नेकपा (एमाले) का दुई जना पूर्वसंघीय सांसदले पार्टी परित्याग गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी पूर्वसांसदद्वय जानकी देवी राम र सञ्जना थपालियासहित आधा दर्जन नेताले पार्टी परित्याग गरेका हुन्।
उनीहरूले पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धति र सिद्धान्तबाट विचलन तथा आन्तरिक लोकतन्त्रको क्षयप्रति चिन्ता व्यक्त गर्दै पार्टी परित्याग गरेको जनाएका छन्।
सिरहाको जानकीदेवी २०७४ सालको निर्वाचनपछि विशेष कारणबस रिक्त समानुपातिकबाट २०७७ चैत २२ गते संसद प्रवेश गरेकी थिइन् भने थपलिया २०७९ काे निर्वाचनबाट निर्वाचित समानुपातिक सांसद हुन्।
पार्टी परित्याग गर्नेमा निवर्तमान सांसदद्वय जानकी देवी र थपालियासहित जिल्ला कमिटी सचिवालय सदस्य एवं उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य फुलेन्द्र नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव र वडा नं. ९ कमिटी सदस्य वीरेन्द्र झा रहेका छन्।
उनीहरूले करिब ३५ वर्षदेखि संगठन निर्माण, विभिन्न लोकतान्त्रिक आन्दोलन र जनसेवामा समर्पित रहँदै योगदान दिँदै आएको उल्लेख गर्दै पछिल्लो समय नेतृत्व तहबाट सुधारका लागि उठाइएका रचनात्मक आवाजलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
‘इमानदार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति मौलाउँदै गएको र विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुँदै गएकाले बाध्य भएर पार्टीसँगको सम्बन्ध विच्छेद गर्नुपरेको’ विज्ञप्तिमा भनिएको छ।
पार्टीलाई सही मार्गमा ल्याउन पटक–पटक पहल गर्दा समेत सुनुवाइ नभएको दाबी पनि गरिएको छ।
विज्ञप्तिमा राजनीति पद र शक्तिको लागि नभई जनताको हित, सुशासन र नैतिकताका लागि हुनुपर्ने उल्लेख गर्दै स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अघि बढ्ने उल्लेख गरेका छन्।
यद्यपी विज्ञप्तिमा कुन आगामी राजनीतिक यात्रा कुन दलबाट अघि बढाउने बताएका छैनन्।


Shares

प्रतिक्रिया