आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ मुलुककै चर्चा पाएमध्येको एउटा क्षेत्र हो।
अघिल्लो निर्वाचनमा एकै क्षेत्रबाट सभामुख र उपसभामुख चयन भएर राष्ट्रिय राजनीतिमा दुर्लभ उदाहरण बनेको यो भूगोलमा संसदका दुई सारथीले चुनावी प्रतिस्पर्धा पनि सँगै गर्दैछन्।
हिजो सदनको एउटै रोस्टममा बसेर देशको कानुन निर्माणको नेतृत्व गर्ने सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर अहिले एउटै पदका लागि चुनावी मैदानमा एकअर्काको प्रमुख प्रतिस्पर्धीका रूपमा उत्रिएका छन्।
दलहरूको आफ्नै दाबी
नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व सभामुख घिमिरेलाई बलियो संगठनात्मक आधार भएका कारण यस क्षेत्रमा बलियो उम्मेदवारको रुपमा लिइन्छ। २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी बनेका घिमिरेले आफ्नो कार्यकालमा अर्जुनधारा र बिर्तामोड क्षेत्रमा भएका विकासका कामलाई मुख्य एजेन्डा बनाएका छन्।
एमालेले आफ्नो चुनावी एजेन्डाको रुपमा राष्ट्रियताको मुद्दालाई अघि सारेको छ। पछिल्ला वर्षहरूमा नेकपा एमालेले यस क्षेत्रमा गरेको विकास निर्माणका विषय पनि चुनाव जित्ने आधार भएको एमाले झापा क्षेत्र नम्बर २ चुनाव परिचालन कमिटिका संयोजक एकराज कार्कीको दाबी छ।
उनका अनुसार, जनसंगठन बलियो भएको, अनुभवी नेता, विकासका देखिने कामहरू र राष्ट्रियताका मुद्दासँगै युवा र प्रविधिका विषयहरूलाई चुनाव जित्ने आधारको रुपमा छन्।
‘एमालेले अहिले सबै केन्द्रीय नेताहरूलाई समेत वडा र पालिकाको जिम्मेवारी दिएर चुनाव परिचालन र आफ्ना कार्यकर्ता भेटघाटलाई तीब्रता दिएको जनाएको छ। आन्तरिक रणनीति बनाएर कार्यकर्ता भेटघाट र बैठकहरूलाई ब्यापक बनाइएको छ,’ उनले भने।
पूर्व उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचनमार्फत जनमत परीक्षण गर्न पहिलो पटक मैदानमा छिन्। यसअघि समानुपातिकबाट प्रतिनिधित्व गरेर प्रतिनिधि सभा प्रवेश गरेकी रानाका लागि यो निर्वाचन निक्कै संघर्षपूर्ण छ। अनाथ बालबालिकाको क्षेत्रमा काम गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएकी रानालाई रास्वपाको बढ्दो लहर र युवा मतदाताको आकर्षणले उर्जा दिएको छ।
रास्वपाको आफ्नो संगठन संरचना कमजोर भएपनि अरु दलले पाएको मत आफ्नो पक्षमा पार्ने प्रयासमा यो दल देखिन्छ। उम्मेदवार राना सामाजिक संघ संस्था, चिनजानका व्यक्ति, रास्वपाको क्षेत्रीय समिति मार्फत चुनावी भेटभाट र गतिविधि गरिरहेकी छिन्।
रास्वपा क्षेत्रीय सभापति गोपाल कटुवालले अहिले चुनावी गतिविधि गर्नका लागि रणनीति बनाउने काम गरिरहेको बताए। उनका अनुसार, समाजसेवाबाट आएकोले रानालाई महिलाहरूले असल उम्मेदवारको रुपमा लिएका छन्।
त्रिपक्षीय महिला प्रतिस्पर्धा
प्रतिस्पर्धा यतिमा मात्र सीमित छैन। नेपाली कांग्रेसले अनुभवी नेतृ सरिता प्रसाईंलाई मैदानमा उतारेको छ। प्रसाईंको उपस्थितीले यो क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
विघटित प्रतिनिधि सभामा उनी समानुपातिकबाट सांसद बनेकी थिइन्। नेविसंघबाट राजनीति सुरु गरेकी र सदनमा प्रखर पहिचान बनाएकी प्रसाईं यो पटक प्रतिस्पर्धामा छिन्। अघिल्लो पटक गठबन्धनका कारण उम्मेदवारविहीन बनेको यो क्षेत्रमा कांग्रेसको शाख फर्काउने दाउमा उनको उम्मेदवारीलाई हेरिएको छ।
२०७९ सालको निर्वाचनमा आफ्नै उम्मेदवार नभएको कारण नेपाली काग्रेसले संघमा मात्रै हैन प्रदेशमा समेत हार ब्यहोरेको टिप्पणी काग्रेसीहरू गर्छन्। कांग्रेस झापा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैलानीले कांग्रेसीहरूले आफ्नो मताधिकारको प्रयोग गर्न पाएकोले पार्टीभित्र कुनै समस्या नभएको दाबी गरे।
उनले भने, ‘अनुभवी र निखारिएको उम्मेदवार नेपाली कांग्रेसले पाएको छ, सुधारिएको कांग्रेसले केही गर्छ भन्ने मतदाताले बुझ्नु भएको छ। हामी त्यही अभियानमा लगेका छौँ।’
रोचक त के छ भने, प्रसाईंको प्रतिस्पर्धामा उनकै मामा नाता पर्ने चक्रप्रसाद बास्तोलालाई २०६४ मा पराजित गर्ने माओवादी नेतृ धर्मशीला चापागाईंसँग हुँदैछ। धर्मशीला पनि यसपटक नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार घिमिरेसँग यी ३ शक्तिशाली महिला प्रतिस्पर्धी हुन्।
चुनावी मैदानको अर्को रोचक पात्र हुन्, स्वागत नेपाल। अघिल्लो निर्वाचनमा स्वतन्त्र रूपमा क्रस खुकुरी चुनाव चिह्न लिएर एमालेका उम्मेदवार घिमिरेलाई कडा टक्कर दिएका नेपाल यसपटक राप्रपाबाट उम्मेदवार बनेका छन्। विगतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कडा आलोचकका रूपमा चिनिएका नेपाल अहिले तिनै लिङ्देनको हातबाट चुनावी टिकट लिएर मैदानमा उत्रिएका हुन्।
२०७९ सालको निर्वाचनमा २६ हजारभन्दा बढी मत ल्याएका नेपालको राप्रपा प्रवेशलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ। पहिला स्वतन्त्र भएकै कारण राम्रो मत ल्याएको भएपनि यो निर्वाचनमा राप्रपाबाट उम्मेदवार भएकै कारण उनले पहिलाको जस्तो मत नपाउने विश्लेषण कतिपय स्थानीय मतदाताहरू नै गर्छन्। यसअघि उनले पाएको मत आफ्ना उम्मेदवार नभएको नेपाली कांग्रेसबाट गएको टिप्पणी पनि हुने गरेको छ।
अंकगणितमा दलहरू
१ लाख ४७ हजार ५२२ मतदाता रहेको यो क्षेत्रमा थपिएका १३ हजारभन्दा बढी नयाँ मतदाताको मनोविज्ञान नै यसपटकको हारजितको मुख्य कडी बन्ने देखिन्छ। यस निर्वाचन क्षेत्रमा २०७९ को समानुपातिक मतलाई हेर्दा नेकपा एमालेको २६ हजार ४९० मत पाउँदै पहिलो दल बनेको थियो।
त्यसपछि एमालेको भन्दा झण्डै ४ हजार कम मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको थियो। उसले समानुपातिकमा २२ हजार ५१७ मत पाएको थियो। यो क्षेत्रमा कांग्रेस तेस्रो नम्बरमा थियो। नेपाली कांग्रेसले १५ हजार ४९८ र राप्रपाले ७ हजार ८८० मत समानुपातिकमा प्राप्त गरेको थियो।
प्रत्यक्षतर्फ २०७९ सालको निर्वाचनमा घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार ४५५ मत प्राप्त गरेका थिए।
त्यस्तै कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९३० मत पाउँदा एक्लै प्रतिस्पर्धामा उत्रिएको राप्रपाका रुद्रप्रसाद गिरीले ८ हजार ७८१ मत पाएका थिए। यो प्रत्यक्ष निर्वाचनको तथ्यांकलाई केलाउँदा कांग्रेसको धेरै मत स्वतन्त्र उम्मेदवारलाई गएको भनेर विश्लेषण गरिन्छ।
यी तथ्यांकले के देखाउँछ भने, अघिल्लो पटक गठबन्धनका कारण उम्मेदवारविहीन बनेको कांग्रेस यसपटक एक्लै मैदानमा आउँदा मत विभाजनको असर सबै दललाई पर्नेछ। विशेष गरी बिर्तामोड र अर्जुनधारा जस्ता सहरी क्षेत्रमा रास्वपाको सक्रियताले ठूला दलको टाउको दुखाइ बढाएको छ।
झापा २ मा अघिल्लो निर्वाचनमा १८ जना उम्मेद्वार चुनावी प्रतिस्र्धामा थिए। यस पटक पनि संयोग नै मान्नुपर्छ १८ जना उम्मेद्वार नै चुनावी दौडमा छन्। जसमा तीन जना स्वतन्त्र उम्मेद्वार पनि छन्।
जिल्ला निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको अन्तिम नामावलीमा अकल बहादुर तामाङ्ग, अमृता लावती, अर्जुन कुमार पाण्डे, इन्दिरा राना मगर, केशव कुमार भण्डारी, चन्द्र कुमारी गारु, चुडा कर्ण बेघा, तिल बहादुर राई, देवराज घिमिरे, धर्मशीला चापागाँई, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामी मगर, युवराज संग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईं चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्।
Shares

प्रतिक्रिया