म्यागेजिन


जो नेपाल सपना देखेर अमेरिकाबाट फर्किए, मीठो स्ट्रबेरी बाह्रैमास फलाउन अनुसन्धानमा जुटे

जो नेपाल सपना देखेर अमेरिकाबाट फर्किए, मीठो स्ट्रबेरी बाह्रैमास फलाउन अनुसन्धानमा जुटे

मणि दाहाल
काठमाडौँ, साउन ९

गत बुधबार अपराह्न ललितपुरको धापाखेलस्थित फार्ममा पुग्दा कृषि वैज्ञानिक डा. राजेन्द्र गौतम एक सहयोगीका साथमा स्ट्रबेरीको जराबाट खुम्रे किरा निकाल्दै थिए। 

पाँच रोपनी क्षेत्रमा फैलिएको छ उनको यो फार्म। किराले करिब ५० लाख रुपैयाँको क्षति पु¥याएको उनको अनुमान छ। तर, स्ट्रबेरीमा किरा लाग्यो भनेर उनी चिन्तित छैनन्। उनलाई त त्यो किरा लाग्न नदिने उपायको खोजी गर्नुछ।

गौतम अहिले स्ट्रबेरी खेतीबारे अनुसन्धान गर्दैछन्। त्यसका लागि कहिलेकाहीँ आफैँले पनि रोग लगाएर परीक्षण गर्ने गर्छन्। 

‘पहिले धानखेतमा हामीले स्ट्रबेरी लगाएका थियौँ। पानी भएकाले किरा बच्ने अवस्था थिएन। अहिले मकै खेती गर्ने स्थानमा फार्म सारेका छौँ। यसमा खुम्रे किरा देखियो,’ गौतमले भने, ‘अनुसन्धानको क्रममा कहिलेकाहीँ हामी आफैँ रोग लगाइदिन्छौँ। अनि त्यसलाई जित्न सक्छौँ कि सक्दैनौँ भनेर परीक्षण गर्छौँ। तर, अहिलेको किरा भने लगाएको होइन।’ 

गौतमसहित तीन जना कृषि वैज्ञानिक मिलेर तीन स्थानमा स्ट्रबेरीको अनुसन्धान गरिरहेका छन्। काठमाडौँका अतिरिक्त चितवन र विराटनगरमा पनि अनुसन्धान भइरहेको छ। मौसम, माटो, मल, बिउ, रोग, किरा सबै पक्षमा अध्ययन भइरहेको छ। अहिले भने किरा नियन्त्रणका विषयमा अध्ययन केन्द्रित भएको गौतमले बताए। खासगरी स्ट्रबेरीको बिरुवालाई किरा र रोगले बढी सताउने उनको भनाइ छ।

‘गर्मी पायो भने रोग बढी फैलिन्छ। तराईमा स्ट्रबेरी खेती गर्न काठमाडौँमा भन्दा तीन गुणा बढी चुनौती हुन्छ,’ गौतमले भने, ‘काठमाडौँमा किटनाशक विषादी अत्यन्त कम प्रयोग गरेर वा नगरिकनै उत्पादन गर्न सकिन्छ।‘ 

गौतमको टोलीले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग सहकार्य गरिरहेको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञ पनि संस्थागत नभई व्यक्तिगत रुपमा अनुसन्धानमा जोडिएका छन्। नेपालमा स्ट्रबेरीको सबैभन्दा उत्तम प्रजाति खोज्ने क्रम चलिरहेको उनले सुनाए। 

‘कुनै भेराइटी त्यति सफल भएन भने त्यसलाई छाडेर नयाँ भेराइटीमा जाने गरेका छौँ,’ उनले भने ‘तीन वर्षदेखि १२ वटा भेराइटीमा काम गरेका छौँ।’ 

त्यसैले उनले फार्ममा ड्याङैपिच्छे फरकफरक प्रजातिका स्ट्रबेरी रोपेका छन्। तीमध्ये केही अमेरिका र केही दक्षिण अमेरिकी मुलुक उरुग्वेबाट ल्याइएको हो।

‘अहिलेको लक्ष्य भनेको धेरैभन्दा धेरै उत्पादन लिने होइन,’ गौतमले भने, ‘समस्याको पहिचान गर्ने र त्यसलाई समाधान गर्ने प्रविधिको विकास गर्ने र भोलिको दिनमा किसानले स्ट्रबेरी लगाउँदा आउने समस्या समाधान गर्न सकियोस् भनेर काम गरिरहेका छौँ।’ 

अन्तर्राष्ट्रिय बजारको सम्भावना
मिसेल पिसेलको किताब ‘टाइगर फर ब्रेकफास्ट’मा बोरिस लिसानेभिचले नेपालमा पहिलो पटक स्ट्रबेरी फलाएको उल्लेख छ। 

अहिले पनि काठमाडौँनजिकैको ककनीमा स्ट्रबेरी उत्पादन हुने गरेको छ। 

सन् २०१० प्रकाशित एक लेखमा ककनीको सात सय परिवार स्ट्रबेरीको खेतीमा संलग्न भएको उल्लेख छ। तर, ककनीमा राम्रो फाइदा हुनेगरीस्ट्रबेरी उत्पादन हुन नसकेको गौतमको भनाइ छ।

‘नेपालमा प्रतिहेक्टर (करिब चार बिघा) मा ३० टन (३० हजार किलो) उत्पादन गर्न सक्ने रहेछौँ। त्यो भनेको विश्व बजारमा प्रतिस्पर्धात्मक उत्पादन हो,’ गौतमले भने। 

गौतम काठमाडौँसहित मध्यपहाडी क्षेत्रमा बाह्रै महिना यसको खेती गर्न सकिने बताए। 

‘गत वर्षको उत्पादन हेर्ने हो भने करिब १० महिना उत्पादन ग¥यौँ,’ गौतमले भने, ‘उचित भेराइटीलाई सही समयमा लगाउने र त्यसैअनुसार व्यवस्थापन गर्ने हो भने वर्षभरि नै उत्पादन गर्न सकिन्छ।’ 

तर, त्यसका लागि काठमाडौँ र त्योभन्दा उच्च भूभाग हुनुपर्छ। उनले अमेरिकाको फ्लोरिडामा गएर यसबारे अध्ययन गरेका थिए। त्यहाँ वर्षमा चार महिना मात्रै उत्पादन हुन्छ। 

‘त्यसको अघि वा पछि गर्न सम्भव छैन,’ उनले भने।

अमेरिकामा हुँदा स्ट्रबेरीमा सातामा कम्तीमा दुई पटक विषादी छरेको उनले देखेका थिए। 

‘अमेरिकामा जति विषादी हामीले यहाँ छर्किनु नपर्दा सुरुमा छक्क परेको थिएँ,’ गौतमले भने, ‘स्ट्रबेरीको मुख्य मौसम जाडो हो, त्यस समयमा खासै विषादी छर्किनु पर्दैन।’ 

यही मौसमी अनुकूलताले गर्दा अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने उच्चकोटीको स्ट्रबेरी निकाल्ने उत्पादको सम्भावना उनले देखेका छन्। काठमाडौँसहित मध्यपहाडी क्षेत्रको मौसमी अवस्था स्ट्रबेरी उत्पादनका लागि उत्तम रहेको उनी ठान्दछन्।   

‘दिउँसोको तुलनामा राति तापक्रम कम भयो भने त्यसले स्ट्रबेरीलाई स्वादिलो बनाउँछ। नेपालको अर्को विशेषता हो यो,’ उनले भने, ‘हाम्रो स्ट्रबेरी धेरै विदेशीले खाएका छन्। यस्तो मिठो स्ट्रबेरी जीवनमा कहिले पनि नखाएको उनीहरु बताउँछन्। सही तरिकाले उत्पादन, प्याकेजिङ गरेर पठाउने हो भने पनि नेपालको स्ट्रबेरीले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्छ।’

तर गौतम आफैँले उत्पादन गरेको स्ट्रबेरी भने अहिलेसम्म विदेश पठाउनसकेका छैनन्। 

‘हामीले उत्पादन गरेको स्ट्रबेरी विदेश पठाउने योजना थियो। तर लगातार दुई वर्षदेखि लकडाउनले गर्दा पठाउन सकेनौँ,’ गौतमले भने, ‘गत वर्ष डेढ टन स्ट्रबेरी धादिङ लगेर वाइन बनायौँ।’

नेपालः अमेरिकाबाट देखेको सपनाको देश
अमेरिकामा सात वर्ष अध्ययन र अनुन्धानपछि नेपाल फर्केका हुन गौतम। नेपालमै बेरीबारे अनुसन्धान गर्ने उनको ध्याउन्न थियो।

अर्घाखाँचीको खिदिममा जन्मिएका गौतम ८ कक्षाबाट विश्व निकेतन मावि पढ्न थाले। उनले पक्लिहवा क्याम्पसमा सुरुमा कृषि पढे। बिएस्सी एजी भने चितवनको रामपुर क्याम्पसबाट गरे। केही समयमा एनजीओ र सरकारी जागिर खाएपछि गौतमले फ्लोरिडा विश्वविद्यालयबाट पीएचडी र पोस्टडक गरेका हुन्।  
 
खासगरी बेरीहरुको विषयमा अनुसन्धान गर्ने उदेश्य रहेको गौतमले बताए।

‘समुद्र सतहमै खेती भएको देख्यौँ। ब्लुबेरी, र्‍यास्पबेरी, ब्ल्याकबेरी, स्ट्रबेरीसहितको हाइभ्यालु बाली लगाऔँ भनेर फर्किएर आएको हो,’ गौतमले भने, ‘अमेरिकामा त यस्तो खेती गरे पनि हामी समुद्रको एउटा माछा हुने हो। त्यसरी किन बस्ने? हामीले गर्ने कामले समाजमा पनि योगदान देओस् भनेर पनि हो। नेपालमा आएर काम गर्दा बढी योगदान हुने देखिएकाले देश फर्किएको हो।’ 

नेपालमा हुँदा उनका लागि अमेरिका सपनाको देश थियो। उनको परिवारलाई पनि अमेरिका जाने रहर थियो।

‘अमेरिका संसारको सबै देशका मानिसको सपना हुने नै भयो। गएर ७–८ वर्ष बस्दा सबै कुरा देखियो र बुझ्ने अवसर पाइयो। त्यहाँको अनुभव भएपछि अब कहाँ जाने भयो,’ गौतमले भने ‘अमेरिकाबाट पनि सपना देख्नलायक देश नेपाल लाग्यो। आफ्नै देशमा धेरै काम गर्न बाँकी छ।’

त्यहाँ हुँदा पनि उनी र उनकी पत्नी नेपालसँग सम्बन्धित परियोजनाहरुमा जोडिइरहे। उनीहरुलाई पढाउने विश्वविद्यालयका प्राध्यापकहरु पनि गौतमले नेपालमै गएर केही गरुन् भन्ने चाहान्थे। 

‘उहाँहरुले प्रतिबद्धताअनुसार नै अहिले पनि सहयोग गरिरहनु भएको छ। केहीले नेपालमै अहिले पनि परियोजनाहरु सञ्चालन गरिरहनुभएको छ,’ उनले भने ‘त्यसमाथि नेपाल भनेको आफ्नै देश र जिम्मेवारी पनि हो। त्यसैले यहीँ केही गरौँ भन्ने उत्प्रेरणाले पनि काम ग¥यो।’ 

अमेरिकाबाट आउँदा आफूले ज्ञान मात्रै नभएर नेटवर्क पनि लिएर आएको उनले बताए।

‘यताबाट इमेल लेख्नेबित्तिकै जवाफ दिने मानिसको समूह छ,’ गौतमले भने ‘अलिकति ज्ञान लिएर आयौँ। सबैभन्दा ठूलो कुरा नेटवर्क ल्याएर आयौँ।’ 

नेपालमै केही व्यक्तिहरुसँग सहकार्य गर्ने प्रयास पनि उनले गरेका थिए। तर, प्रक्रियागत जटिलताले गर्दा गौतमले सहकार्यको प्रस्ताव गरेकाहरुले सकारात्मक जवाफ दिएनन्।

‘अमेरिकामै हुँदा ब्लुबेरीको बिरुवा पठाउन चाहेको थिएँ तर मेरा कोही साथी यहाँको प्रक्रियासँग लड्न तयार नै भएनन्। अनि म आफैँ आउँदा स्ट्रबेरीको बिरुवा ल्याएँ,’ उनले भने, ‘धेरै बिरुवा ल्याउने चाहना थियो। अझै पनि ल्याउन बाँकी छ। प्रक्रियाको कारणले धेरै समय लाग्यो।’ 

नेपालमा रहेका कतिपय प्रशासनिक प्रक्रिया निरर्थक भएको उनी बताउँछन्।

‘काममा भन्दा प्रक्रियामा हाम्रो बढी जोड छ,’ गौतमले भने, ‘जुन प्रक्रियाको हाम्रो काममा कुनै अर्थ छैन, त्यसमै रुमल्लिएर बस्ने गरेका छन्।’ 

बेरीका लागि उपयुक्त हावापानी
बेरीको इतिहास धान वा आलुजस्तो धेरै लामो छैन। खेती हुन थालेको बढीमा दुई सय वर्ष मात्र भयो। त्यसअघि बेरी जंगलमा पाइन्थे। काँडा हुने, थोरै र सानो फल्ने हुँदा मानिसले खासै वास्ता गर्थेनन्।

‘जंगल जाँदा मानिसले खाए होलान् तर घरमा ल्याएर रोपेनन्। किनभने त्यो सम्भव पनि थिएन,’ गौतम भन्छन्।

१८ औँ शताब्दीतिर जब वनस्पति प्रजनन् सुरु भयो, तब वर्णशंकर प्रजाति उत्पादन गर्न सम्भव भयो। त्यसपछि मात्र फल अलि ठूलो र बढी गुलियो हुन थाल्यो। फल्ने अवधि पनि बढाइयो। त्यस्ता विधिको बलमा बेरीको व्यवसायीकरण सुरु भयो।

‘हाम्रो जंगलमा पाइने ऐँसेलु पनि एकप्रकारको बेरी नै हो’ गौतमले भने, ‘खाँदा मिठो हुन्छ तर व्यावसायिक रुपमा खेती गर्दा फाइदा लिन सकिँदैन। बाटोमा कतै अलिकति बिक्री भए पनि व्यापक बिक्री गर्न सकिन्न।’

गौतम मौसमी र भौगोलिक विविधता भएको नेपालमा बेरीको राम्रो खेती हुने उनको भनाइ छ। सामान्य अवस्थामा नेपालको मौसमी अवस्था उष्ण हुनुपर्ने हो। तर, उचाइका कारण यहाँको मौसममा विविधता छ।

‘नेपालको मध्यपहाडी भागमा न बढी चिसो न बढी तातो छ। हिउँ पर्ने, महिनौँसम्म हिउँ जम्ने पनि हुँदैन,’ गौतमले भने, ‘पृथ्वीमा हिउँ पनि नपर्ने र धेरै गर्मी पनि नहुने ठाउँ खोज्ने हो भने सिमित स्थान मात्रै फेला पर्छ। त्यस्तो ठाउँ नेपालमा छ, जुन धेरै प्रकारका खेतीका लागि उपयुक्त हुन्छ।’

तर, उत्पादन बढाउन नयाँ प्रजातिको बिरुवा ल्याउनुपर्ने उनको भनाइ छ।

‘ककनीमा अहिले पनि खेती भइरहेको छ। त्यसलाई निरन्तरता दिन पनि सक्छौँ तर नयाँ भेराइटीको बिरुवा ल्याउँदा उत्पादन तीन गुणा बढी हुन्छ,’ उनले भने, ‘अहिले फल सानो हुने वा अमिलो हुने, रोग र किराहरुसँग लड्न नसक्ने जस्ता समस्या छन्। ककनीमा भएको वा पुरानो भेराइटीको खेती गरेर त्यति फाइदा लिन सकिँदैन। बढी फल्ने प्रजातिको ल्याउनुपर्छ।’

नेपालमा बागवानी क्षेत्रमा निकै कम अनुसन्धान भएको उनको भनाइ छ। अझ नेतृत्व गर्नेहरुमा अनुसन्धान गर्नुपर्छ भन्ने चेत नै नभएको उनको भनाइ छ। 

‘नेता तथा सरकारी अधिकारीहरु विकास विकास भन्छन्, तर अनुसन्धान गर्नुपर्छ भन्दा हाँस्छन्,’ उनले भने, ‘हामी अनुसन्धानको कुरा गर्दैनौँ तर विकासको कुरा गरिरहेका छौँ। यस्तो खेती, उस्तो खेतीदेखि अर्गानिक फार्मको कुरा भइरहेको छ। तर, जसरी डोजरले बाटो नबनाइ मोटर गुड्दैन त्यसरी अनुसन्धान नभई विकास अघि बढ्न सक्दैन।’ 

अनुसन्धानप्रति सम्बन्धित निकायले चासो नै नदिएको गुनासो उनले गरे।

‘अमेरिकामा विश्वविद्यालय, निजी क्षेत्र र किसान मिलेर समस्या समाधानका लागि अनुसन्धान गर्छन्। किसानहरुले युनियनमार्फत् लाखौँ डलर अनुसन्धानमा खर्च गरिरहेका हुन्छन्,’ गौतमले भने, ‘निजी, सार्वजनिक र विश्वविद्यालयको इच्छा मिलेपछि अनुसन्धान गर्न पनि सजिलो हुने भयो। तर नेपालमा त्यस प्रकारको प्रणालीको विकास नै हुनसकेको छैन।’
 

साउन ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .