तीन दिनअघि काठमाडौँबाट प्रस्थान गरेका ललितपुरको महालक्ष्मी नगरपालिका-९, लुभुवासी दीपेन्द्र केसी आज (मंगलबार) बिहान उदयपुरको कटारीमा दुर्घटनाग्रस्त टाटासुमोभित्र मृत भेटिएका छन्।
प्रहरीका अनुसार ३४ वर्षका केसी यही मंसिर १३ गते शनिबार परिवारलाई जानकारी गराएर ना १ ज ५८१२ नम्बरको सुमोमा काठमाडौँबाट उदयपुरको ताप्ली गाउँपालिका-५, रुपाटारका लागि प्रस्थान गरेका थिए।
तर उनी आज बिहान ३ बजेतिर सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं. १४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट ४ सय मिटर तल दुर्घटनाग्रस्त सुमोभित्र मृत अवस्थामा फेला परेको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन चापागाईँले नेपालखबरलाई जानकारी दिए।
शव सनाखत गर्ने क्रममा केसी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुका बासिन्दा भएको पुष्टि भएको उनले बताए।
परिवारसँग उनको अन्तिमपटक गत शनिबार राति ८:४४ बजे फोन सम्पर्क भएको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया