आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कोसी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिह्न प्रदान गरेको छ।
आयोगले सार्वजनिक गरेको अन्तिम सूची अनुसार कोसी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रहरूमा कुल ४९५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारहरूले आ–आफ्नो दलीय तथा स्वतन्त्र चुनाव चिह्न प्राप्त गरेका छन्।
्नि
र्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुनसरी जिल्लाका निर्वाचन क्षेत्रहरूमा सबैभन्दा बढी उम्मेदवारहरूको प्रतिस्पर्धा हुने देखिएको छ, जहाँ सुनसरी क्षेत्र नम्बर १ र ४ दुवैमा समान ३०–३० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। त्यसै गरी सुनसरी क्षेत्र नम्बर ३ मा २६ जना र क्षेत्र नम्बर २ मा २३ जना उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन चिह्न प्राप्त गरी चुनावी अभियान सुरु गरेका छन्।
मोरङ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारहरूको सङ्ख्या धेरै छ। मोरङ क्षेत्र नम्बर ४ मा २३ जना र क्षेत्र नम्बर ३ मा २१ जना उम्मेदवारहरू बिच प्रतिस्पर्धा हुँदै छ। क्षेत्र नम्बर १ मा २० जना तथा क्षेत्र नम्बर २, ५ र ६ मा समान १८–१८ जना उम्मेदवारहरूले अन्तिम नामावली कायम भएको छ।
झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारहरूको उपस्थिति उल्लेख्य छ, जसमा क्षेत्र नम्बर ३ मा १९ जना, क्षेत्र नम्बर ५ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना र क्षेत्र नम्बर १ र ४ मा समान १६– १६ जना उम्मेदवारहरूले चुनावी चिह्न प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय कोसीका निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए।
उनका अनुसार, पहाडी तथा हिमाली जिल्लाहरू तर्फ हेर्दा धनकुटामा १६ जना, ओखलढुङ्गा र पाँचथरमा समान १५–१५ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। उदयपुर क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा १० जना उम्मेदवारहरू बिच प्रतिस्पर्धा हुने देखिएको छ।
इलामका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर १ मा १३ जना उम्मेदवारहरू मैदानमा रहँदा ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा १३ र १५ जनाको उम्मेदवारहरू रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कोसी प्रदेशका तुलनात्मक रूपमा कम उम्मेदवार भएका जिल्लाहरूमा भोजपुर, तेह्रथुम र सोलुखुम्बु रहेका छन्। जहाँ समान १२–१२ जना उम्मेदवारहरूले मात्रै चुनाव चिह्न प्राप्त गरेका छन्।
Shares

प्रतिक्रिया