एउटामात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा पनि रास्वपाले जित निकालेको छ। अर्घाखाँची नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुरको जिल्ला हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँची जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिप्रसाद भुसाल विजयी भएका छन्। उनले ३५ हजार २३ मत प्राप्त गरेर जित निकालेका हुन्।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार भुसालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसालले २२ हजार ६ सय ४९ मत प्राप्त पाएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) १८ हजार ९ सय ८३ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त पाएका छन्।
अर्घाखाँची जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता दर्ता रहेकोमा यस प्रतिनिधिसभा निर्वाचनमा जम्मा ८६ हजार ६ सय ६८ मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया