कोशी


थेवेसँगको विवादबारे मन्त्री हाङ्गाम भन्छन्ः उनले थप्पड हाने, मैले आत्मरक्षा गरेँ

थेवेसँगको विवादबारे मन्त्री हाङ्गाम भन्छन्ः उनले थप्पड हाने, मैले आत्मरक्षा गरेँ

पाथीभरा विकास समितिका अध्यक्ष रक्की थेवे र कोसी सरकारका कृषि मन्त्री खगेनसिं हाङ्गाम


नेपालखबर
असार ६, २०८२ शुक्रबार १६:५२, ताप्लेजुङ

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेसँगको विवादमा आफूमाथि पनि हातपात भएको स्वीकार गरेका छन्।

प्रेस युनियन ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त घटनाको पृष्ठभूमि, परिस्थिती र आफ्नो भनाइ सार्वजनिक रूपमा स्पष्ट पारेका हुन्।

मन्त्री हाङ्गामले घटनाको क्रममा थेबेले आफूलाई पनि थप्पड हानेको र आफूले त्यसको आत्मरक्षामा प्रतिक्रिया दिएको बताएका छन्। ‘मैले मात्रै होइन, मलाई पनि थप्पड हानिएको हो’,उनले भने, ‘त्यो अवस्था आत्मरक्षाको थियो।’

मन्त्रीले घटनामा थेवेले ‘कालो वस्तु’ निकालिएको दाबीसमेत गरे।

‘उहाँले  केही कालो वस्तु निकाल्नु भएको थियो, त्यो के थियो भन्ने कुरा अहिले अनुसन्धानको विषय हुनुपर्छ। मलाई लाग्छ त्यो सुनियोजित योजना पनि हुन सक्छ,’ हाङ्गामले भने।

घटनाको समयमा आफू सामान्य पोशाकमा रहेको र रक्की भने हेल्मेट, कम्ब्याट र ट्रेकिङ जुत्ता सहित तयारी अवस्थामा आएको पनि उनले उल्लेख गरे।

‘उहाँ हेल्मेट लगाएर आउनुभएको थियो, म त टोपी पनि नलगाई निस्किएको थिएँ,’ मन्त्री हाङ्गामले भने, ‘त्यसैले परिस्थिति कसको नियत कस्तो थियो भन्ने कुरामा पनि विचार गरिनुपर्छ।’

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले पछिल्लो समय आफूलाई एकतर्फी दोषी देखाउने प्रयास भइरहेको गुनासो गरे।

‘सञ्चार माध्यममा मलाई मात्रै दोष लगाउने प्रवृत्ति देखियो। गल्ती दुवैतर्फबाट भएको हो भने निष्पक्ष रूपमा मूल्यांकन हुनु पर्छ,’ उनले भने।

उनले घटना सम्बन्धी निष्पक्ष छानबिनको माग गर्दै भने, ‘यो घटनामा जो दोषी छन्, उनीहरूलाई कारबाही हुनुपर्छ। तर सत्य त बाहिर आउनै पर्छ।’ 

राजनीतिक पृष्ठभूमिसमेत उल्लेख गर्दै उनले नेपाली कांग्रेसप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेतृत्वको जिम्मेवारी लिन तयार रहेको बताएका छन्।

‘नेतृत्वले चाह्यो भने ताप्लेजुङको कांग्रेस सभापतिको उम्मेदवार पनि बन्न सक्छु,’ मन्त्री हाङ्गामले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad