ad ad

कोशी


रूख काट्न नपाउँदा पथरी-जाँते-ज्यामिरे सडक कालोपत्रे गर्ने योजना अलपत्र

रूख काट्न नपाउँदा पथरी-जाँते-ज्यामिरे सडक कालोपत्रे गर्ने योजना अलपत्र

ध्रुव भट्टराई
चैत २, २०७९ बिहिबार १४:३५, विराटनगर

रूख काट्ने अनुमति नपाउँदा मोरङको पथरी–जाँते–ज्यामिरे सडक कालोपत्रे गर्ने काम रोकिएको छ। 

प्रदेश सरकारको लगानीमा निर्माणाधीन उक्त सडक क्षेत्रमा पर्ने रुख काट्न वन कार्यालयले अनुमति नदिँदा कालोपत्रे गर्न नपाइएको हो। 

लामो समयदेखि सडक धुलाम्मे रहँदा दैनिक आवतजावत गर्ने उत्तरी मोरङका नागरिकलाई सकस भइरहेको छ। 

२०७९ असोजभित्र सक्नेगरी १९ दशमलव ६ किलोमिटर लामो सो सडक तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मंसिर २३ गते शिलान्यास गरेका थिए। 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक ३ वर्ष बित्दा ४० प्रतिशत मात्र काम सकिएको छ।

पथरीदेखि जाँते चोकसम्म ८ किमि जंगल क्षेत्रमा बेस लगाउने काम सकिए पनि रुख काट्ने प्रक्रिया अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय (मोरङ) का प्रमुख सुशील श्रेष्ठले बताए। उनका अनुसार सडकका लागि पथरीदेखि जाँते चोकसम्म २ सय ४० वटा रुख काट्नपर्ने छ। तर वन कार्यालयले अनुमति नदिँदा सडक कालोपत्रे गर्ने योजना दुई वर्षदेखि अलपत्र परेको छ। 

‘रुख कटानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी फाइल वन मन्त्रालय गएको एक वर्ष भएको छ’, श्रेष्ठले भने, ‘सायद वनमन्त्रीज्यू नियुक्ति नभएको अहिलेको अवस्थाले फाइल सदर हुन नसकेको हुनसक्छ। फाइल स्वीकृत भएसँगै रुख कटानको काम सुरु हुनेछ।’

प्रदेश सरकारले २०७६ सालमा प्रदेश १ भरि ६२ वटा सडकलाई बहुवर्षीय योजनाअन्तर्गत गौरवका आयोजनामा समावेश गरेको थियो। सोही आयोजनाअन्तर्गत पथरी–जाँते–ज्यामिरे सडक निर्माण पनि अघि बढाइएको थियो।

पूर्वाधार विकास कार्यालय (मोरङ) का अनुसार वन क्षेत्रमा रुख कटान गरी सडक खाली गराउने काम रोकिए पनि जाँते चोकदेखि साविकको गाविस कार्यालयसम्म नाला निर्माण भइरहेको छ। बजार क्षेत्रमा सडक फराकिलो बनाइएको छ। बजार क्षेत्रमा सम्पूर्ण पूर्वाधारका काम सकिएसँगै ७ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ। 

प्रदेश सरकारको कूल ७२ करोड ५० लाख रुपैयाँ लागतमा पथरीदेखि जाँतेसम्म (वन क्षेत्र) ७ मिटर, जाँतेदेखि फेदीसम्म ११ मिटर र पहाडी भेगमा ५ दशमलव ५ मिटर चौडाइमा सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको थियो। 

यो सडक निर्माण पूरा भए विशेषगरी लेटाङ नगरपालिकाका साथै धनकुटाको ६ नम्बर बुधबारे क्षेत्रका नागरिकलाई लाभ हुनेछ। 

सडक निर्माणसँगै उत्तरी मोरङका किसानले उत्पादन गरेका फलफूल, चिया, अलैँची, अम्रिसो, तेजपातलगायत कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले बताइन्। 

उपमेयर निरौलाले चाँडोभन्दा चाँडो रुख काट्ने वातावरण मिलाएर सडक निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताइन्। 

यो सडक निर्माण पूरा भए भारतको सिक्टीबाट पथरी, जाँते हुँदै प्रदेश १ का प्रमुख पर्यटकीय क्षेत्रसम्म पुग्न सहज हुनेछ।

यति मात्र हैन उत्तरी मोरङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्वपश्चिम राजमार्गसँग जोडेर डाइनियाँ हुँदै भारतसँग व्यापार गर्न पनि सजिलो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .