प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचन आचारसंहिता उल्लंघनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिएको छ।
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले आचारसंहिता अनुगमन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिइएको जानकारी गराइएको छ।
निर्वाचन आचार संहिता पालना र सुरक्षा बारे जानकारी दिन उद्देश्यले आयोजित सो पत्रकारसँगको अन्तरक्रियामा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट डेढलाख भन्दा बढी निर्वाचन आचार संहिता उल्लंघनको सामग्री नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार आचार संहितासम्बन्धी लिखित ६ वटा र मौखिक २५ वटा गरी ३१ वटा उजुरी प्राप्त भएकोमा २६ वटा उजुरी समाधान गरिएको छ भने बाँकी विषय थप कारबाहीका लागि निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाइएको छ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ भने फागुन १८ गतेदेखि २१ गतेसम्मका लाग सीमानाका बन्द गरिएको जानकारी समेत उनले दिए। सीमाबाट आवतजावत गर्ने व्यक्तिमाथि निगरानी बढाउनुका साथै विभिन्न स्थानमा अस्थायी चेकपोस्ट स्थापना गरी जाँच प्रक्रिया कडाइ गरिएको उनले बताए।
जिल्लामा नेपाल–भारत सीमा जोडिएका १९४ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने १०६ संवेदनशील र २२ वटा समान्यसहित एउटा अस्थायी मतदान स्थल कायम गरिएको छ। संवेदनशील र अति संवेदनशील केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरिने र आवश्यक परे केही मिनेटमै सुरक्षा टोली पुग्ने गरी व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए।
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख रोम बहादुर महतले निर्वाचनका लागि अधिकांश तयारी पूरा भइसकेको जानकारी दिए। प्रत्येक निर्वाचन क्षेत्रमा मतपत्र सहितका समग्र सामग्री नेपाली सेनामार्फत पठाइसकिएको जानकारी दिए।
जिल्लामा ५ लाख १४ हजार ५७१ मतदाता रहेकोमा ३ सय २२ मतदान स्थल अन्तर्गत ६ सय ४५ मतदान केन्द्र राखिएको छ। निर्वाचन सञ्चालनका लागि ३ हजार ५ सय ७८ कर्मचारी परिचालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन अधिकृत कृष्ण गैह्रेले अनुगमन संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको र निर्वाचन अवधिभर निगरानी जारी रहेको बताए। झुण्डयाइएका सामग्री मात्र नियन्त्रणमा लिइएको तर भित्ते लेखन र भित्तामा पोस्टर टाँस्नेलाई कारबाही प्रक्रिया अघि बढेको छैन।
त्यससम्बन्धमा उनले भने, ‘हामीले सकेसम्म निगरानी र कारबाही गरि नै रहेका छौं। तर जहाँसम्म भित्ता लेख्न तथा पोस्टर टाँसिएकोमा जरिवानाको कुरा हो, त्यो व्यवहारिक रुपले छोडेका छौँ। पूर्ण रुपले कारबाही अघि बढाएमा निर्वाचन जस्तो माहोल पनि देखिँदैन। त्यही भएर त्यसतर्फ खासै चासो दिइएको छैन।’
Shares

प्रतिक्रिया