सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चुनावलक्षित कार्यक्रम तीव्र बनाएको छ।
कोसी प्रदेशका विभिन्न जिल्लामा चुनावी सभा गरेको उक्त पार्टी अब पश्चिमतर्फ प्रवेश गर्दै छ।
कोसी प्रदेशको मोरङस्थित लेटाङबाट अभियान सुरु गरेको श्रम संस्कृति पार्टीले पूर्वमा इलाम, ताप्लेजुङ, पाँचथर, झापा र उदयपुरलगायत जिल्लामा सभा सम्पन्न गरिसकेको छ।
यस क्रममा पार्टीका अध्यक्ष साम्पाङले उल्लेख्य संख्यामा समर्थकको साथ पाइरहेका छन्।
कार्यक्रमहरूमा हर्क साम्पाङका अभिव्यक्ति र उनको सरल शैलीले नागरिकको ध्यान तानेको देखिन्छ।
उनले भाषण गर्दा सहभागीहरूले हौसिँदै हुटिङ गर्ने गरेका छन्। अनि उनी श्रमदानबाट देश बनाउने कुरा गर्दै उपस्थितहरूलाई माटोको कसम खुवाउँछन्।
अध्यक्ष साम्पाङले चुनावी अभियानका क्रममा आफ्नो दल कसैसँग गठबन्धन नगर्ने बताइसकेका छन्।
सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले चुनावी गठबन्धनका लागि कुलमान घिसिङले प्रस्ताव गरे पनि स्वीकार नगर्ने दाबी गरे।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएलगत्तै अध्यक्ष साम्पाङ संगठन विस्तारका लागि देश दौडाहमा निस्किएका हुन्।
साम्पाङ नेतृत्वको पार्टीले पूर्वका आधा दर्जन जिल्लामा ठूलठूला सभा गरिसकेको छ।
अब पश्चिम लागेको साम्पाङको पार्टीले मंसिर २० गते मकवानपुर, २१ गते चितवन, २२ गते काठमाडौँ, २३ गते काभ्रे, २७ गते खोटाङ र पुस ५ गते बुटवलमा कार्यक्रम गर्ने तालिका बनाएको छ।
श्रम संस्कृति पार्टी मेचीदेखि महाकालीसम्म संगठन विस्तार गर्ने अभियानमा रहेको अध्यक्ष साम्पाङको भनाइ छ।
Shares

प्रतिक्रिया