अत्यधिक वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठुलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ३७ जनाको मृत्यु पुष्टि भइसकेको छ। अन्य केही हराइरहेका छन्। ८ जना घाइते भएका छन्। अहिलेसम्म बाढी र पहिरोबाट ४१ घर विस्थापित भएका छन्।
आइतबार बिहानै इलाम नगरपालिका वडा नं. ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले परिएको खबर आयो। पहिरो जाला भनेर कहिल्यै नसोचेको ठाउँमा अत्यधिक परेको वर्षाको कारण माथिल्लो ढिस्कोबाट आएको पहिरोले एकै परिवारका ६ जनाको ज्यान लग्यो। केही भाग्न सफल भए, भाग्दा भाग्दै पहिरोमा परेका ४ जनालाई नजिकैका इलाम अस्पतालमा उपचारका लागि लगिएको छ।
बिहानै घरहरूमा पहिरोले पुरिएको जानकारी पाएपछि पुगेका वडा नम्बर ६ का वडा अध्यक्ष मदन श्रेष्ठले वरिपरि पहिरो नभएको घरलाई कान्ला माथिबाट भासिएर पहिरो गएको बताए। पहिला यस ठाउँमा पहिरो नगएको ठाउँमा भासिएर पहिरो गएको उनको भनाई छ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अत्यधिक वर्षाको कारणले त्यसमा पनि राति आएको पहिरोमा परेर धेरै जनाको ज्यान गएको बताएकी छिन्। उनले भनिन्, ‘इलाममा अहिलेसम्म यस्तो क्षति कहिल्यै नभएको भनेर यहाँका स्थानीयले भन्दै आउनु भएको, छ यस पटकको क्षति जोखिम कुनै क्षतिको आँकलन नै नभएका ठाउँहरूमा भएको पाइन्छ।’
पहिला जोखिमयुक्त भनेर पहिचान गरेका बस्तीहरूमा खासै समस्या नदेखिएको तर नक्सांकनमा नपरेका घरहरूमा ठूलो क्षति भएको उनको भनाई छ।
स्थानीय प्रशासनले पहिल्यै जोखिम मूल्याङ्कन र वार्षिक कार्य योजनामा परेका केही घरहरूलाई राति बस्न दिएको थिएन। जसले त्यस्ता ठाउँमा क्षति घटायो। ‘यस पटकको वर्षा असाध्यै बढी भयो र पहिला सुरक्षित मानिएका ठाउँमै पहिरो खसेपछि ठूलो क्षति भयो,’ उनले भनिन्, ‘यसरी क्षति हुनुमा एउटै घरका ६ जना ८ जना परेका छन्।’
निरन्तरको वर्षाका कारण पहाडका जमिन चर्किएर भासिँदा दर्जनौँ घर भत्किएका छन्। धेरैजसो घटना रातिको समयमा भएकोले मानवीय क्षति बढेको सुरक्षा निकायको भनाई छ।
इलाम नगरपालिकामा एउटै घरमा एकै परिवारका छ जनाले ज्यान गुमाएका छन्। तीमध्ये केही दसैँ मनाउन आएका पाहुना पनि परेका छन्। घटनाको सबै विवरण अझै सङ्कलन भइरहेका छन्। मुख्य सडक र भित्री बाटाहरू अवरुद्ध भएकाले उद्धार कार्यमा समस्या भएको छ, सुरक्षा निकायका टोलीहरू घटनास्थलमा पुगेर खोजी र उद्धार कार्यमा खटिएका छन्। मौसम खराबीका कारण हेलिकप्टरमार्फत उद्धार प्रयास अवरुद्ध भएको छ।
बाढीले खोला किनारका बस्तीहरू पनि डुबानमा पारेका छन्। माई नगरपालिका क्षेत्रमा २६ घर र राजदुवाली क्षेत्रमा १५ घर विस्थापित भएका छन्। ती परिवारहरूलाई पालिकाले नजिकका विद्यालयहरूमा अस्थायी रूपमा राखेको प्रमुख जिल्ला अधिकारी नेपाल बताउँछिन्।
प्रदेश आन्तरिक मामिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच समन्वयमा राहत तथा उद्धार कार्य जारी छ। मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। प्रजिअका अनुसार भन्छिन्, ‘पहिरोमा पुरिएका घरहरू पत्याउनै नसकिने ठाउँका थियो। हामीले सुरक्षित ठानेका ठाउँहरूमा क्षति भयो।’

देउमाई नगरपालिकामा मात्रै ८ जनाको ज्यान गएको छ। मृतकमध्ये दुई जना पाँचथरबाट पाहुना आएका बालबालिका रहेको र बाँकी छ जना स्थानीय बासिन्दा रहेका छन् ।
देउमाई नगरपालिका वडा नम्बर ५ झोरमा एकै परिवारको ५ जनाको मृत्यु भएको स्थल पनि सुरक्षित ठाउँ भएको दाबी पालिकाको छ। दसैँमा बाहिरका केही पाहुनाहरू आएका थिए, घर माथि प्रशस्त बाँसका रुखहरू थिए। बाँसघारी माथिबाट आएको पहिरो मध्यरातमा घर भित्र पस्यो। घर भित्र रहेका सबैलाई एकै पटक पुर्यो। बिहानै स्थानीय जनप्रतिनिधिहरू र प्रहरी पुगेर त्यहाँ खोजी गर्दा पाँचै जनाको लास मात्रै भेटियो।
देउमाई नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद पोखरेलले पहिरो जाने ठाउँमा नगएको र सोच्दै नसोचेको ठाउँमा क्षति भएको बताए। विपद् जोखिम नक्साङ्कन भन्दा पनि आफ्नो जग्गा जहाँ छ त्यही ठाउँमा घरहरू बनाएर बसे तर अन्य दुई घर भन्दा पनि ५ जनाको मृत्यु भएको भनिएको ठाउँ असाध्यै सहज र राम्रो ठाउँ भएको दाबी उनको छ। उनले भने, हामीले कल्पनै नगरेको ठाउँमा माथिबाट पहिरो झरेर पुरेको छ।
नगरप्रमुख पोखरेलले भने,‘नजिकै पहिरो गएर दुई जनाको मृत्यु भएको भनिएको प्याकप्याकी घरका मान्छेहरू बाहिर गएर घर रुँग्न बसेका व्यक्तिहरू पहिरोमा परे। पहिलो घटना देउमाई–५ को धुसेनी नजिकको बस्तीमा भएको र अर्को पहिरो लप्सीबाट सांग्रु तिरको क्षेत्रमा गएको बताइएको छ। धुसेनीको ढाडे भन्ने ठाउँमा दुई जनाको मृत्यु भएको छ।’
इलाममा ३७ जनाको मृत्यु पुष्टि
इलाममा एकै दिन पहिरोमा परेर ३७ जनाको मृत्यु पुष्टि भएको छ। पछिल्लो तथ्याङ्क अनुसार सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्युमा एक जना पुरुष सहित ४ जना महिला परेका छन्। इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु हुँदा बालन गाउँमा १ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा ४ पुरुष, २ महिला छन्।
सन्दकपुर गाउँपालिकामा ३ जना महिला र ३ जना पुरुष सहित ६ को मृत्यु पुष्टि भएको छ। त्यस पालिकामा ५ जना घाइते भएका छन्। पहिरोमा परेर माङ्सेबुङ गाउँपालिकामा ३ को मृत्यु पुष्टि भएको छ, यहाँबाट ३ घाइते हेलिकोप्टरबाट उद्धार भएको छ। देउमाई नगरपालिकामा ८ को पहिरोमा परेर मृत्यु भएको हो, जसमा ५ पुरुष, ३ महिला छन्।
माइजोगमाई गाउँपालिकामा ८ को मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। मृत्यु हुनेमा ३ पुरुष ३ महिला रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिकामा एक जना पुरुषको मृत्यु भएको छ।
निरन्तरको वर्षाका कारण क्षति भएका ठाउँहरूमा समन्वयको काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसीका विपद् व्यवस्थापन शाखाका प्रमुख सदानन्द भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया