ad ad

लुम्बिनी


चुनाव घोषणालगत्तै बुटवलमा चासो, रुपन्देही २ मा कांग्रेसबाट को बन्ला उम्मेदवार?

चुनाव घोषणालगत्तै बुटवलमा चासो, रुपन्देही २ मा कांग्रेसबाट को बन्ला उम्मेदवार?

सुदीप भण्डारी
साउन २०, २०७९ शुक्रबार २२:४८, बुटवल

 

विहिवार सरकारले मंसिर ४ गतेलाई संघ र प्रदेशको चुनाव घोषणा गरेपछि बुटवलका चोक र चियापसलहरुमा चुनावी चर्चा चुलिएको छ। रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धन होला कि नहोला? भएन भने नेपाली कांग्रेसबाट को उम्मेदवारर बन्ला? भन्नेमा धेरैको चासो छ। रुपन्देही क्षेत्र नम्बर–२ मा बुटवल उपमहानगरपालिका र आसपासका क्षेत्र पर्दछ। २०६४ र २०७० को संविधान सभाको निर्वाचन तथा २०७४ को आम निर्वाचनमा यो क्षेत्रबाट एमालेका विष्णु पौडेल विजयी भएका थिए। 
बहुदलीय व्यवस्था स्थापनापछि भएको २०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए। २०५१ सालमा एमालेका मोदनाथ प्रसितले खाँणलाई हराएका थिए भने २०५६ सालमा कांग्रेसका सूर्यप्रसाद प्रधानले एमालेका विष्णु पौडेललाई पराजित गरेका थिए। 

२०६४ र २०७० को संविधान सभामा कांग्रेसबाट प्रधान नै उम्मेदवार भएपनि विष्णु पौडेलसँग पराजित भएका थिए। ७ वर्षअघि सूर्यप्रसाद प्रधानको निधन भएपछि २०७४ को चुनावमा कांग्रेसबाट नयाँ उम्मेदवारको खोजि भयो। अन्तिममा युवराज गिरिले टिकट हात पारे। तर विष्णु पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए। 
गत चुनावमा फराकिलो अन्तरले पराजित भएको र यसपछि पार्टीमा महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएकाले उनलाई कमजोर उम्मेदवारको रुपमा हेरिएको छ। तर सम्भावित उम्मेदवारको रुपमा गिरिको नाम पनि चर्चामा छ। 
अघिल्लो चुनावमा युवराज गिरि अघि पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले टिकट पाएको चर्चा चलेको थियो। तर अन्तिममा गिरिले टिकट हात पारेका थिए। यो पटक महाधिवेशन प्रतिनिधि हारेका ढकाल पनि सम्भावित उम्मेदवार मानिन्छन्। 
नेपालखबरले केही जिल्ला स्तरका नेतालाई रुपन्देहीको २ को सम्भावित उम्मेदवारको चर्चाबारे अनौपचारिक रुपमा सोधेको थियो। त्यसरी सोध्दा केही नामहरु आएका छन्। जसमा कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, बालकुमारी भण्डारी, हाल एन्फाका उपाध्यक्ष रहेका दिर्घकुमार केसी, महाधिवेशन प्रतिनिधि रोमणीप्रसाद पाठक लगायतले चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्। 
त्यस्तै, लामो समय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव बसेका महाधिवेशन प्रतिनिधि गोकर्ण पौडेल, महासमिति सदस्य चुन्नुप्रसाद पौडेलले पनि आकांक्षा व्यक्त गरेको कांग्रेसका एक जिल्ला नेताले बताए। 
त्यस बाहेक चन्द्र भण्डारी पनि गुल्मी छोडेर बुटवलबाट उठ्ने भन्ने केही समय अघि चर्चा चलेको थियो। 
सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेको अवस्थामा बुटवल माओवादी केन्द्र या एकीकृत समाजवादीको भागमा पर्न सक्ने खालको चर्चा पनि चल्ने गरेको छ। तर बुटवल उपमहानगरपालिकामा एमालेको किल्ला ढाल्दै मेयर सहित थुप्रै वडा जितेको कांग्रेस केही हौसिएको पनि छ। त्यसले कांग्रेसले आफैँसँग यो क्षेत्र राख्न बल गर्ने छ। तर गठबन्धनको भागबण्डामा रुपन्देही २ अन्य दललाई पर्न सक्ने सम्भावना पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .