कोशी


प्रदेश सभाको शून्य समय: सांसद समस्या राख्छन्, सरकार जवाफ दिँदैन

प्रदेश सभाको शून्य समय: सांसद समस्या राख्छन्, सरकार जवाफ दिँदैन

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १५:३९, विराटनगर

कोसी प्रदेशसभामा सांसदहरूले शून्य समयको महत्वमाथि प्रश्न उठाएका छन्। शून्य समयमा बोलिएका र उठाइएका विषयलाई सरकारले महत्त्व नदिएको भन्दै शून्य समयको औचित्य माथि नै प्रश्न उठाएका हुन्। 

कोसी प्रदेश सभाको बिहीबारको बैठकमा बोल्ने केही सांसदहरूले शून्य समयमा राखिने महत्त्वपूर्ण विषयलाई समेत सरकारले महत्त्व दिन नसकेको बताए।  

उदयपुरका प्रदेश सभा सदस्य हिमाल कार्कीले शून्य समयमा बोलिएका विषयको जवाफ पनि शून्य नै आउने गरेको गुनासो गर्दै बोल्नुपर्ने बाध्यताका बिच आफूले आफ्ना कुरा राख्न बाध्य भएको बताए।  

उनले महेन्द्र राजमार्गसँग उदयपुर सदरमुकाम गाईघाटलाई जोड्ने गाईघाट–फत्तेपुर सडक लामो समयदेखि जीर्ण रहेको बताए। जीर्ण सडकको चुरेका खोलाहरूमा पक्की पुल नहुँदा नागरिकले सास्ती बेहोर्नु परेको, आउजाउमा समस्या भएको तथा उपचार गर्न जानकोलागि पनि बाढी आएको बेलामा पर्खिएर बस्नु पर्ने बाध्यता रहेकोले सडकको स्तरोन्नति र पुल निर्माण गर्न सरकारसँग माग गरे। 

त्यस्तै उनले त्रियुगा नगपालिका २ जोगिदहमा सगरमाथा विमानस्थल निर्माण गर्नकोलागि जग्गा प्राप्ति गर्ने प्रक्रिया सकिएर नागरिक उड्डयन प्राधिकरणको नाममा जग्गा गएको बताए। उनले बन क्षेत्रको १०५ हेक्टर जमिन कटान गरिएको, जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै तत्काल सङ्घीय सरकारलाई  विमानस्थल निर्माण गर्न आग्रह गरे। 

‘जोगीदहमा कि विमानस्थल बनाइयोस् हैन भनेँ जङ्गल क्षेत्र काट्ने निर्णय गर्ने निकायलाई कारबाही गरियोस्’, उनले भने। 

उनले उदयपुर सिमेन्ट उद्योग निजी क्षेत्रलाई जिम्मा दिन लागिएको भन्दै तत्काल रोकेर प्रदेश सरकार मातहतमा ल्याएर सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे। उनले उदयपुर सिमेन्ट कारखानालाई राजनीति गर्ने ठाउँ बनाइँदा जीर्ण अवस्थामा पुग्न लागेकोमा चिन्ता व्यक्त गरे।

सुनसरीका सांसद इस्राइल मन्सुरीले शून्य समयमा बोलिएको कुरालाई सरकारले गम्भीर रूपमा नलिएको बताए। 

‘हामीले शून्य समयमा बोलिएका कुराको अर्थ छ की छैन, उनले भने, ‘यदि छ भनेँ हामीले उठाएका प्रश्न र समस्याको किन सम्बोधन नभएको हो?’ उनले शून्य समयमा उठाएका विषयहरूको सम्बोधन नहुने हो भनेँ शून्य समयको नाममा समय मात्रै खेर फाल्ने काम नगर्न आग्रह गरे। 

शून्य समयमा उठाइएका विषयहरू जनतालाई सुनाउन मात्रै काम हुने र जनताले फेरी आफूहरूमाथि प्रश्न खडा गर्ने मात्रै काम भएको टिप्पणी गरे। बेमौसमी वर्षा, हुरी बतासका कारण किसान ठुलो मारमा परे, त्यो विषयलाई लिएर सबै निकाय मन्त्रालय, सिडिओ कार्यालय, ज्ञान केन्द्र मार्फत कुरा उठाउँदा पनि सुनुवाइ नभएको बताए। 

किसानलाई राहत पुग्ने गरी अनुदानको व्यवस्था समेत नदिइएको उनको गुनासो छ। सङ्घीय सरकारले इनरुवा काँकडभिट्टा रेलमार्गको अवधारणा ल्याएर नागरिकका जग्गा बर्षौ देखि रोक्का राखिएकोले नागरिकले सास्ती पाउँदै आएको बताए। 

‘कि रोक्का राखिएको जग्गा फुकुवा गर्नु पर्‍यो, हैन भनेँ रोक्का राखिएको जग्गा सरकारले अधिग्रहण गरेर जनतालाई मुआब्जा दिनु पर्‍यो, रोक्का राखेर मात्रै हुँदैन’, उनले भने।

झापाका सांसद भक्तिप्रसाद सिटौलाले सोलुखुम्बुको कारागारमा क्षमताभन्दा बढी ९९ जना कैदी बन्दी राखिएको विषय उठाए। २५ जना क्षमताको कारागारमा ४ गुणा बढी कैदी बन्दी राखिएकोले अस्तव्यस्त रहेको बताए। कैदी बन्दीलाई दिइनु पर्ने सुविधामा सिदा बाहेक केही सेवा सुविधा नपाएको उनको भनाई थियो। 

‘कैदमा राख्ने निकायले उपचार र खान दिइनु पर्छ की पर्दैन?’ उनले भने, ‘यो सोलुखुम्बुको मात्रै समस्या हैन सबै कारागारको नै अवस्था उस्तै छ, औषधि उपचारको पैसा तिर्न नसकेर कारागार प्रमुख भागेर हिँड्नु पर्ने अवस्था आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad