मधेस


सप्तरीमा मिटरब्याजीविरुद्ध ११४ उजुरी

सप्तरीमा मिटरब्याजीविरुद्ध ११४ उजुरी

नेपालखबर
भदौ ८, २०७९ बुधबार १२:५४, सप्तरी

सप्तरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो। 

कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले जारी गरेको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्ना जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो।

देशैभरि मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए। सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। 

यस्तो उजुरी तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फूलकुमारी साहविरुद्ध पनि परेको छ। तिलाठी कौइलाडी–६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी छन्। 

उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुईपटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएका छन्। 

प्राप्त निवेदनबारे प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ गौतमले जानकारी दिए। 

प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए। प्रजिअ गौतमका अनुसार कतिपयले ठाँडो निवेदन र कतिपयले प्रमाणसहित उजुरी दिएका छन्।

‘एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ’, उनले भने, ‘धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन्।’ ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको प्रजिअ गौतमले बताए। कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको उनले जानकारी दिए। 

यसअघि प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहका छोरा नन्दकिशोर र छोरी अनुराधा असार २२ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। 

सुनसरीको धरानबाट नन्दकिशोर पक्राउ परेको दुई दिनपछि जेठ २८ गते काठमाडौँको गौशालाबाट अनुराधा पक्राउ परेकी थिइन्। प्रधानमन्त्रीले निर्देशन दिएपछि मात्र आरोपितलाई पक्राउ गर्न नेपाल प्रहरी सक्रिय भएको थियो । ठगी तथा आपाराधिक विश्वासघात मुद्दामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट रामदेवसहित उनका परिवारविरुद्ध मुद्दा चलिरहेको छ।

सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए। सप्तरीसहित देशैभरि मिटर ब्याजीपीडितहरू दिनहुँ प्रदर्शन गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad