ad ad

लुम्बिनी


आचारसंहिता हटेलगत्तै दाङमा मुख्यमन्त्री कार्यालय उद्‍घाटन र मन्त्रिपरिषद बैठक

आचारसंहिता हटेलगत्तै दाङमा मुख्यमन्त्री कार्यालय उद्‍घाटन र मन्त्रिपरिषद बैठक

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १६:२४, बुटवल

चुनावी आचारसंहिता सकिए लगत्तै दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालयको उद्‍घाटन हुने भएको छ। अहिले देउखुरीमा मुख्यमन्त्री कार्यालयको स्थापना भइसकेको छ।

यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा मुख्यमन्त्री कार्यालय र निवास, प्रमुख सचिव निवास र अन्य केही मन्त्रालयहरु तयार गरिएको हो। 

बुटवलबाट सामानहरु सारेर देउखुरीमा मुख्यमन्त्रीको कार्यकक्ष कक्ष तयार पारिसकिएको छ। सामानहरु सार्न भन्दा केही दिनअघि देखि नै मुख्यमन्त्री कुलप्रसाद केसी दाङमा छन्। कार्यालयको कामकाज समेत उतैबाट गरिरहेका छन्। मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु दाङ र बुटवल दुवैतिर कार्यरत छन्। कतिपय कर्मचारी जाने आउने गरिरहेका छन्। 

चुनावी आचारसंहिता हटेलगत्तै मुख्यमन्त्री कार्यालय औचारिक रुपमा सुरु गरिने मुख्यमन्त्री कार्यालयका सचिव तथा प्रवक्ता नरेन्द्रकुमार रानाले बताए।

‘अहिले कोही यता कोही उताबाट काम काम गरिरहेका छौं। जाने आउने पनि भइरहेको छ’ उनले भने, ‘यहाँ कार्यालयका धेरै जसो सामानहरु सारिसकेका छाैं। आचारसंहिता हटेको दिन मुख्यमन्त्री कार्यालय उद्घाटन भएर त्यहीबाट कामकाज सञ्चालन हुन्छ।’ 

यही मंसिर ४ गतेको संसदीय निर्वाचनको लागि असोज १२ गतेदेखि आचारसंहिता जारी भएको थियो। निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेपछि आचारसंहिता हट्ने छ। आचारसंहिता हटेसँगै देउखुरीमै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठक बस्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले बताए।

‘आचारसंहिता सकिए लगत्तै मुख्यमन्त्री कार्यालय पनि औपचारिक रुपमा सञ्चालनमा आउँछ। उहाँको निवास पनि यतै बन्यो’ उनले भने, मुख्यमन्त्री कार्यालय उद्घाटन भएलगत्तै दाङमै मन्त्रिपरिषद बैठक बस्छ।’ 

नयाँ सरकार गठन हुनु अगाडि बस्ने मन्त्रिपरिषद बैठकले मुख्य गरेर प्रदेश प्रमुख मार्फत प्रदेश सभाको अधिवेशन आह्वान गर्ने छ।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले मुख्यमन्त्रीको कार्यलयको अधिकांश कक्ष तयार भइसकेको छ बताए। मुख्यमन्त्रीको कार्यकक्षसँगै प्रमुख सचिव र सचिवहरुको कार्यकक्ष तथा मन्त्रिपरिषद बैठक कक्ष पनि बनिसकेको जानकारी दिए।

यस्तै, राप्ती प्राविधिक शिक्षालयको परिसरमा अन्य मन्त्रालय र देउखुरीमै प्रदेश सभा भवन निर्माणको काम पनि अन्तिम चरणमा छ। प्रदेश सभा सदस्यहरुको सपथ पनि दाङमै गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .