नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताका लागि माघ ५ गते झापा आउने भएका छन्। अध्यक्ष ओली ५ गते दिउँसो १२ बजे भद्रपुर विमानस्थल ओर्लिने तालिका रहेको उपाध्यक्ष शिव ढुङ्गेलले जानकारी दिए।
विमानस्थलमा कार्यकर्ताहरूले ओलीको भव्य स्वागत गर्ने तयारी छ। भद्रपुर ओर्लिएसँगै कार्यकर्ताहरूसँग सामान्य भेटघाट र पत्रकार सम्मेलन गर्ने योजना रहे पनि अन्य ठूला राजनीतिक कार्यक्रमहरू तय नगरिएको उपाध्यक्ष ढुङ्गेलले नेपाल खबरलाई जानकारी दिए।
निर्वाचन आयोगले माघ ६ गते मनोनयन दर्ताको मिति तोकेको छ। मनोनयन दर्ताका लागि निर्वाचन आयोगले समय उपलब्ध गराइ नसकेकाले ५ गते मात्रै समयको टुङ्गो लाग्ने एमालेले जनाएको छ। उपाध्यक्ष ढुङ्गेलले भने, ‘निर्वाचन आचारसंहिताका कारण ठुलो जुलुस वा झाँकी प्रदर्शन गर्न नमिल्ने भएकाले सीमित व्यक्तिहरूको उपस्थितिमा मनोनयन दर्ता गरिनेछ। तर, कार्यकर्ताहरूको उत्साहजनक जमघट भने हुनेछ।’
अध्यक्ष ओलीको आवास तथा चुनावी गतिविधि गर्नको लागि नेकपा एमाले झापाले मुख्य तीन वटा विकल्पहरूमा छलफल अगाडि बढाएको छ। दमकमा ओलीको आफ्नै निजी निवास नभएको अवस्थामा चुनावभरिका लागि व्यवस्थित र सुरक्षित आवास निर्माण वा छनौट गर्ने विषयमा पार्टी पङ्क्तिमा छलफल भइरहेको छ।
एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार, ३ वटा विकल्पको रूपमा सबैभन्दा बलियो विकल्पको रूपमा ट्रस्टको जमिनमा प्रिफ्याब प्रविधिबाट अस्थायी घर बनाउने योजना अघि सारेको छ। करिब ५ देखि ७ लाख रुपैयाँको लागतमा एक हप्ताभित्रै तयार गर्न सकिने यस्तो घरमा अध्यक्ष ओली, सुरक्षाकर्मी तथा स्वंसेवकका लागि छुट्टै कोठाहरू रहने गरी काम थाल्ने सल्लाह भइरहेको छ। यो विकल्पमा अध्यक्ष ओली पनि सकारात्मक छन्।
दोस्रो विकल्पका रूपमा जिल्लास्थित कुनै भरपर्दो र सक्रिय कार्यकर्ताको घरमा बस्ने बारे पनि छलफल भइरहेको छ। चुनावी गतिविधिको केन्द्र बनाउन सहज हुने खालको कार्यकर्ताको घरलाई मर्मत सम्भार गरी बसाई व्यवस्थापन गर्ने तयारी समेत गरिएको छ।
अध्यक्ष ओलीको आफ्नै घर नरहेकाले यस पटकको चुनावी गतिविधिका लागि दमक नगरपालिकाको वडा नं.२ बाट ओलीले चुनावी गतिविधि गर्ने तयारी पनि गरिएको छ। पार्टी कार्यकर्ता पूर्णराज थापाको घरबाट चुनावी गतिविधि हुने एमाले निकट स्रोतले जनाएको छ।
यसअघि चुनावी गतिविधि गर्दै आएको घर जेनजी आन्दोलनको बेला जलाइएपछि यो निर्वाचनमा ओली असल कार्यकर्ताको घरबाट चुनावी अभियान चलाउने मनसायमा पनि देखिन्छन्।
कुनै ठोस निर्णय नहुँदासम्म वा तत्कालका लागि दमकस्थित होटलमा बस्ने विकल्पलाई तेस्रो प्राथमिकतामा राखिएको एमालेका नेताहरूले बताएका छन्। माघ ५ गते आगमन हुँदा सुरुमा होटलमा बस्ने र अन्य विकल्पहरूमध्ये एउटालाई छिट्टै अन्तिम रूप दिने तयारीमा जिल्ला नेतृत्व जुटेको छ।
ओलीको स्वागतको तयारी माघ ५ गते विमानस्थलमा हजारौँ कार्यकर्ताले एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत गर्ने र विमानस्थलबाटै स्कर्टिङ गरेर दमकसम्म पुर्याउने कार्यक्रम तय गरेको छ। माघ ६ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै आवास र साङ्गठनिक परिचालनका मुख्य कामहरू टुङ्ग्याउने एमालेको तयारी छ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका नेता रञ्जित तामाङबीच प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रबाट ओलीले २०७९ को निर्वाचनमा ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए।
त्यति वेला कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । यस पटक झापा ५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् ।
तीमध्ये ९ हजार ९० नयाँ मतदाता थपिएका छन्।
Shares

प्रतिक्रिया