ad ad

मधेस


मधेश प्रदेश : निर्वाचन सामग्री लिएर कर्मचारी मतदानस्थल पुगे

३३ हजार कर्मचारी र ३७ हजार बढी प्रहरी खटिए
मधेश प्रदेश : निर्वाचन सामग्री लिएर कर्मचारी मतदानस्थल पुगे

जयन्त ठाकुर
मंसिर १, २०७९ बिहिबार १९:२६, जनकपुरधाम

मधेश प्रदेशमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारीहरुले बिहीबार प्रदेश निर्वाचन कार्यालयबाट मतदान सामग्री लिएर मतदानस्थल पुगेका छन्। मतदानस्थलमा खटिने कर्मचारीलाई छिटो मतदानस्थल पुग्न र आवश्यक तयारी गर्न सहज होस् भनी निर्वाचन सामग्री वितरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयले ५२ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए। 

मतपत्र भने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले वितरण गरेको छ। मतपत्र पनि बिहीबार नै वितरण गरिएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

मधेस प्रदेशभरी निर्वाचनलाई लक्षित गरेर ३३ हजार ८ सय८० जना कर्मचारी खटाएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ४ हजार २३५ मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको हो। ८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन्।

मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए।

जिल्लागत हिसाबले सप्तरीका ५ सय ३६ मतदान केन्द्रमा ४ हजार २८८ कर्मचारी तोकिएका छन्। जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता रहेका छन्।

त्यस्तै, सिरहाका ५सय ५ मतदान केन्द्रका लागि ४ हजार ४० कर्मचारी तोकिएका छन्। सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

धनुषामा ६०५ मतदान केन्द्रमा ४ हजार ८४० कर्मचारी खटाइएका छन्। यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन्।

महोत्तरीको ४९९ मतदान केन्द्रमा ३ हजार ९९२ कर्मचारी खटेका छन्। जिल्लामा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन्।

उता, सर्लाहीमा भने ६सय मतदान केन्द्रमा ४ हजार ८सय कर्मचारी खटिएका छन्। जहाँ २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन्।

रौतहटका ५२३ मतदान केन्द्रमा ४ हजार १८४ कर्मचारी खटिएका छन्। जिल्लामा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ जनाले आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन्।

बारा जिल्लामा भने ५५५ मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटेका छन्। यस जिल्लामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार ५०४ जनाले मतदान गर्ने भएका छन्।

त्यस्तै, पर्सा जिल्लामा भने ४१२ मतदान केन्द्रमा ३ हजार २सय ९६ कर्मचारी मार्फत १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९२८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन्।

यस प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन्। प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८सय ५४ पुरुष, १५ लाख ५८ हजार ७४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको हो।

आसन्न निर्वाचनका लागि यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .