संखुवासभाको खाँदबारीमा मृत फेला परेका एक पुरुषको पहिचान खुलेपछि स्थानीय प्रशासन र प्रहरीको सक्रियतामा अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, गत चैत २२ गते खाँदबारी नगरपालिका वडा नम्बर १ स्थित टुँडिखेलको सार्वजनिक शौचालय अगाडि काठको बेन्चमा मृत अवस्थामा फेला परेका ती व्यक्ति बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय बिरु बादी रहेको पुष्टि भएको हो।
प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखेको थियो। अनुसन्धानका क्रममा मृतक बादी विगत तीन वर्षअघि कामको सिलसिलामा संखुवासभा आएको र त्यसयता घर नफर्किएको जानकारी प्राप्त भएको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय राजापुर र स्थानीय व्यक्तिहरूसँगको निरन्तर समन्वयपछि मृतकका दाजु जंगबहादुर बादीलाई सम्पर्कमा ल्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
मृतकको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण शवलाई बर्दियासम्म लैजान असमर्थ देखिएपछि परिवारकै सहमतिमा खाँदबारीमै अन्त्येष्टि गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
खाँदबारी नगरपालिका कार्यालय, वडा नम्बर १ र ९ का वडा कार्यालयहरू तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको आर्थिक सहयोगमा खाँदबारी–९ स्थित अरुण नदीको मनकामना घाटमा सामाजिक परम्परा अनुसार शवको अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टि कार्य समापन भएपछि मृतकका दाजु जंगबहादुर बादी र सहयोगी रबिन चौधरीलाई प्रहरी कर्मचारीहरूबाट संकलित आर्थिक सहयोग उपलब्ध गराएर आजै बर्दिया पठाइएको छ। यस मानवीय कार्यमा सहयोग पुर्याउने नगरपालिका र वडा कार्यालयहरूलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले धन्यवाद समेत ज्ञापन गरेको छ।

प्रतिक्रिया