कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको बताएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भए पनि अहिले ३६/३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको जानकारी जानकारी दिए।
शनिबार झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको बताए। कार्कीले संघीय सरकारले केही स्रोत अहिले रोकेको चर्चा गर्दै आगामी बजेट ३६÷३७ अर्बको आउन सक्ने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले भने, ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’
मुख्यमन्त्रीले बजेट तयारीको अन्तिम चरण सकिएको र भोलि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी दिए।‘स्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ’, कार्कीले भने, ‘कतिपय श्रोतमा केन्द्र सरकारले कानुन बनाएर अधिकार दिन बाँकी छ, कतिपय स्रोत बन्द नै गरिएको छ।’
प्रदेश सरकारको बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे। गौरदहको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको सो क्याम्पसको विविध पक्षबारे मुख्यमन्त्रीले चर्चा गरेका थिए।
उनले क्याम्पसको स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कोसी प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ। असार १ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
Shares

प्रतिक्रिया