सुनसरीको कोसी गाउँपालिका–८ नन्कु टोलमा शनिबार बिहान सर्पको डसाइबाट १२ वर्षीया बालिकाको ज्यान गएको छ। कासिम मियाँकी छोरी नबिजन खातुनलाई बिहान १०ः ३० बजे आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पले डसेको थियो।
दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेपछि उनलाई तत्काल इनरुवास्थित जिल्ला अस्पताल लगिएको थियो। अवस्था गम्भीर देखिएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए।
मृतक बालिकालाई कुन प्रजातिको सर्पले डसेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। वर्षा याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा सर्पको गतिविधि बढ्दो छ।
झापा, मोरङ, सुनसरी र उदयपुरसहित कोशी प्रदेशका जिल्लामा प्रत्येक वर्ष सर्पदंशका घटना बढ्ने गरेका छन्।
Shares

प्रतिक्रिया