विश्व पर्यटन दिवसमा कोसीमा ‘पर्यटन संकट र सम्भावनाका खोजीका लागि छलफल भएको छ।
विश्व पर्यटन दिवस २०२५ को अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा विराटनगरमा पर्यटन सङ्कटबाट सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
समितिका सभापति भविष श्रेष्ठले हालैको राजनीतिक घटनाक्रमका कारण पर्यटन क्षेत्रमा सिर्जिएको सङ्कटलाई सम्बोधन गर्ने रणनीति खोज्न आवश्यक भएकाले छलफल गरिएको बताए।
कार्यक्रममा होटल व्यवसायी महासङ्घका उपाध्यक्ष रबिन गौतमले व्यवसायीहरूलाई आन्दोलनमा निशाना बनाउनु दुखद रहेको बताए। पर्यटन क्षेत्रले देशको रोजगारी र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने भएकाले तत्काल समाधान खोजिनुपर्ने धारणा राखे।
सहभागी पर्यटन व्यवसायीहरूले पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन ढिला नगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले आगामी कोसी पर्यटन वर्ष २०८२ लाई उपयोग गरी भारतीय सहरहरूमा प्रचार–प्रसारमार्फत प्रदेशका आकर्षक गन्तव्य र सुरक्षा सन्देश फैलाउने खालका कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिए।
पर्यटन विज्ञ डा प्रनिल उपाध्यायले नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश तत्काल विश्व समुदायलाई पुर्याउनुपर्नेमा जोड दिँदै होटल व्यवसायीहरूले विद्यमान पर्यटकलाई थप गुणस्तरीय सेवा–सुविधा र आकर्षक प्याकेजमार्फत सन्तुष्ट पार्न सक्ने खालको पहल गर्नुपर्ने बताए।
उनले सङ्कटका बेला अन्य देशहरूले अपनाएका पुनर्स्थापना रणनीतिको उदाहरण प्रस्तुत गर्दै नेपालले पनि त्यस्तै अभ्यास गर्न सक्ने सुझाव दिए।
कार्यक्रममा अस्ट्रेलियाका पर्यटन सङ्कट विज्ञ डा डेभिड बिर म्यानसँग भिडियोमार्फत अनुभव आदानप्रदान गरिएको थियो। उनले अहिलेको अवस्थामा नेपाले गर्न सक्ने समस्या समाधानको बारेमा गर्नु पर्ने उपायहरूको बारेमा सुझावहरू दिएका थिए।
Shares

प्रतिक्रिया