लुम्बिनी


लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना

लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना

रिया क्षेत्री
बैशाख २९, २०८२ सोमबार १२:४, लुम्बिनी

पवित्र बौद्धभूमि लुम्बिनीमा पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्न नेपालमै पहिलोपटक अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना गरिएको छ। 

बुद्ध जयन्तीको अवसरमा आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेयले प्रयोगशालाको उद्घाटन गरेका हुन्।

उक्त प्रयोगशाला अमेरिकाको एम्बेसडर फन्ड फर कल्चरल प्रिजरभेसन (एएफसीपी) को सहयोगमा बुद्ध फाउन्डेसन, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको संयुक्त साझेदारीमा सञ्चालन गरिएको हो। 

उद्घाटन समारोहमा मन्त्री पाण्डेयले लुम्बिनीजस्तो पवित्र तथा संवेदनशील क्षेत्रमा वैज्ञानिक र व्यवस्थित ढंगले सम्पदा संरक्षण गर्न प्रयोगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘यो प्रयोगशालाको स्थापनाले सम्पदा संरक्षणलाई दिगो, वैज्ञानिक र सुसंलग्न बनाउने छ,’उनले भने, ‘संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्दै सम्पदाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सबै पक्षको सहकार्य अपरिहार्य छ।”

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनीलाई केवल बौद्ध तीर्थस्थल मात्र नभई प्राचीन सभ्यता बोकेको ऐतिहासिक स्थलका रूपमा परिभाषित गर्दै उक्त प्रयोगशालाले अनमोल सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित राख्न ठूलो योगदान पुर्‍याउने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रयोगशालाबाट लुम्बिनी क्षेत्रमा रहेका पुरातात्त्विक धरोहरको संरक्षण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘लुम्बिनी बौद्ध दर्शनको उत्पत्ति स्थल हो। यहाँको पुरातात्त्विक महत्त्व अत्यन्तै उच्च छ र त्यसका अमूल्य वस्तुहरूलाई जोगाउन प्रयोगशालाले मद्दत गर्नेछ।”

नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख ज्यासन मिक्सले प्रयोगशालाको स्थापना नेपाल-अमेरिका सम्बन्धमा नयाँ आयाम थप्ने परियोजना भएको उल्लेख गर्दै प्राचीन कलाकृतिको संरक्षण र अभिलेखनमा प्रयोगशालाले प्रभावकारी योगदान दिने विश्वास व्यक्त गरे।

बुद्ध फाउन्डेसनकी कार्यकारी निर्देशक सुम्निमा उदासले नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा अग्रणी देशका रूपमा स्थापित गर्ने लक्ष्यका साथ प्रयोगशाला स्थापना गरिएको जानकारी दिइन्।

‘यो प्रयोगशाला केवल लुम्बिनीका लागि होइन, सम्पूर्ण राष्ट्रकै गर्वको विषय हो,’उनले भनिन्।

प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रभित्रका पुरातात्त्विक वस्तु, जस्तै प्राचीन मूर्ति, सिक्का, माटाका प्रतिमा, ढुंगाका संरचना आदि संरक्षण तथा मर्मत गर्न वैज्ञानिक पद्धतिमा आधारित प्रविधिको प्रयोग गर्नेछ।

लुम्बिनी संग्रहालयमा इसा पूर्व छैटौं शताब्दीदेखि इस्वी संवत्‌को तेस्रो शताब्दीका पुरावशेषहरू राखिएको छ, जसको संरक्षणमा प्रयोगशालाले सहयोग पुर्‍याउनेछ।

यसरी लुम्बिनीमा स्थापना गरिएको अत्याधुनिक संरक्षण प्रयोगशालाले सम्पदा संरक्षणमा मात्र होइन, बौद्ध दर्शन, पर्यटन प्रवर्द्धन, र राष्ट्रिय गौरव अभिवृद्धिमा समेत दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको विकास कोषले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad