नेकपा एमालेको जारी सचिवालय बैठकमा आज (शनिबार) महासचिव शंकर पोखरेलले बोलेपछि अध्यक्ष केपी शर्मा ओली राजीनामा दिन बाध्य हुने/नहुने, निष्कर्ष निस्कने दाबी नेताहरूले गरेका छन्।
ओलीको निवास, भक्तपुरको गुण्डुमा शुक्रबारदेखि जारी सचिवालय बैठकको दोस्रो दिन आज महासचिव पोखरेलसहित उपमहासचिवहरू र सचिवहरूले धारणा राख्दै छन्।
‘महासचिवले आज बोल्ने कुरापछि एमालेको अबको राजनीतिक यात्रा तय हुन्छ’, एक पदाधिकारीले नेपालखबरसँग भने, ‘यदि महासचिव पनि ओलीले तत्काल राजीनामा दिएर पार्टी पुनर्गठन गर्दै रूपान्तरणको पक्षमा उभिनुभयो भने अध्यक्ष ओलीलाई पद छाड्न बाध्य पार्छ।’
पहिलो दिन शुक्रबार ६ घण्टा बसेको एमाले सचिवालय बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले ओलीले तत्काल अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए।
उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
उपाध्यक्ष रामबहादुर थापा मात्र ओलीको निरन्तरताका पक्षमा उभिएका थिए।
यो पनि पढ्नुहोस् : एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, बादल मात्रै ओलीको पक्ष
आफ्नाविरुद्ध उभिएका उपाध्यक्षहरूलाई ओलीले अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि पृथ्वीसुब्बा गुरुङसँग चर्काचर्कीसमेत परेको नेताहरूले बताएका छन्।
त्यही भएर आज महासचिव पोखरेलले बोल्ने कुराले धेरै विषय प्रस्ट हुने नेताहरूको भनाइ छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ओलीको लज्जास्पद हार भएपछि उनले अध्यक्ष पद छाड्नपर्ने माग एमालेमा भइरहेको छ। महासचिव पोखरेलले पनि ओलीले राजीनामा दिनुपर्ने संकेत गरिरहेका छन्।
यतिसम्म कि ओलीलाई हटाउन उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच मोर्चाबन्दीसमेत भएको छ।
शुक्रबार पौडेलले अब पार्टी ओलीबाट अघि बढ्न नसक्ने भन्दै उनलाई पद छाड्न आग्रह गरे।
आज महासचिव पोखरेलले त्यही आशयले बोलेका खण्डमा लगातार तेस्रोपटक एमालेको शक्तिशाली अध्यक्ष बनेका ओलीले ५ महिनामै पद गुमाउनुपर्ने हुन सक्छ।
Shares

प्रतिक्रिया