सरकारी सेवामा ‘प्रौढ सिकाइ’ (एडल्ट लर्निङ) को आफ्नै गरिमा र पद्धति हुन्छ। तर, ताप्लेजुङमा भने एउटा सरकारी कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले आफूलाई स्कुले विद्यार्थी जस्तो व्यवहार गरिएको भन्दै विद्रोह नै गर्नुपर्यो।
घटना गत माघ २२ गतेको हो। विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम चलिरहेको थियो। कार्यक्रमको आयोजक जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङ थियो। कार्यक्रममा जिल्लाभरका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू सहभागी थिए।
तर, कार्यक्रमको बिचमै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुमन तिवारीको व्यवहारलाई लिएर विवाद चर्कियो।
के थियो विवाद?
सबै कार्यक्रममा सहभागी हुँदै आएकोमा कर्मचारीहरूलाई निम्न स्तरको गाली गलौचको व्यवहार स्वास्थ्य कार्यालयका प्रमुखले गरेका थिए। फुङलिङ नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख (अधिकृत सातौँ) प्रतिमा खोयाहाङका अनुसार विवादको मुख्य कारण जिल्ला स्वास्थ्य प्रमुखको ‘अमर्यादित र अपरिपक्व’ व्यवहार थियो।
‘अभिमुखीकरणमा हामी स्थानीय तहका जिम्मेवार अधिकारीहरू सहभागी थियौँ, तर त्यहाँ हामीलाई कडा शिक्षकले विद्यार्थीलाई गर्ने जस्तो व्यवहार गरियो,’ खोयाहाङ भन्छिन्, ‘सामान्य शौचालय जान समेत समस्या हुने गरी नियन्त्रण गर्न खोजिएपछि हामीले अपमानित महसुस गर्यौँ।’
यो विवाद यतिमा मात्र सीमित रहेन। स्थानीय तहका स्वास्थ्य प्रमुखहरूले सामूहिक रूपमा हस्ताक्षर गर्दै तिवारीको व्यवहार विरुद्ध ध्यानाकर्षण पत्र नै जारी गरे। उक्त पत्र मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो।
ताप्लेजुङ जिल्लाका नौ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरूले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुखको कार्यशैली र व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी नै दिए। माघ २२ को घटनालाई लिएर उनीहरूले फागुन १५ गते संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले स्वास्थ्य कार्यालयले आयोजना गर्ने आगामी सबै कार्यक्रमहरू बहिष्कार गर्ने घोषणा गरे।
जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख र अन्य कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो। सोही अवसरमा निमित्त कार्यालय प्रमुखले उपस्थित कर्मचारीहरूमाथि सार्वजनिक रूपमै अपमानजनक, अमर्यादित र पेसागत मर्यादा विपरीतको व्यवहार गरेको हस्ताक्षरकर्ता १२ जना कर्मचारीहरूको आरोप छ।
उनीहरूले लेखेको पत्रमा भनिएको थियो, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट भएको यस्तो आचरणले नेपालको संविधान २०७२ को धारा ५६ मा व्यवस्था गरिएको सङ्घ, प्रदेश र स्थानीय तह बीचको सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई समेत ठाडो चुनौती दिएको छ।’
विगतमा पनि पटक–पटक यस्ता दुर्व्यवहार हुने गरेको सङ्केत गर्दै स्वास्थ्य प्रमुखहरूले यस पटक निमित्त प्रमुखले आफ्ना कमजोरीप्रति आत्मालोचना र समीक्षा गर्नुपर्ने माग राखेका छन्। तर अझै उनको कार्यशैली सुधार हुन नसकेको स्थानीय तहका जनस्वास्थ्य शाखा प्रमुखहरूको भनाई छ।
जनस्वास्थ्य अधिकृत खोयाहाङको बुझाइमा समस्या व्यक्तिको मात्र नभई ‘क्षमता’ र ‘पद’ बीचको सन्तुलन नमिल्नु पनि हो।
‘जिल्ला स्वास्थ्य कार्यालय जस्तो प्राविधिक निकायको नेतृत्वमा जो हुनुपर्ने हो, त्यहाँ सही व्यक्ति नहुँदा यस्ता समस्या आउँछन्,’ उनी भन्छिन्, ‘बढुवा भएर आएका व्यक्तिले प्रशासनिक नेतृत्व त सम्हाललान्, तर प्राविधिक रूपमा पालिकाका शाखाहरूलाई दिनुपर्ने ‘टेक्निकल सपोर्ट’ मा प्रश्न उठ्ने गरेको छ।’
समन्वयकारी भूमिकामा हुनु पर्ने तिवारीको कार्यशैली सकैलाई पनि मन परेको छैन। हाल ताप्लेजुङमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा पोषण लेखाजोखा र कालाजार सम्बन्धी केस सर्भिलेन्सका कार्यक्रमहरू भइरहेको छ। फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक दिनेश भट्टराईले कार्यालय प्रमुखले गर्ने व्यवहार सुधार गर्नु पर्छ भन्ने सबै पालिकाका स्वास्थ्य प्रमुखहरूको मागको आधारमा केही समय कार्यक्रम बहिस्कार नै गरेको सुनाए।
विशेष गरी फुङलिङ नगरपालिकाका कर्मचारी मौसम खवास र श्रीजंगाका स्वास्थ्यकर्मीहरूमाथि जिल्ला प्रमुखले गरेको रुखो व्यवहारले कर्मचारीहरूलाई मर्माहत भएका थिए। क्षमा याचना सहितको छलफल गर्नु पर्ने माग अहिले पनि उस्तै नै छ। अहिले जिल्ला स्वास्थ्य प्रमुख तिवारीले माफी माग्नु पर्ने मागबाट कर्मचारीहरू अझै पछि हटेका छैनन्।
आठराई त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर प्रधानका अनुसार, अहिले अत्यावश्यक कामलाई अप्ठेरो नपार्ने गरी काम गरिएको भए पनि अन्य कामलाई पालिकाका स्वास्थ्य शाखाहरूले खासै महत्त्व दिएका छैनन्। एक हप्ता अघि मात्रै पनि जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको पोषण लेखाजोखा कार्यक्रममा कार्यालय प्रमुख नभएपछि पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरू सहभागी भएका थिए।
ताप्लेजुङका पालिकाका स्वास्थ्य शाखाहरूले असहयोग गर्ने अवस्था आउँदा समेत तिवारीलाई स्वास्थ्य मन्त्रालयले फिर्ता गर्न सकेको छैन। तिवारी स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुका सहपाठी भएको भन्दै उनैले संरक्षण गरेर त्यहाँ निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन्। मन्त्रालयलाई काम गर्न गाह्रो हुन थालेपछि समस्या समाधानको प्रयास भए पनि मन्त्रीले केही फरक नपर्ने भन्दै टार्ने गरेको मन्त्रालय स्रोत बताउँछ।
ताप्लेजुङका फुङलिङ नगरपालिका, सिरीजंघा, मेरिङदेन, पाथीभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, आठराई त्रिवेणी, सिदिङ्वा र मैवाखोला गाउँपालिकाका लगायतका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले अहिले पनि असन्तुष्टि जनाउँदै आएका छन्। यो समस्याको तत्काल समाधान नगर्ने हो भनेँ आगामी दिनमा ठुलो समस्या आउन सक्ने पालिका स्वास्थ्य शाखा प्रमुखहरूले चेतावनी दिएका छन्।
तिवारी सातौँ तहका कर्मचारी हुन्, उनले काउन्सिलमा समेत दर्ता नभएका व्यक्ति भएको उनीहरूले स्वीकार गरेका छैनन्। तिवारीले कार्यक्रम हल भित्र हिँड्न नपाएपछि स्वास्थ्य शाखाका कर्मचारीहरू आक्रोशित भएको बताए।
Shares

प्रतिक्रिया