पदमा रहेको, आर्थिक अवस्था सामान्य रहेको र निजको उद्देश्य आफूलाई उपयोग गरी अमेरिका मात्र प्रवेश गर्ने नियत रहेको भन्ने प्रष्ट रूपमा बुझेपछि सम्बन्ध विच्छेद गर्नु परेको उनले उल्लेख छ।
Shares

प्रतिक्रिया