लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ। मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका छन्।
भण्डारीलाल प्रदेश सभा बाँके २ क का सांसद हुन्।
यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई बिनाविभागीय मन्त्री बनाइएको छ।
शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
नवनियुक्त मन्त्री अहिरले सोमबार विहान ११ बजे सपथग्रहण गर्दैछन्। यससँगै लुम्बिनीको मन्त्रिपरिषद ११ सदस्यीय भएको छ।
यस्तै, माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई तोकेका छन्। आचार्य अहिले खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री रहेका छन्।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।
असन्तुष्ट मन्त्री केसीले राजीनामा दिएकी थिइन्। उनको राजीनामा अझै स्वीकृत भएको छैन। कार्यभार सम्हाल्न पनि गएकी छैनन्।
प्रतिक्रिया