सुनसरी क्षेत्र नम्बर २ मा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३, रामधुनी नगरपालिकाका वडा १, २, ३, ५, ८ र ९, इनरुवा नगरपालिकाका वडा नम्बर १, २, ५, ६, ९ र १० तथा इटहरी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ५ र १६ र २० सम्म पर्छन्। यो क्षेत्र कुनै पनि दलको प्रभाव क्षेत्र होइन।
यहाँका नागरिक जतासुकै पनि भोट हाल्न सक्ने परिवर्तनशील खालका भएकाले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कसरी मतदान गर्लान् भन्ने चासो बढेको छ।
यस क्षेत्रबाट २०६४ सालमा नेकपा एमालेका धर्मराज निरौला विजयी भएका थिए।
त्यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा पनि एमालेकै रेवतीरमण भण्डारी (हाल प्रदेश सभा सदस्य) निर्वाचित भएका थिए भने २०७४ मा भएको प्रतिनिधि सभा चुनाव नेपाली कांग्रेसका सीताराम महतोले जितेका थिए।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने फेरि एमालेकै उम्मेदवार भीम आचार्य विजयी भएका थिए।
विगतका चुनाव हेर्दा धेरैपटक एमाले विजयी भएको देखिन्छ।
अघिल्लो निर्वाचनमा एमालेका आचार्यले ३२ हजार २४ मत प्राप्त गर्दा कांग्रेसका सीताराम मेहताले २६ हजार ६८ मत ल्याएका थिए।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गर्दा राप्रपाका दिनेशकुमार बस्नेतले ४ हजार २६९ मत ल्याएका थिए।
यसरी हेर्दा यो निर्वाचनमा पहिलो र दोस्रो हुने उम्मेदवार अहिले प्रातिस्पर्धामा छैनन्। दुवै पार्टीले नयाँ अनुहार अघि सारेका छन्।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एमालेले सुजन लामालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले राजीव कोइरालालाई उठाएको छ।
रास्वपाले भने यसपटक पनि अघिल्लो निर्वाचनकै उम्मेदवार लालविक्रम थापालाई प्रतिस्पर्धामा उतारेको छ।
यसपालि उल्लिखित तीन उम्मेदवारबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कांग्रेस उम्मेदवारका एजेन्डा
कांग्रेसबाट उम्मेदवार राजीव कोइरालाले यसपालिको निर्वाचनलाई युवा पुस्तामा देखिएको असन्तोष र विद्रोहलाई सम्बोधन गर्ने मुख्य अवसर मानेका छन्।
वर्तमान निर्वाचन विशेष परिस्थितिमा भइरहेको उल्लेख गर्दै उनले आउने संसद्ले भदौ २३-२४ को जेनजी आन्दोलनको माग सम्बोधन गर्न सक्नुपर्ने उनी बताउँछन्। अन्यथा यो निर्वाचनको औचित्य नरहने उनको भनाइ छ।
उनले राजनीतिक विषयसँगै विकास निर्माण, शिक्षा र स्वास्थ्यलाई पनि आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।
घरदैलोका क्रममा कोइरालाले स्थानीय पेस गरेका समस्या आफूले मसिनो गरी टिपोट गरेको बताए।
उनले नेपालखबरलाई सुनाए, ‘इटहरी र रामधुनीलगायतका क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या, अधुरा रहेका कालोपत्रे सडकहरू र विद्यालयहरूमा शिक्षक दरबन्दीको अभावजस्ता विषयमा मतदाताले गुनासो गरेका छन्।’
उनका अनुसार, दक्षिण भेगका बासिन्दाले नर्सिङ र प्राविधिक शिक्षाको माग गरेका छन् भने देवानगन्ज क्षेत्रका किसानले कृषि उपजको व्यवस्थापनका लागि थोक बजार र मलखादको दीर्घकालीन समस्या समाधान गरिदिन आग्रह गरेका छन्।
किसानले मल ल्याउँदा प्रहरीबाट पाउने दुःख र झन्झटलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने विषय आएको कांग्रेस उम्मेदवार कोइरालाले बताए।
चुनाव जित्ने आधारका विषयमा कुरा गर्दै उनले २०३६ सालदेखि कांग्रेसमा आबद्ध भई लामो समय विराटनगर र आसपासका क्षेत्रमा गरेको राजनीतिक योगदानलाई मुख्य कडीका रूपमा उल्लेख गरे।
गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको उल्लेख गर्दै उनले यसबाट पनि आफू उत्साहित रहेको बताए।
कोइरालाको व्यक्तिगत छवि र जनतासँगको प्रत्यक्ष घुलमिललाई पनि उनको सबल पक्षका रूपमा हेरिएको छ।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कोइराला ५ वर्षसम्म कोसी प्रदेशमा कांग्रेस संसदीय दलको नेता बनेका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी एमाले उम्मेदवार रामप्रसाद महतोसँग हारेका थिए।
एमाले उम्मेदवारका एजेन्डा
एमालेका उम्मेदवार सुजन लामा पार्टीको युवा संघका कोसी प्रदेश कमिटी अध्यक्ष हुन् भने पार्टीका सुनसरी जिल्ला कमिटी सदस्य हुन्।
उनले इटहरी क्षेत्रको मुख्य समस्या डुबान नियन्त्रणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
मतदाताहरूले बर्सेनि हुने डुबानबारे गुनासो गरेपछि उनले यसको दीर्घकालीन समाधानका लागि काम गर्ने आश्वासन दिएका छन्।
राजनीतिसँगै व्यवसायमा समेत सक्रिय रहेका लामाले युवा बेरोजगारी र विदेश पलायन रोक्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।
उनले अहिले पनि ‘इटहरी ह्याचरी’ र ’हिमगंगा’जस्ता उद्योगमार्फत प्रत्यक्ष रूपमा ७० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको सुनाए।
युवालाई स्वदेशमै रोक्न यस्तै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने कुरामा लामाले जोड दिएका छन्।
साथै उनले समाजमा बढ्दो लागुऔषध दुर्व्यसनको नियन्त्रण र नीतिगत तहमा रहेका कमजोरी सुधार गर्दै बनेका नियम प्रभावकारी रूपमा कार्यान्वयन गराउने पनि आफ्नो अर्को मुख्य उद्देश्य रहेको बताएका छन्।
आफ्नो जितको आधार बलियो संगठन र युवाहरूको चाहना भएको दाबी उनले गरे।
‘२० वर्षदेखि सक्रिय राजनीतिमा रहेको छु’, उनले नेपालखबरसँग भने, ‘म एक युवा उद्यमीसमेत भएकाले यसपटक मतदाताले नयाँ र काम गर्ने ऊर्जा भएको नेतृत्वलाई रोज्ने छन् भन्ने विश्वास छ।’
रास्वपा उम्मेदवारका एजेन्डा
यस क्षेत्रका रास्वपा उम्मेदवार लालविक्रम थापा पार्टीका कोसी प्रदेश महामन्त्री हुन्।
निर्वाचन क्षेत्रका ३० वटा ठुला वडामा पुग्ने लक्ष्य राखेर घरदैलो गरिरहेका उम्मेदवार थापाले चुनावी माहोल आफ्ना पक्षमा रहेको दाबी गर्छन्।
मतदातासँगको साक्षात्कारका क्रममा जनताले ठुला सपनाभन्दा पनि आधारभूत आवश्यकताका कुराहरू उठाउने गरेको बताए।
विशेषगरी बाटोघाटो, ढल निकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता विषयमा नागरिकको बढी चासो रहेको उनले सुनाए।
उनका अनुसार देवानगन्जजस्ता कृषिप्रधान क्षेत्रमा देखिएको मल, बीउ र सिँचाइको अभाव पुरा गर्न मतदाताले माग गरिरहेका छन्।
लामो समयदेखि पानी नचढेको नहरको व्यवस्थापन र जीर्ण अवस्थामा रहेको कुवाखोज सडकमा कालोपत्रे गर्ने योजनालाई पनि आफूले प्राथमिकतामा राखेको रास्वपा उम्मेदवार थापाले सुनाए।
आफ्नो जितको आधारमा बताउने क्रममा थापाले आफू एक युवा र ऊर्जावान् उम्मेदवार हुनाका साथै अघिल्लो निर्वाचनमा पनि प्राप्त गरेको मत (१९,३९१) उल्लेख गरे।
फरक पार्टीका स्थानीय जनप्रतिनिधिहरूसँग पनि समन्वयकारी भूमिका खेल्न सक्ने र इटहरी र रामधुनी क्षेत्रको डुबान समस्या समाधान गर्न आफू सक्षम रहेको दाबी पनि उनले गरे।
विगतको समानुपातिक अंकगणित
सुनसरी क्षेत्र नम्बर २ मा २०७९ सालको समानुपातिक मत परिणाम हेर्दा यसपटक यहाँ एमाले र कांग्रेससँगै नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार त्यस चुनावमा सबैभन्दा बढी एमालेले २७ हजार ५ सयभन्दा बढी मत प्राप्त गरेको थियो भने दोस्रोमा कांग्रेसले २१ हजार २ सयभन्दा बढी मत ल्याएको थियो।
यसपछि रास्वपाले १८ हजार ८ सय समानुपातिक मत प्राप्त गरेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ४ सयभन्दा बढी मत पाएको थियो।
यो समानुपातिक मत परिणामले सुनसरी क्षेत्र नम्बर २ मा परम्परागत दलप्रतिको विश्वास कायमै रहे पनि मतदाताहरू नयाँ विकल्पको खोजीमा पनि रहेको संकेत गर्छ।
विशेषगरी सहरी क्षेत्रमा घण्टी छापले पुराना दलको मताधारमा ठुलो धक्का दिएको विश्लेषण गरिन्छ।
अब हुने निर्वाचनमा यसअघिको मत परिणाम र अहिले भइरहेको हल्लाले यहाँ रास्वपा पनि प्रतिस्पर्धामा आउने देखिएको छ।
Shares

प्रतिक्रिया