ad ad

लुम्बिनी


अब संसदीय चहलपहल देखिने छैन बुटवल सुन्दरनगरको यो परिसरमा

सोमबारदेखि प्रदेश सभा सचिवालयको काम देउखुरीबाट
अब संसदीय चहलपहल देखिने छैन बुटवल सुन्दरनगरको यो परिसरमा

सुदीप भण्डारी
पुस ११, २०७९ सोमबार १६:४४, बुटवल

२०७४ साल मंसिरमा संसदीय चुनाव सकिएपछि तत्कालिन शेरवहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो। रुपन्देहीको बुटवल तत्कालिन प्रदेश ५ को राजधानी कायम भयो। राजधानी तोकिए लगत्तै यहाँ प्रदेशका संरचना राख्ने ठाउँहरुको खोजी भयो। 

विगतमा खयरघारी पछिल्लो समय सुन्दरनगर भनिने यो ठाउँमा बुटवल उद्योग वाणिज्य संघको कार्यालय थियो, साथमा सभाहल थियो।

यही सभाहललाई प्रदेश सभा बैठक बस्ने ठाउँ पहिचान गरियो। संघको कार्यालय भवनलाई प्रदेश सभा सचिवालय बनाइयो। बुटवल उद्योग वाणिज्य संघ आफ्नो भवन छोडेर बालमन्दिरको भवनमा सर्यो। 

माघ ७ गते तत्कालिन ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश सभा सदस्यहरुलाई सपथग्रहण गराए। माघ २१ गते पहिलो बैठक बस्यो। केही दिनमा पूर्णबहादुर घर्ती सभामुख र कृष्णी थारु उपसभामुख चुनिए। फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलले त्यसको केही दिनमा यहीँबाट विश्वासको मत लिए। शपथग्रहणको दिनबाट सुन्दरनगरमा सुरु भएको संसदीय चहलपहल झण्डै साढे ४ वर्ष सम्म चल्यो। 

यसबीचमा यहाँबाट केही कानुनहरु बने, वर्षेनी नीति कार्यक्रम र बजेट प्रस्तुत भए। सांसदहरुबीच गरमागरम बहस मात्र भएन, कुर्सी टेबुलसमेत तोडफोड भएको थियो। २०७७ असोजमा स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गर्दा कांग्रेसका केही सांसद तोडफोडमा उत्रिएका थिए। 

प्रदेशसभाको यो हलमा मुख्मन्त्रीले मात्र नभइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गरेका थिए। प्रदेश सरकार बनाउने र भत्काउने खेल पनि यहाँको प्रदेश सभाले भोग्यो। २०७८ साउनमा माओवादीका कुलप्रसाद केसीले कांग्रेससहित अन्य ४ दलको सहयोगमा शंकर पोखरेल नेतृत्वको सरकार ढालेर मुख्यमन्त्री भएका थिए। 

केही महिना यताबाट भने यो ठाउँमा संसदीय चहलपहल हराएको छ। गत असार १५ गते चालु आर्थिक वर्षको बजेट पारित भएपछि प्रदेश सभा बैठक बसेको छैन। त्यस यता फाट्टफुट्ट संसदीय समितिको बैठक बसेको भएपनि असोजमा चुनाव घोषणा भएसँगै यहाँ सचिवालयका कर्मचारीको मात्र आवत जावत हुने गरेको थियो। 

प्रदेश सभाको अस्तित्व पनि औपचारिक रुपमा आइतबारसम्म मात्र कायम छ। विगतमा खयरघारी अनि अचेल सुन्दरनगर भनिने यो ठाउँमा अब संसदीय चहलपहल देख्न पाइने छैन।  

सोमबार देउखुरीबाटै प्रदेश सभा सचिवालय सञ्चालनमा आउने छ। आइतबार बुटवलको प्रदेश सभा भएको ठाउँ पुग्दा उजाड देखिन्थ्यो। मुलगेट नजिकैको एभरेष्ट बैंकको काउन्टर रित्तो थियो। परिसर सुनसान जस्तै थियो। प्रदेश सभा लेखिएको केही बोर्ड हटाइएको थियो भने केही हटाइने क्रममा थिए। 

यसअघि प्रदेश सभा बैठक बस्ने सांसदहरु बोल्ने ठाउँ अध्यारो थियो। सांसद बस्ने कुर्सी टेबुल थुपारेर राखिएको थियो। थुपारिएर राखिएका यी कुर्सी टेबुल लगायतका सामानलाई छिट्टै दाङ लैजाने तयारी भएको सचिवालयका एक कर्मचारीले बताए। 

सचिवालयतर्फका पनि धेरै सामान दाङ पुगिसकेका छन्। बाँकी सामान प्रदेश सभाको पहिलो बैठक बस्दासम्म लगिसक्ने तयारी छ। 

बुटवलको प्रदेशसभा भवन रित्तिँदै गर्दा उता दाङको देउखुरीमा भने चहलपहल बढ्दै छ। त्यहाँ प्रदेश सभाको बैठक नबसेपनि हालै स्थापना भएको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरुले चहलपहल बढाएको छ। 

देउखुरीमा यस अघिको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा भवन निर्माण भएको छ। निर्माण सम्पन्न भएर अहिले केही मर्मत तथा सजावटको काम भइरहेको छ।

अब प्रदेश सभाको भवन सपथ ग्रहण गर्न तयार भएको प्रदेश पूर्वाधार प्राधिकरणका सीईओ छविराज पोखरेलले बताए। पुस २१ गतेसम्म प्रदेश सभाहरुको शपथग्रहण गराउने तयारी छ।

५ वर्षसम्म बुटवलमा देखिएको संसदीय चहलपहल अब देउखुरीमा देखिने छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .