कोसी प्रदेशको तेह्रथुम, झापा ३ र ५, मोरङको क्षेत्र नम्बर ४, ५ र ६ बाहेक अन्य निर्वाचन क्षेत्रमा मतगणना जारी छ। यी छ क्षेत्रमा मत परिणाम सार्वजनिक भइसक्दा अन्य २२ क्षेत्रमा भने मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ।
ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेबे १३ हजार ८३ मतका साथ अग्रस्थानमा रहँदा नेपाली कांग्रेसले ११ हजार ८८ मतका साथ उनलाई पछ्याइरहेको छ।
पाँचथरमा भने नेपाली कांग्रेसका नरेन्द्र कुमार केरुङ ११ हजार ६२ मतका साथ अगाडि छन् भने श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ९ हजार ७६६ मतका साथ दोस्रो स्थानमा छन्।
इलाम क्षेत्र नम्बर १ मा एमालेका काजीमान कागते ३ हजार ९६९ मतका साथ अगाडि छन् भने क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङले १५ हजार ६२९ मतका साथ आफ्नो अग्रता कायम राखेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले ११ हजार ९७५ मतका साथ पछ्याउँदैछन्।
झापाका क्षेत्र नम्बर १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तर बनाएको छ। क्षेत्र नम्बर १ मा निशा डाँगीले ४१ हजार ४५१ मत, क्षेत्र नम्बर २ मा इन्दिरा राना मगरले ४४ हजार १५५ मत र क्षेत्र नम्बर ४ मा शम्भु ढकालले २५ हजार १० मतका साथ अग्रता लिइरहेका छन्। झापाका यी तीनवटै क्षेत्रमा रास्वपाको जित सुनिश्चित जस्तै देखिएको छ भने क्षेत्र नम्बर ३ र ५ मा यसअघि नै नतिजा आइसकेको छ।
सुनसरीका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता छ। क्षेत्र नम्बर १ मा भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई १५ हजार ६३९ मतका साथ अगाडि छन्। क्षेत्र नम्बर २ मा लालविक्रम थापा, क्षेत्र नम्बर ३ मा अशोक चौधरी र क्षेत्र नम्बर ४ मा दिपक कुमार शाहले अग्रता लिइरहेका छन्।
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै पारसमणि गेलाल र सूर्यबहादुर तामाङ अगाडि देखिएका छन्।
मोरङका क्षेत्र नम्बर १, २ र ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै आफ्नो अग्रता कायम राखेको छ।
पहाडी जिल्लाहरूमा श्रम संस्कृति पार्टीले आफ्नो प्रभाव बलियो बनाएको छ। खोटाङमा आर्यन राई ८ हजार १९१ मतका साथ र भोजपुरमा ध्रुवराज राई ७ हजार ९६८ मतका साथ अग्रस्थानमा छन्।
भोजपुरमा एमालेका शेरधन राई ६ हजार ८२९ मतका साथ दोस्रो स्थानमा छन्।
धनकुटामा भने एमालेका राजेन्द्रकुमार राई १५ हजार ८९५ मतका साथ अगाडि छन्।
संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले ६०० मतका साथ सुरुवाती अग्रता लिएका छन्।
हिमाली जिल्ला सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की ३ हजार ९८६ मतका साथ अगाडि छन् भने ओखलढुङ्गामा कांग्रेसकै कुमार लुइटेलले ९ हजार ७६ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेललाई पछि पारिरहेका छन्।
Shares

प्रतिक्रिया