साहित्य


शेर्पा पुस्तकका लेखकद्वय बस्याल र अधिकारीले पाए तेन्जिङ-हिलारी पुरस्कार

शेर्पा पुस्तकका लेखकद्वय बस्याल र अधिकारीले पाए तेन्जिङ-हिलारी पुरस्कार

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ८:६, काठमाडौँ

सरकारले अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेको गैरआख्यान कृति ‘शेर्पा’का लेखकद्वय प्रदीप बस्याल र अंकितबाबु अधिकारीलाई तेन्जिङ हिलारी पुरस्कार प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गरेका हुन्। 

पहिलोपल्ट सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको नाममा स्थापित यस पुरस्कार विभिन्न तीन विधामा प्रदान गरिन्छ। यसमध्ये ‘खोज तथा अनुसन्धान’का लागि लेखकद्वय बस्याल र अधिकारीलाई पुरस्कृत गरिएको हो।

सोही पुरस्कार ‘खोज तथा उद्धार’का लागि संयुक्त रूपमै इटालीका हेलिकप्टर पाइलट क्याप्टेन माउरिजियो फोलिनी र लङ लाइन उद्धारक लाक्पा नुर्बु शेर्पालाई र संसारका १४ अग्ला हिमाल आरोहण गर्ने निमा रिन्जी शेर्पा ‘कीर्तिमानी आरोही’ विधामा प्रदान गरियो।

पर्वतारोहण क्षेत्रको सर्वोच्च सम्मान ‘अन्तर्राष्ट्रिय सगरमाथा’ पुरस्कार बिनाअक्सिजन १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गरिएको छ।  

७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवका दिन नेपाल सरकारले प्रदान गर्ने पर्वतारोहण क्षेत्रको सर्वोच्च सम्मान ‘अन्तर्राष्ट्रिय सगरमाथा’ पुरस्कार भने अतिरिक्त अक्सिजनबिना संसारका सबै १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गरिएको छ।

यस्तै, पेम्बा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पाले पाइन्, जसले सगरमाथाको १० पटक आरोहण गरेकी छन्।

कार्यक्रम संघीय सरकार र कोसी प्रदेश सरकारले संयुक्त रूपमा गरिएको थियो। 

स्वदेश र विदेशका कीर्तिमानी आरोही तथा लेखकलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सरकारी अधिकारी, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।

प्रदीप बस्याल र अंकितबाबु अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कार ग्रहण गर्दै

‘शेर्पा’ मा के छ?
नेपाली लेखकद्वय प्रदीप बस्याल र अंकित बाबु अधिकारीको यो पुस्तक सगरमाथालाई केन्द्रमा राखेर लेखिएको शेर्पाहरूको मौखिक इतिहास हो। तीन वर्षअघि यसलाई बेलायतको ह्याचेट/अक्टोपस बुक्सले प्रकाशन गरेको हो।

यो पुस्तक सर्वोच्च शिखरको चुचुरोसम्म पुग्ने र पुर्‍याउने क्रममा हुने साहसिक कर्म र जीवनयापनको कथा हो। पुस्तकमा समावेश भएका कथाले पाठकलाई शेर्पा संस्कृतिसँग परिचित मात्र गराउँदैन, जीवन र मृत्युको धारमा उनीहरूको अस्तित्वबारे समेत बताउने यसका प्रकाशकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

नेपालमा पर्वतारोहणको व्यावसायिकीकरण हुनुअघि र पछिका समयका शेर्पाहरूका जीवन्त कथा एवं घटनाक्रमहरू लेखकहरूले पुस्तकमा समेटेका छन्।

क्षेत्रगत हिसाबले ‘शेर्पा’ले नेपालका शेर्पा जातिको बसोबास भएका मुख्य तीन उपत्यका खुम्बु, रोल्वालिङ र मकालु र भारतको दार्जीलिङलाई समेटेको छ। पहिलो सफल आरोहणअघिदेखि हालको आधुनिक प्रविधिसँग अभ्यस्त पुस्तासम्मका आरोही पुस्तकमा भेटिन्छन्।

दन्त्य कथाका पात्रझैँ लाग्ने अनेकौँ ऐतिहासिक वा इतिहासको गर्भमै हराउन पुगेका शेर्पाहरू यस पुस्तकमा समेटिएका छन्।

लेखकद्वय बस्याल र अधिकारीले आफूहरूले हरेक पाठकलाई शेर्पाको मन र घर र उनीहरूको कर्मथलो हिमालसम्मै पुर्‍याउने प्रयास गरेको बताउँछन्।

नेपालका हिमालबारे विदेशीहरूले धेरै पुस्तक लेखे पनि नेपाली दृष्टिबाट विश्वबजारका लागि पहिलोपटक यसरी लेखिएको भनेर अन्तर्राष्ट्रिय रूपमा यस पुस्तकको प्रशंसा र समीक्षा भएका छन्।

बेलायतको ‘द स्पेक्टेटर’ म्यागेजिनले ‘शेर्पा’ पुस्तकको समीक्षा गर्ने क्रममा ‘शेर्पाहरू बल्ल आफ्नै कथाको नायक हुन सकेको’ लेखेको छ।

बेलायतकै ‘द टाइम्स लिटेरी सप्लिमेन्ट’ पत्रिकाले पुस्तकको समीक्षा गर्ने क्रममा ‘..यी खास मानिसहरूप्रति समर्पित पहिलो अंग्रेजी भाषाको पुस्तक...’ भनेर उल्लेख गरेको छ।

भारतको ‘द हिन्दू’ पत्रिकाले यो पुस्तक पढेपछि ‘हरेक पटक कोही सगरमाथा चढेको सुन्दा त्यसलाई सफल बनाउने शेर्पाहरू बारे सम्झाउने’ भनेको छ।

सन् १९६० मै अन्नपूर्ण हिमाल आरोहण गरेका महान् बिट्रिस आरोही सर क्रिस बोनिङटनले पुस्तकले ‘शेर्पाहरूलाई ठूलो गुन लगाएको’ बताएका छन्।

बेलायत, भारत र अस्ट्रेलियामा बेस्टसेलिङ सूचीमा परेको यो पुस्तक इटलियन र चेक भाषामा समेत प्रकाशित भइसकेको छ। यसै वर्षभित्र नेपालीमा पनि सार्वजनिक हुँदै छ।

विभिन्न भाषामा प्रकाशित शेर्पा पुस्तक

‘बोर्डमन टास्कर’ मा छनौट हुने पहिलो नेपाली लेखक 
सन् २०२३ को ‘बोर्डमन टास्कर अवार्ड फर माउन्टेन लिटरेचर’ मा पहिलोपटक यिनै नेपाली लेखक अन्तिम पाँच पुस्तकमा सर्टलिस्ट भएका थिए। पर्वतारोहण साहित्यको ‘बुकर’ मानिने बेलायतको यस पुरस्कारका लागि दुई वर्षअघि ब्रिटिस र अमेरिकी लेखकहरू समेत उनीहरूसँगै छनौट भएका थिए।

त्यसबेला सो पुरस्कार समितिले उक्त पुस्तक हिमालयका अग्ला चुचुराहरूमा अनगिन्ती आरोहण अभियानको मेरुदण्ड भएर काम गरेका शेर्पाहरूको दुर्लभ र मिहिन चित्रण रहेको जनाएको थियो। पुस्तक 'शेर्पाले ती गर्विला र सहनशील मानिसहरूका भविष्यबारे समेत महत्त्वपूर्ण प्रश्नहरू उठान गरेको छ।

'यो एउटा त्यस्तो पुस्तक हो, जसले हामीमा जकडिएर बसेका धारणा र भाष्यहरूलाई चुनौती दिन्छ,' त्यसका निर्णायकहरूले भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad