लुम्बिनी


रुपन्देही-२: कता ढल्केला ‘निर्णायक’ राप्रपा? नेताहरूको विवादले अन्योलमा मतदाता

कर्विका थापाले उम्मेदवारी फिर्ता लिएपछि राप्रपा उम्मेदवारविहीन
रुपन्देही-२: कता ढल्केला ‘निर्णायक’ राप्रपा? नेताहरूको विवादले अन्योलमा मतदाता

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदय, रुपन्देही–२ का क्षेत्रीय सभापति रामबहादुर थापा र जिल्ला अध्यक्ष सागरप्रताप राणा


प्रदीप आचार्य
फागुन १८, २०८२ सोमबार १६:२१, बुटवल

रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार नभएको तर ‘निर्णायक’ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र कसलाई समर्थन गर्ने भन्ने विषयलाई लिएर किचलो छ। यस क्षेत्रबाट उम्मेदवार बनेकी कर्विका थापाले उम्मेदवारी फिर्ता लिएपछि राप्रपा उम्मेदवारविहीन छन्।

राप्रपाका कार्यकर्ताहरू अहिलेसम्म समानुपातिक मत मात्रै मागिरहेका छन्। तर, नेताहरूबीच कसलाई समर्थन गर्ने भन्ने विषयमा विवाद बढेपछि कार्यकर्ता र समर्थक अन्योलग्रस्त बनेका छन्।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदय र रुपन्देही–२ का क्षेत्रीय सभापति रामबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्। तर, जिल्ला र केन्द्रीय समितिले भने यसको खण्डन गरेका छन्। जिल्ला र केन्द्रले यहाँ कुनै दललाई समर्थन गर्ने निर्णय नभएको जनाएका छन्।

यसले राप्रपाका नेता कार्यकर्ता अन्योलमा परेका छन्। निर्णायक मत रहेको पार्टी चुनावको मुखमा आएर विवादित हुँदा राप्रपाका मतदातामा अन्योलता छाएको छ।

कहाँबाट सुरु भयो विवाद?
आइतबार दिउँसो राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने भन्दै विज्ञप्ति जारी गरे। 

उनले विज्ञप्तिमा भनेका थिए, ‘यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनुका साथै संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको छ।’

आफ्नो उम्मेदवार नभएको राप्रपाको क्षेत्रीय समितिले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेलगत्तै जिल्ला अध्यक्ष सागरप्रताप राणाले आपत्ति जनाएका थिए। जिल्ला सभापति राणाले निर्णय गलत भएको बताउँदै समर्थन नभएको स्पष्ट पारे। कुनै व्यक्ति विशेषले गरेको निर्णय पार्टीको आधिकारिक नहुने उनको भनाई छ।

‘कुनै व्यक्तिले केही निर्णय गर्ने विषय पार्टीको निर्णय होइन, आफूहरूलाई क्षेत्रीय अध्यक्षको नामबाट जारी भएको विज्ञप्ति मान्य छैन’ उनले भने।

प्रदेश अध्यक्ष भन्छन्– क्षेत्रको निर्णयलाई जिल्ला र केन्द्रले हस्तक्षेप गर्न मिल्दैन
यता, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले क्षेत्रीय निर्णय सम्बन्धित क्षेत्रले गर्न पाउने दाबी गर्छन्। संचारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्षौंदेखि आफ्नै चुनाव चिह्नमा मतदान गर्न नपाएको पीडाले यसपटकको निर्णय क्षेत्रले नै गरेको बताउँदै कांग्रेसलाई नै समर्थन रहने दाबी गरेका हुन्। 

राप्रपा समर्थकहरूले लामो समयदेखि आफ्नै चुनाव चिह्नमा मतदान गर्ने अवसर नपाएको गुनासो रहेको बताउँदै यसपटक पनि उम्मेदवार नउठेपछि नराशा बढेकोले यस्तो निर्णय भएको उनले दाबी गरे। उनले क्षेत्रीय समितिले बहुमतको निर्णय भएको उल्लेख गर्दै क्षेत्रीय कार्य समितिले मत बिखण्डन हुन नदिन र कार्यकर्ता बाहिरिने अवस्था रोक्न निर्णय गरेको बताए।

प्रदेश अध्यक्ष उदयले क्षेत्रीय तहबाट नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयलाई पनि मतदाताको मनोविज्ञानसँग जोडेर व्याख्या गरे। उनका अनुसार गणतन्त्रवादी दलहरूमध्ये हिन्दु राष्ट्र र राजसंस्थाबारे बहस सुरु भएको सन्दर्भलाई आधार बनाउँदै यस्तो निर्णय गरिएको हो।

जिल्ला अध्यक्षले अघि सारेको ‘नो भोट’ अवधारणाप्रति असहमति जनाउँदै उनले ‘नो भोट’ को सन्देशले उम्मेदवार भएका क्षेत्रमा समेत पार्टीलाई नोक्सान पुर्‍याउने जनाए।  मतदातालाई निराश बनाउने खालका अभिव्यक्तिले संगठन कमजोर हुने उनको तर्क छ।

जिल्ला अध्यक्ष राणाले गरेको निलम्बनलाई प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले अवैधानिक भएको बताए। पार्टी विधानअनुसार स्पष्टीकरणको अवसर नदिई गरिएको कारबाही मान्य नहुने उनको चेतावनी छ। चुनावको मुखमा विवाद चर्काउनु उपयुक्त नहुने भन्दै उनले संवादमार्फत समाधान खोज्न पनि आग्रह गरे। 

केन्द्रले भन्यो– कसैलाई समर्थन गरेका छैनौँ
राप्रपा केन्द्रीय कार्यालयले रुपेन्देही–२ मा कसैलाई पनि समर्थन नगरेको स्पष्ट पारेको छ। 

सोमबार राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी कांग्रेसलाई समर्थन गरिएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्। श्रेष्ठले भनेका छन्, ‘रुपन्देही क्षेत्र नं. २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन।’

प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरिएको राप्रपाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन।’

रुपन्देहीमा राप्रपाको नीति विपरीतका कार्यमा संलग्न नेता तथा कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिइएको छ। राप्रपाले भनेको छ, ‘पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ।’

समर्थनमा विवाद र उम्मेदवारी फिर्ताले तरंग
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर २ र ३ मा नेकपा एमाले र राप्रपाको तालमेल थियो। रुपन्देही २ मा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई राप्रपाले र क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरालाई एमालेले समर्थन गरेका थिए। 

यो पटक भने राप्रपाले तालमेलको बारेमा कुनै अवस्था नरहेको भन्दै एक्लाएक्लै प्रतिप्रर्धा गर्ने योजना अनुसार नै उम्मेदवार सिफारिस गरेको थियो। सोही अनुसार रुपन्देही २ बाट ६ जनाको नाम सिफारिस गरियो। सिफारिसका क्रममा पुछारमा रहेकी राप्रपाका नेता निरञ्जन थापाकी छोरी कर्भिका थापालाई पार्टीले टिकट दियो। उनले उम्मेदवारी दर्ता गरिन्। कुनै उजुरी परेन तर पनि उनले फिर्ता गरिन्। 

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानले कुनैपनि उजुरी नपरेको अवस्थामा फिर्ता गर्नु नपर्ने बताउँदै विजयी भए संसद जान पाइने भन्दै सुझाव दिएपनि उनले उम्मेदवारी फिर्ता गरेको भन्दै राप्रपाका नेताकार्यकर्ताहरू असन्तुष्ट रहेका थिए। 

किन उम्मेदवारी फिर्ता गरियो? भन्दै राप्रपाभित्र असन्तुष्टि बढिरहेको थियो। अन्तिम समयमा पुगेर क्षेत्रलाई कुनै दलसँग ‘बेचिएको’ हो कि भन्ने आशंका पैदा भइरहेको र अघिल्लोपटक एमालेमा मतदान गरेका राप्रपा कार्यकर्ताले यो पटक नचाहेकोले के गर्ने भन्नेमा अन्योलता सिर्जना भइरहेको जनाए। 

अहिले पनि क्षेत्रीय सभापति र प्रदेश सभापतिले कांग्रेसलाई मतदान गर्न अपिल गर्ने तथा जिल्ला सभापति र केन्द्रीय समितिले कुनै निर्णय नभएको भन्दा कार्यकर्ता के गर्ने अन्योलमा छन्। 

कसलाई पर्छ प्रभाव?
यसपटक चुनावी मैदानमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, रास्वपाका सुलभ खरेल, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे (सुभाष) लगायत रहेका छन।

०७९ को निर्वाचनमा समानुपातिकमा रास्वपाले २५ हजार ६७३, एमालेले २१ हजार १८३, कांग्रेसले १३ हजार ४५०, राप्रपाले ५ हजार ६००, जनमुक्ति पार्टीले ४ हजार १९७ र माओवादी केन्द्रले ३ हजार ४२९ मत पाएका थिए। अघिल्लो पटकको समानुपातिक मतले मात्रै यो पटकको परिणाम कता ढल्किन्छ भन्ने एकिन छैन। 

राप्रपाको ५ हजार ६ सय मतको शक्ति मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टीमध्ये जता ढल्कन्छ, त्यतैतिर जितको सम्भावना ज्यादा देखिन्छ।

यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका मत काटेर नयाँ दलका उम्मेदवारले लैजाने निश्चित छ। रास्वपाले पनि पहिलेको मत कायम राख्न सक्नेमा आशंका उब्जिएको छ। किनकी यहाँ कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका ई. सुरज पाण्डे लगायतले रास्वपाको मत घटाउने देखिन्छन्।

नेकपाका विश्वदिप पाण्डेले पनि राम्रो मत ल्याउने विश्लेषण गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad