लुम्बिनी


लुम्बिनी प्रदेशसभा बैठकमा सांसदको गुनासोः जेनजी आन्दोलनपछि त्रास बढ्यो

लुम्बिनी प्रदेशसभा बैठकमा सांसदको गुनासोः जेनजी आन्दोलनपछि त्रास बढ्यो

फाइल फोटो


नेपालखबर
मंसिर ८, २०८२ सोमबार १७:१८, काठमाडौँ

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले जेनजी आन्दोलनको विषय उठान गरेका छन्। प्रदेशसभामा आजदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठकमा उनीहरूले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसको उद्देश्यबारे प्रश्न उठाए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जेनजी आन्दोलनको उद्देश्य के हो भन्ने विषयमा स्पष्ट नभएको टिप्पणी गरे। उनले आन्दोलनबाट नेपाली जनताले के पाए भनि प्रश्न गरे।

नेपाली कांग्रेसकी प्रमुख सचेत जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बताइन्। उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको भन्दै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गरिन्।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेत इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए। उनले उत्पन्न अवस्थाको कारण पहिचान गरेर सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा राखे।
प्रदेशसभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि धारणा राखे। 

बैठकमा सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाए। उनले सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनःगठनबारे पत्र र छैटौं अधिवेशनबाट प्रमाणीकरण भइसकेका विधेयकसम्बन्धी जानकारी पढेर सुनाए। बैठकले प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
    
चालु अधिवेशनका लागि प्रदेशसभा सचिवालयमा दर्ता भइसकेका दुई विधेयकमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७६ संशोधन विधेयक छन्।

यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले थप तीन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ। तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad