मधेस


गरिबका छोराछोरीको बिहे नगरपालिकाले गराइदिने, इच्छुकलाई निवेदन दिन आह्वान

गरिबका छोराछोरीको बिहे नगरपालिकाले गराइदिने, इच्छुकलाई निवेदन दिन आह्वान

प्रतिकात्मक तस्बिर


रासस
मंसिर २१, २०८० बिहिबार १४:४०, जलेश्वर (महोत्तरी)

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ। नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ। 

नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’को योजना ल्याइएको बताए। नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनले बताए। 

मनरा शिसवा नगरपालिकाले ११औंँ नगरसभाबाट नगरक्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका वरबधुलाई सामूहिक विवाहसम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए। 

मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए। निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एकैचोटि एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए।

तराई–मधेशमा दाईजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रुपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगरसभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ छ। उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोड लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम छ। 

नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रुपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने सर्त राखिएको जनाउँदै विशेष गरी नगरक्षेत्रभित्रका केटीलाई लक्ष्य गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए।

उनले पहिलोपटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .