मोरङको सुन्दरहरैँचा नगरपालिकाले बुधबार एउटा सूचना जारी गरेको छ, उत्कृष्ट ढुकुर जोडी कार्यक्रमका लागि निवेदन पेस गर्ने बारेको।
बिहानै जारी भएको सूचना दिनभरमा सबैको सामाजिक सञ्जालमा पुग्छ र एकाएक भाइरल हुन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसलाई फरक फरक रूपमा विश्लेषण गरेको देखिन्छ। केहीले व्यङ्ग्य गरेका छन् भने कतिपयले आफ्नो योग्यतामा नगर्ने भन्ने टिप्पणी गर्छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘ल है अन्य स्थानीय तहले पनि ढुकुर जोडी कार्यक्रम राख्नुस्! सुन्दर हरैचा नगरपालिकाभित्र काम गर्ने भन्ने एक बुँदा पनि थपेको भए हुन्थ्यो। आफूलाई पनि ढुकुर जोडी अवार्ड लिने इच्छाथ्यो!’
यसरी टीकाटिप्पणी हुँदै गर्दा सुन्दर हरैँचा नगरपालिकाले जारी गरेको सूचनाको मुख्य उद्देश्य भनेको सुखदायी उदाहरणीय जोडी खोज्ने आशयमा देखिन्छ।
सूचनामा भनिएको छ, ‘न्यायिक समितिमा पती पत्नीबीचको झै–झगडा, इज्जत आमद अनुसार खान लाउन पाउँ, लैङ्गिक हिंसा, गाली बेइज्जती सम्बन्धी मुद्दा दिनप्रतिदिन बढ्दै आएको हुँदा त्यस्ता मुद्दालाई न्यूनीकरण गर्नकोलागि समाजमा लामो समयदेखि विभिन्न आरोह, अवरोह पार गर्दै सुखद दाम्पत्य जीवन यापन गर्दै आएको उदाहरणीय ढुकुर जोडी समेत छन्।’
‘उदाहरणीय ढुकुर जोडीबाट धेरै कुराहरू सिक्न जरुरी छ,’ सूचनामा स्पष्ट भनिएको छ।
सम्बन्ध विच्छेद तथा लैङ्गिक हिंसाका घटनाहरू न्यूनीकरण गर्दै जानु पर्दछ भन्ने मूल मन्त्रका साथ प्रत्येक वडाबाट न्यूनतम सर्तहरू सहित पति पत्नीहरूलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गर्ने गरी कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए।
१२वटा बुँदागत सर्तहरू राखेर १० दिन भित्र वडाहरूमा निवेदन पेस गर्न भनिएको बताए।
‘गर्न खोजेको राम्रो हो तर एकाएक भाइरल भयो,’ उनले भने, ‘हामीले लैङ्गिक हिंसा र घरेलु झगडा कम गर्ने भन्ने नै हो।’
कार्यक्रमको लागि न्यायिक समिति मार्फत पुरस्कृत गरिने धेरै रकम नभएको उनले बताए।
Shares

प्रतिक्रिया