आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेका छन्।
आइतबार बसेको क्षेत्रीय कमिटीका छुट्टाछुट्टै बैठकले कुनै पनि क्षेत्रमा एकल उम्मेदवारको नाममा सहमति जुटाउन नसकेपछि कुल ४३ जना आकांक्षीको नाम जिल्ला कमिटीमा पठाइएको हो।
क्षेत्रीय कमिटीहरूले न्यूनतम ३ देखि अधिकतम १६ जनासम्मको नाम सिफारिस गरेका छन्, जसमा नेता विनोद ढकालको नाम क्षेत्र नं १, ४ र ६ गरी तीनवटा क्षेत्रबाट सिफारिस भएका छन्।
२०७९ को निर्वाचनमा एमालेले जितेको एकमात्र क्षेत्र मोरङ २ मा समेत यसपटक सर्वसम्मत उम्मेदवार चयन हुन सकेन।
क्षेत्रगत विवरण अनुसार, मोरङ १ बाट कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा १५ जनाले आकांक्षा देखाए पनि अन्ततः ६ जनाको नाम मात्र अघि बढाइएको हो।
यस्तै, क्षेत्र नं २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेलीका नगर प्रमुख दिलीप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिस भएको छ।
सबैभन्दा धेरै १६ जना आकांक्षी रहेको क्षेत्र नं ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, केदारप्रसाद गुरागाईं र प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीसहितको नामावली पठाइएको छ।
त्यसैगरी, क्षेत्र नं ४ मा केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत र बाबुराम कार्की लगायत ९ जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नं ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव र मझार आलमसहित ६ जनाको नाम तय गरिएको छ।
क्षेत्र नं ६ बाट पूर्वमन्त्री लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी र यशोदा अधिकारी लगायतको नाम सिफारिसमा परेका छन्।
क्षेत्रीय कमिटीले पठाएका यी नामावलीहरू अब जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रमा पुग्नेछन्, जहाँबाट उम्मेदवारको अन्तिम टुंगो लाग्ने बताइएको छ।
Shares

प्रतिक्रिया