कोसी प्रदेश सरकारले विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएका विभिन्न नियमावली र कार्यविधिहरूलाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले ‘विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३’ लाई स्वीकृत गरेको छ, जसले प्रदेशमा हुने प्राकृतिक प्रकोपका समयमा राहत कार्यलाई थप छिटो र प्रभावकारी बनाउने बताए।
त्यसैगरी बैठकले ‘प्रदेश बीउ विजन नियमावली २०८३' र 'प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३’ लाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। प्रशासनिक व्यवस्थापन तर्फ सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’का क्रममा आगजनी तथा तोडफोडबाट क्षति भएका भौतिक संरचना, सवारी साधन र मेसिनरी औजारहरू लिलामी बिक्री गर्ने प्रक्रियालाई बैठकले स्वीकृत गरेको छ।
खेलकुद क्षेत्रको विकासका लागि ‘प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३’ लाई अघि बढाउने निर्णय भएको छ भने बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि एक सिफारिस समिति गठन गरिएको छ।
स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले विशेषज्ञ चिकित्सकहरूका लागि ‘प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८२’ लाई स्वीकृत गरेको पराजुलीले जानकारी दिए।

प्रतिक्रिया