कोशी


ओलीको गृहजिल्लामा विद्या भण्डारी, एमाले नेता-कार्यकर्तासँग रातिसम्म छलफल

‘पूर्वराष्ट्रपतिज्यू! एमालेको अध्यक्ष कहिले बन्ने?’
ओलीको गृहजिल्लामा विद्या भण्डारी, एमाले नेता-कार्यकर्तासँग रातिसम्म छलफल

सुमन सुस्केरा
जेठ २४, २०८२ शनिबार ६:४३, झापा (बिर्तामोड)।

विराटनगरमा शुक्रबार दिउँसो स्थानीय तहका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन सम्बोधन गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थलबाट बाहिरिँदै थिइन्।

त्यही क्रममा पत्रकारहरूले सोधे- तपाईँको राजनीतिक यात्रा कहिले सुरु हुन्छ? भण्डारीले फनक्क फर्केर पुलुक्क हेर्दै भनिन्, ‘चाँडै आउँछ।’

यतिभन्दा उनी अघि बढिसकेकी थिइन्।

लगत्तै पत्रकारले अर्को प्रश्न बजारे- पूर्वराष्ट्रपतिज्यू! राजनीतिमा त सक्रिय भइसक्नुभयो, तपाईं एमाले अध्यक्ष कहिले बन्ने?

यो प्रश्नमा उनले भनिन्, ‘बेला आएपछि।’

यति जवाफ दिएपछि गाडी चढेर बाहिरिएकी पूर्वराष्ट्रपति भण्डारी सिधै झापातर्फ लागिन्। 

गाडी हुइकिँदै अगाडि बढ्यो। झापा पुग्दा झमक्क साँझ परिसकेको थियो। कार्यकर्ताहरू पूर्वराष्ट्रपतिको स्वागतका लागि आतुर देखिन्थे।

राति ८ बजेतिर उनी बिर्तामोडस्थित होटल सिद्धार्थ पुगिन्।

जहाँ उनलाई एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टीका उपाध्यक्ष शिव ढुंगेलललगायतले स्वागत गरे। 

विराटनगरबाट झापा जाने क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग एमालेका प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईहरूसँगै थिए।

आज शनिबार सुरु हुने कोसी प्रदेश स्तरीय विज्ञान तथा प्रविधी प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा आइपुगेकी हुन्। 

नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनी बिर्तामोडस्थित देवी माविमा आयोजना हुँदै छ।

नेताहरूको स्वागत ग्रहणसँगै राति साढे ८ बजेपछिकाे समय पूर्वराष्ट्रपतिले भेटघाटमै बिताइन्।

भण्डारीसँग भेटवार्ता गर्नेहरूमा युवा संघ केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डेदेखि पूर्वसांसद पवित्रा खरेल, नेता निता घतानी, बिर्तामोडका मेयर पवित्रा महतरा प्रसाई एवं कमल गाउँपालिकाका पूर्वअध्यक्ष मेनुका काफ्लेसम्म थिए। 

उनीहरूले पूर्वराष्ट्रपति भण्डारीसँग बसेर रातिसम्म छलफल गरे।

भण्डारीको बसाइ केही महिनाअघि विराटनगरको जमघटलाई बिर्साउने खालको थियो।

झापा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो। 

जहाँ पूर्वराष्ट्रपति भण्डारी एमालेका नेता-कार्यकर्तासँग भेटघाटमा निकै सक्रिय देखिइन्। उनलाई भेट्नेहरूमा पुराना नेता-कार्यकर्ता मात्र छैनन्, नयाँ पुस्ताका युवा पनि छन्।

त्यसमा पनि अध्यक्ष ओलीसँग रुष्ट नेताहरू धेरै देखिएको जानकारी एमाले झापानिकट स्रोतले नेपालखबरलाई दियो। 

शुक्रबार राति  झन्डै १० बजेसम्म छलफलमा व्यस्त पूर्वराष्ट्रपति भण्डारीले एमाले झापाका पदाधिकारीसँग भेटेलगत्तै महिला नेताहरूसँग छलफल गरेकी थिइन्। 

`आज खासै धेरै भेटघाट भएन´, विद्या भण्डारीनिकट स्रोतले भन्यो, `हामी पनि ढिलै आएका थियौँ, त्यसैले महिला नेताहरूसँग मात्रै भेट्ने काम भयो।´

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी झापामा शनिबार दिनभर र आइतबार दिउँसोसम्म रहने एमालेनिकट स्रोतले जानकारी नेपालखबरलाई दिएको छ।

उनी शनिबार एमालेको विज्ञान प्रविधि विभागले आयोजना गर्ने प्रदर्शनीमा र आइतबार नारी सञ्चार गृहले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदै छिन्।

यसबाहेक भण्डारीका अधिकांश समय भेटघाटमा नै बित्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad