कोशी


कोसी प्रदेशमा सडक दुर्घटना : एक वर्षमा ४१८ जनाको गयो ज्यान

कोसी प्रदेशमा सडक दुर्घटना :  एक  वर्षमा ४१८ जनाको गयो ज्यान

फाइल तस्बिर


सुमन सुस्केरा
साउन १५, २०८२ बिहिबार १२:२९, विराटनगर

आर्थिक वर्ष २०८१/०८२ को एक वर्षे अवधिमा कोसी प्रदेशमा ४ सय १८ जनाको ज्यान जाने गरी सडक दुर्घटना भएका छन्। 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा ७ सय ११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्। 

कार्यालयले सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरबाहीलाई ठहर गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए। हालसम्मको विश्लेषण हेर्दा दुर्घटनाको मूल जड ट्राफिक नियम उल्लघंन र लापरबाहीपूर्ण सवारी सञ्चालन रहेको कार्यालयले जनाएको छ।  

आर्थिक वर्ष २०८०/८१ मा कोसी का १४ जिल्लामा ३ हजार ५ सय ६३ वटा सडक दुर्घटना हुँदा ३९७ जनाको मृत्यु भएको थियो। ६ हजार ७६ जना घाइते भएका थिए। बितेका दुई आर्थिक वर्षको तुलना गर्दा पछिल्लो वर्ष कोसीमा दुर्घटना सङ्ख्या २ हजार ६३ वटा अर्थात् ५८ प्रतिशतले बढेको छ। मृत्युदर ५ प्रतिशतले बढ्दा घाइतेहरूको सङ्ख्या ३ हजार १ सय ६५ ले बढेको छ। जुन ५२ प्रतिशतले बढी हो। 

जिल्लागत रूपमा दुर्घटनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै मोरङमा छन्। भर्खरै बितेको आर्थिक वर्षभित्र मोरङमा मात्रै १२५ जनाको मृत्यु भएको छ। झापामा ९५ जनाले ज्यान गुमाउँदा सुनसरीमा ९१, उदयपुरमा ३६, धनकुटामा १३, सङ्खुवासभामा १२, इलाममा ११ र भोजपुरमा १० जनाले दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको छ। त्यस्तै खोटाङमा ६ जना, पाँचथरमा ५, ताप्लेजुङ, ओखलढुङ्गा र सोलुखुम्बुमा ४–४ जना र तेह्रथुममा २ जनाले ज्यान गुमाएका छन्।

ट्राफिक नियम उल्लघंन गर्ने २ लाख १३ हजार ६९५ सवारी साधनमाथि कारबाही गरिएको छ।  त्यसबाट राज्यले १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको तथ्ययांकमा उल्लेख छ। 

ट्राफिक प्रहरी इटहरी मातहत १४ जिल्ला ट्राफिक कार्यालय र ९६ इकाईहरूले दैनिक अनुगमन र नियन्त्रण कार्य गर्दै आएको जनाएको छ।   एक वर्षभित्र २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा जसमा ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, विद्यार्थी र सडक प्रयोगकर्ता लाभान्वीय भएको दाबी गरिएको छ।

कोसी प्रदेशका मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दुधफार्म र खारजीमा ‘नम्बर प्लेट डिटेक्टर’ एएनपीआर प्रविधियुक्त क्यामेरा जडान गरिएको छ।

लामो दूरीका सवारी र भारतीय सवारीहरूको निगरानीका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेसन एप सहितको चेकपोस्ट स्थापना गरिएको छ। गति नियन्त्रणका लागि २१ स्थानमा ‘टाइम कार्ड इन्ट्री’ प्रणाली कोसी प्रदेशमा लागू गरिएको छ। 

मादक पदार्थ तथा लागूपदार्थ सेवनबाट हुने दुर्घटना न्यूनीकरणका लागि नियमित ब्रेथलाइजर र लागूपदार्थ परीक्षण जाँच गरिएको बताइएको छ। साथै, तीव्र गति नियन्त्रणका लागि राडरगनको प्रयोगसहित दैनिक २३९ स्थानमा ट्राफिक चेकजाँच भइरहेको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad