नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कार घोषणा गरेको छ। सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा योगदान दिएका आठजना स्रष्टालाई पुरस्कार दिने निर्णय गरेको हो।
२०७८/०७९ का लागि दार्जिलिङका नरबहादुर दाहाललाई दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई दुई लाख राशिकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ। यी दुई पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिन्छ।
प्रतिष्ठानले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई एक लाख राशिको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, यसै गरी तराई–मधेशमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिला कुमारी चौधरीलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, दिइने भएको छ।
त्यस्तै भोजपुरका प्रा.डा. प्रेमकुमार खत्रीलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’, काठमाडौँका डा. नयनाथ पौडेललाई एक लाख राशिको ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। यी पुरस्कार प्रत्येक एक वर्षमा प्रदान गर्ने गरिन्छ।
प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु. चार लाख राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ।
पुरस्कारहरू भदौ अन्तिम साता काठमाडौँमा एक समारोह गरेर राष्ट्रपतिबाट प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले बताए।
प्रतिक्रिया