विराटनगरमा केही दिनदेखिको एउटा चुनावी रस्साकस्सी टुङ्गिएको छ। नेकपा एमाले भित्रैको विवादका कारण पटक पटक हुने भन्दै स्थगित हुँदै आएको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनको विषय टुङ्गिएको हो।
त्रिपक्षीय चुनावी प्रतिस्पर्धाको बिचबाट कुनै सङ्घीय निर्वाचन क्षेत्रमा भएकै चुनावकै झल्को दिनेगरी निर्वाचन सकिएको छ।
सोमबार सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार लालमणि भट्टराई निर्वाचित भएका छन्। भट्टराई १ हजार ८८९ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
नेकपा एमालेको संस्थापन इतर समूहका उम्मेदवार भट्टराईले एमालेकै संस्थापन पक्षीय खानेपानीका वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरेलाई ७३५ मतले पराजित गरेका हुन्। घिमिरेले १ हजार १५४ मत प्राप्त गरेका थिए।
त्यसै गरी अध्यक्षमै दुर्गा चापागाईँले ६३५ मत प्राप्त गरेकी थिइन्। उनी नेपाली कांग्रेस निकट उम्मेदवार हुन्।
खानेपानीको निर्वाचनमा भट्टराई, घिमिरे र चापागाईँ प्यानलै प्रतिस्पर्धामा उत्रिएका थिए।
महिला उपाध्यक्षमा चापागाईँ प्यानलकी सावित्रा कुमारी पोखरेल निर्वाचित भइन्। खुला उपाध्यक्षमा पनि चापागाईँ प्यानलकै भोलानाथ घिमिरे निर्वाचित भए। सचिवमा भट्टराई प्यानलका प्रदीप कुमार नेपाल निर्वाचित भए। ९६५ मत प्राप्त गर्दै कोषाध्यक्ष पदमा भने स्वतन्त्र उम्मेदवार सरोज घिमिरे निर्वाचित भए।
दुई महिला सदस्यहरूमा सात जनाबीच प्रतिस्पर्धा हुँदा शान्ति बस्नेत रिजाल र अन्जु तिम्सिना कटुवाल निर्वाचित भएका छन्।
मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता सदस्य मतदाता रहेका थिए। कुल उपभोक्ताको ६६ प्रतिशत अर्थात् ३ हजार ९६४ मत खसेको थियो।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन गत जेठ १९ गते हुन नसकेपछि विवाद भएको थियो। विवाद समाधान हुन नसकेर अदालतसम्म पुगेको थियो। उच्च अदालत विराटनगरले फागुन ११ गते पुनः मतदान गराउन फैसला गरेपछि निर्वाचन भएको हो।
विराटनगर खानेपानी तथा उपभोक्ता संस्थाले चुनाव गर्न नसक्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा शनिबार निर्वाचन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले मीनबहादुर श्रेष्ठ, रुक्मीणा दाहाल र राजेन्द्रकुमार सुनुवार रहेको निर्वाचन समिति बनाएको थियो। कतिपय एमाले कार्यकर्ताहरूले यो चुनावलाई पनि एमाले भित्र विनोद ढकालले जितेको भन्ने गरेका छन्।
Shares

प्रतिक्रिया