कोशी


कक्षा ७ का विद्यार्थीले बनाए कुलर

कक्षा ७ का विद्यार्थीले बनाए कुलर

सुमन सुस्केरा
साउन ५, २०८२ सोमबार १५:४, विराटनगर

गर्मीको अत्यधिक तापक्रमले विद्यालयको टिनको छानोमुनि पढ्ने विद्यार्थी र शिक्षक दुवैलाई हैरान बनाएको छ। कक्षा कोठामा चिसो हावाको कल्पना मात्र गर्न सकिन्थ्यो। तर त्यो कल्पना एक दिन वास्तविकतामा बदलियो, जब श्री माध्यमिक विद्यालय कन्चनवारी विराटनगरका  तीन जना कक्षा ७ का विद्यार्थीहरूले आफैँ कुलर बनाएर विद्यालयलाई बुझाए। 

यो केवल एउटा ‘सस्तो कुलर’ बनाउने परियोजना थिएन। यो त थियो– केवल सीप सिकाइ, प्रयोगात्मक शिक्षा र बालबालिकामा सम्भावनाको पहिचान गर्ने एउटा शिक्षा यात्राको आरम्भ।

विद्यालयमा केही समयअघि अर्थात् २०८१ कात्तिकमा मात्र नियुक्त भएकी विज्ञान शिक्षक अफसना गिरीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक सिकाइमा समेत लैजान चाहन्थिन्।

‘विज्ञान पढाउँदा केवल बोर्ड र किताब होइन, बच्चाहरूले आफैँले महसुस गरेर सिकुन् भन्ने मेरो चाहना थियो,’ उनी भन्छिन्। पाठ्यक्रमको पहिलो पाठमा रहेको वैज्ञानिक कार्य पद्धतिमाथि आधारित रहेर उनले कक्षा ७ का विद्यार्थीहरूलाई एउटा नयाँ परियोजना दिइन्।

उनले विद्यार्थीलाई भनिन्, ‘तिमीहरूले वैज्ञानिक तरिकाबाट केही बनाऊ र त्यसलाई प्रयोग गरेर देखाऊ।’  

उनले विद्यार्थीहरूलाई राम्रो अध्ययन गराउनु पर्छ भनेर नयाँ प्रयोग र अभ्यासहरू गर्दै आएकी छिन्। त्यही अभ्यास गर्ने क्रममा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई नयाँ परियोजना कार्य दिइएको थियो। विज्ञान विषयको पहिलो पाठको वैज्ञानिक कार्यमा आधारित रहेर परियोजना कार्य लगाइयो। 

सुरुमा विद्यार्थीहरूले कुलरको लागि आवश्यक पर्ने प्रोटोटाइप बनाए। सानो टर्चमा प्रयोग हुने ब्याट्री प्रयोग गरेका थिए। यो परियोजना कार्य प्रभावकारी भएपछि शिक्षक गिरीले विद्यार्थीहरूलाई तिमीहरूलाई सहयोग विद्यालयको तर्फबाट भयो भने काम गर्छौ त? भनेर सोधिन्।

विद्यार्थीहरूले त्यसलाई ऊर्जाका साथ लिन्छन्। उनीहरूले विद्यालयको तर्फबाट धेरै सहयोग पनि नपर्ने जवाफ दिए।  घरमै प्रयोग हुने प्लाईहरु प्रयोग गरेर भए पनि बनाउन सक्छौँ भन्ने विद्यार्थीको इच्छालाई विद्यालयले ऊर्जा भर्ने काम गर्छ। अलिकति मोटरहरूमा लाग्ने ब्याट्रीको पैसा सहयोग भयो भने बनाउन सक्ने विद्यार्थीको प्रतिबद्धता आउँछ।  

विद्यालयले कक्षा ७ का विद्यार्थीहरू सतिश गिरी, प्रमोद पाल र जीवन खवासलाई एक हप्ताको समय तोकेर कुलर बनाउने समय उपलब्ध गराउँछ। विद्यार्थीहरू बिहान साँझ केही नभनी त्यो परियोजनामा लाग्छन्। त्यो प्रतिबद्धतालाई पूरा गर्न विद्यार्थीहरू निरन्तर लागिरहेकै हुन्छन्। एक हप्ताको मेहनत पछि उनीहरूले आवश्यक पर्ने सबै सामग्रीको जोहो गरेर राम्रो चल्ने कुलर बनाउन सफल हुन्छन्। 

परियोजना कार्यको नेतृत्व गरेका कक्षा ७ का विद्यार्थी सतिशकुमार गिरीले कुलरका लागि आवश्यक पर्ने जालीलाई धानको पराललाई प्रयोग गरेको बताए। त्यसपछि प्लाई खोज्न जान्छन्। प्लाईलाई ल्याएर काट्छन् अनि त्यसकै आधारमा आवश्यकता अनुसार टुक्रा टुक्रा पारेर वरिपरि टाँसिन्छ। यसरी सामान खोज्न र किन्नकोलागि धेरै दिन लागेको उनले सुनाए।

जब सामान किनेर ल्याए अनि बनाउन जम्मा २ दिनमै तयार भएको उनको भनाई छ। ‘यो बनाउनको लागि प्लाइ, फलाम, तार, परालका टुुक्राहरु, मोटर र ब्याट्री प्रयोग गरेपछि यसलाई सेट गर्न समय लाग्यो’, उनले भने, ‘यस्तो बनाउन पाए हुन्थ्यो भनेर पहिला बच्चादेखि नै मन लागेको थियो, सिक्दै जाँदा बनाउन सकियो।’

सानो मोटरकोलागि ब्याट्री खेलाउँदै बनाउँदै जाँदा धेरै कुरा आउँदै थियो, अफसना मिसले मौका दिएपछि यो बनाउन सफल भएको उनको भनाई छ। सामान किन्नकोलागि आवश्यक पर्ने रकम विद्यालयले उपलब्ध गराएको थियो। 

उनीहरू दैनिक विद्यालय पनि आउँथे अनि बिहान बेलुकाको समयमा कुलर बनाउने गर्थे। विद्यार्थीले बनाएको कुलरमा नर्मल फेन मात्रै चलाउँछु भन्दा फेन मात्रै पनि चल्नेछ र पछाडिबाट आइस वाटर (लो टेम्प्रेचरको वाटर) हालेर चिसो हावा समेत फाल्न मिल्ने गरी उनीहरूले बनाएका छन्। विद्यार्थीहरूले बनाएको परियोजनालाई अहिले विद्यालयले नै  प्रयोगमा ल्याएको छ। 

यो भन्दा पहिला विद्यार्थीले विद्यालयमा कुनै पनि परियोजना कार्य समेत नगरेको र पढ्ने मात्रै गर्थे। ‘टिचिङ पेडागोजी प्रयोग गरेर नै गरिन्थ्यो,’ शिक्षक गिरी भन्छिन्,‘लर्निङ वाई डुइङ भन्ने हिसाबले प्रयोगात्मक कार्य थालिएपछि सोचिएको भन्दा असाध्यै राम्रो परियोजना तयार भएको छ।’

उनका अनुसार, आगामी दिनमा यो भन्दा अझ ठूला परियोजनाहरू बनाउन सक्छन् की भन्ने लागेको छ।

तिनै विद्यार्थीले बनाएको कुलर अहिले कार्यालयमा राखिएको छ। विद्यालयका प्रधानाध्यापक विद्यार्थीहरूले बनाएको कुलर नै प्रयोग गर्न थालिएको बताउँछन्। झन्डै ४० डिग्रीको तापक्रममा टिनको छानो मुनी दिन बिताउनै गाह्रो हुने बताएका प्रधानाध्यापक राजेन्द्र घिमिरेले विद्यार्थीहरूले बनाएको कुलर सफल भएकोले कार्यालयमा नै प्रयोगमा ल्याइएको सुनाए।

‘विद्यार्थीहरूले चाहे भने गर्न सक्छन् भन्ने उदाहरण एउटा कुलर बनाएर देखाएका छन्,’ प्रधानाध्यापक घिमिरेले भने, ‘विद्यार्थीहरुको लागि आवश्यक पर्ने खर्चको जोहो विद्यालयले उपलब्ध गराएको छ।’

अहिले बजारमा न्यूनतम १० हजार पर्ने कुलरलाई विद्यार्थीहरूले सामान खरिदको लागि करिब २६ सय मात्रै खर्च भएको बताएका छन्। उनी भन्छन्, ‘सृजनशीलता भोलिका वैज्ञानिक जन्माउने कुरा होइन, आजकै शिक्षाको आधार हो।’

विद्यार्थी नै नजाने श्री माध्यमिक विद्यालय कन्चनवारीमा अहिले विद्यार्थीको संख्याा बढ्दै छ। कक्षा १० सम्म अध्ययन हुँदै आएको विद्यालयमा नयाँ अभ्यास, नयाँ प्रयोग र नवीनतम खोजीलाई प्राथमिकतामा सिकाई अभिवृद्धि गराउने काम भएको विद्यालयले दाबी गरेको छ।

विद्यार्थीहरूले बनाएको कुलर अहिले विद्यालयका प्रधानाध्यापकले नै  प्रयोगमा गर्छन्, त्यसैले यसले हावा मात्र होइन, प्रेरणा पनि दिइरहेको छ। सिकाइको पद्धति बदल्दा  ती बालबालिकाको कल्पना, मेहनत र सिकाइको सम्मिश्रणले एउटा नयाँ सम्भावना खोजेको छ। जहाँ किताबका अक्षरसँगै व्यवहारमा उतारिँदै छ।

सुधारमा बामे सर्दै गरेको विद्यालयमा पछिल्लो ४ वर्षमा विद्यार्थीको सङ्ख्या बढेको छ। ३ वर्ष २१३ जना रहेको विद्यालयमा अहिले ४२४ जना विद्यार्थी रहेको ३५० जना नियमित आउने गरेका छन्। 

स्मार्ट बोर्ड बाल विकासमा प्रयोग हुँदै आएको छ। महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा विद्यालय आकर्षण रूपमा थियो। हेण्ड राईटिङमा विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउन थालिएको छ। जसले गर्दा ६० जना भन्दा बढी विद्यार्थी अहिले प्रतिस्पर्धामा छन्। 

विद्यालयले अबको २ वर्ष भित्री महानगरपालिकाकै हेण्डराईटिङमा पहिलो हुने गरी तयारी गरिरहेको प्रअ घिमिरे बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad