शुक्रबार राति वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिकामा आएको बाढी-पहिरोले धेरै ठाउँमा क्षति भएको छ।
दोभाने र तमोर खोलामा आएको बाढी तथा विभिन्न स्थानमा खसेका पहिरोका कारण जलविद्युत् आयोजना, निर्माणाधीन पुल, सडक र निजी आवास बगेका हुन्।
बाढीले पाँचथर र तेह्रथुम जिल्ला जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ।
यस्तै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजना (हाइड्रोपावर) सहित दर्जनौँ भौतिक संरचनामा बाढीले गम्भीर क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पहिरोका कारण याङवरक गाउँपालिका वडा नम्बर ३ र ७ को सिमानामा पर्ने लाम्वाखोला ढाँड एकरातेका महमलाल खबास र कविन्द्र खबासको घर बगाएको छ।
यस्तै बाढीले याङवरकका १, २ र ३ नम्बर वडामा रहेका अन्य पक्की तथा झोलुङ्गे पुलमा समेत क्षति भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गतको च्याङथापु–थर्पु सडकखण्डका कल्भर्टमा पनि क्षति भएकाे छ।
प्रभावित क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ।
सञ्चार सम्पर्क विच्छेद भएका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
भिडिओ
Shares

प्रतिक्रिया