ad ad

म्यागेजिन


बम डिस्पोज गर्न सिपालु यी महिला सैनिक (भिडिओ)

बम डिस्पोज गर्न सिपालु यी महिला सैनिक (भिडिओ)

उजिर कार्की
कात्तिक ११, २०७८ बिहिबार १७:३३, काठमाडौँ

त्यसबेला कञ्चनपुर महेन्द्रनगरकी जयन्ती अवस्थी दार्चुलामा पढाउँथिन्। उनी कराते पनि खेल्थिन्। ०६५ को पाँचौ राष्ट्रिय खेलकुदमा सहभागी भएर कातातर्फ उनले तेस्रो स्थान समेत हासिल गरेकी थिइन्।

तर, उनलाई जोखिमको काम गर्न मन पर्थ्यो। त्यसैले नेपाली सेनामा भर्ती भइन्। जहाँ उनले चाहेभन्दा बढ्ता जोखिमको जिम्मेवारी आइलाग्यो। उनी बम डिस्पोजल टोलीमा परिन्। 

नेपाली सेनाका सबै जिल्लामा बम डिस्पोजल टोली छन्। त्यो जनशक्ति उत्पादन गर्ने काम नेपाली सेनाको जडीबुटीमा रहेको एक्स्प्लोसिभ अर्डिनेन्स डिस्पोजल (ईओडी) युनिटले गर्छ। सोही युनिटकी एक प्रशिक्षक हुन् जयन्ती।

पहिले शिक्षकका रुपमा उनी विद्यार्थीलाई अक्षर चिन्न सिकाउँथिन्। अहिले सैनिकहरुलाई बम–बारुद झेल्न सिकाउँछिन्। 

जयन्ती अवस्थी

नेपालमा द्वन्द्व चर्किएको बेला ०५९ सालमा सेनाले ओईडीलाई अलग्गै युनिटका रुपमा स्थापना गरेको थियो। यो युनिटले सैनिकहरुलाई बम डिस्पोजलको तालिम दिने र दक्ष बनाउने ईओडीका निमित्त प्रमुख मेजर सन्देश कार्की बताउँछन्। 

उपत्यकामा कहीँ बम डिस्पोजको काम गर्नुपरे त्यो ईओडीले नै गर्छ। बाहिर हरेक जिल्लामा गण र गुल्ममा बम डिस्पोजल टोली हुन्छन्। तिनले भीआईपी, भीभीआईपीहरुको सवारीमा, कार्यक्रमस्थल र रुटमा सर्च गरेर सुरक्षित भए नभएको यकिन पनि गर्छन्। ईओडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने विस्फोटक पदार्थहरुको अवैध ओसारपसार रोकथाम र विमानमा तलासीको काम पनि गर्छ। 

जयन्ती ०६९ मा धनगढीबाट नेपाली सेनामा भर्ती भइन्। तालिम पुरा गरेपछि उनी इन्जिनियर पल्टनमा परिन्। यसअन्तर्गत ८ वटा बटालियन छन्। उनको पल्टन सुनसरीको धरानमा थियो। 

बम डिस्पोजल टोलीमा त्यसअघि पनि महिला सैनिकहरु थिए। सेनाले हरेक क्षेत्रमा महिला सहभागिता बढाउँदै लगेको थियो।

नेपाली सेनामा महिला भर्ती हुन थालेको दुई वर्षपछि यो युनिटमा पनि महिला सहभागिता सुरु भएको हो। 

जागिर सुरु गरेको चार वर्षपछि जयन्ती ०७३ सालमा बम डिस्पोजल टोलीमा परिन्। त्यसयता उनी ईओडीमा प्रशिक्षकका रुपमा कार्यरत छिन्। 

हाल देशभर ८० जना महिला सैनिकहरुले बम डिस्पोजको तालिम लिएका छन्। ईओडीमा मात्र अहिले नौ जना महिला कार्यरत छन्। यो युनिटमा दुई वटा डिस्पोजल टोली २४ सै घण्टा तयारी अवस्थामा हुन्छन्।

सेनाले द्वन्द्वको समयमा ब्यारेक तथा महत्वपूर्ण स्थानहरुमा बारुदी सुरुङ बिछ्याएको थियो। देशभरका ५३ स्थानमा सेनाले बारुदी सुरुङ बनाएको थियो। शान्ति स्थापनासँगै ती बारुदी सुरुङ हटाइयो। त्यो काममा पनि महिला सैनिकहरु खटिएका थिए। 

नेपाललाई बारुदी सुरुङमुक्त बनाउने अभियानमा खटिएकी थिइन्, अमलदार सम्झना कार्की।

युद्धकालमा लडाइँका कथा सुन्दै हुर्केकी सिन्धुपाल्चोककी सम्झनालाई युद्ध लड्ने रहर थियो। उनी सेनामा भर्ती हुन चाहन्थिन्। 

त्यतिबेला सेनाले प्राविधिकबाहेक महिलाहरुलाई भर्ना लिने गरेको थिएन। ०६० सालबाट सेनाले महिला भर्ती गर्न थाल्यो। तर, कलेज पढ्दै गरेकी सम्झनाको उमेर पुगेको थिएन। 

०६२ मंसिरमा तेस्रो ब्याचमा उनी सेनामा भर्ती भइन्। आफू सेनामा भिडिरहेको जानकारी परिवारलाई दिएकी थिइनन्। छनोट पुरा गर्न लागेपछि मात्र उनले घरमा सुनाइन्। तर, द्वन्द्वको समयमा उनी सेनामा भर्ती हुने कुरा परिवारले स्वीकार गरेन।

उनले ढिपी गरेर परिवारलाई आश्वस्त पारिन्। पहिले पनि महिलाहरु सेनामा भर्ना भइसकेको र आफूलाई केही नहुने भन्दै विश्वास दिलाइन्। तेस्रो ब्याचमा भर्ना भएका महिलाहरुलाई पहिलो पटक तालिमका लागि त्रिशुली लगियो। ६ महिना उनीहरुले त्यहाँ तालिम गरे। संयोगवश, उनीहरु पासआउट हुनु र शान्ति सम्झौता हुनु सँगसँगै जस्तो भयो। 

पासआउट भएपछि १४ नं. बाहिनी अन्तर्गत उनी ईओडी युनिटमा परिन्। इन्जिनियरिङसम्बन्धी युनिटहरु सो बाहिनीमा पर्थे। 

०६३ सालमा सेनाले आफ्नो सुरक्षाका लागि बिछ्याएका माइन हटाउने जनशक्ति तयार गर्यो। त्यही बेलाको तालिममा सम्झना पनि सहभागी भइन्। तालिमपछि उनीहरुलाई फिल्डमा पठाइयो। 

बम डिस्पोजलको काम निकै चुनौतीपूर्ण हुन्छ। सानो गल्तीले ज्यानै जान सक्छ। 

‘यो काम नै उच्च जोखिमको हो। त्यसैका लागि हामीले तालिम लिएका थियौँ,’ सम्झना भन्छिन्, ‘तालिममा सिकाएअनुसार गर्दै गयौँ, सुरुसुरुमा डर लागे पनि विस्तारै बम बारुदको बानी पर्दै गयो।’

सम्झना कार्की

जोखिम छ भन्दैमा त्यसबाट पछि हट्ने विचार कहिल्यै आएन उनलाई।

‘पाएको जिम्मेवारी जसरी पनि पुरा गर्नुपर्छ भन्ने मात्रै लागिरह्यो,’ उनी भन्छिन्। 

बारुदी सुरुङ हटाउन उनीसहितको युनिट पहिलो पटक डोटी पुग्यो। बुडर भन्ने ठाउँमा बिछ्याइएका विस्फोटक पदार्थ हटाउनु थियो। त्यहाँका सबै बम निस्क्रिय बनाउन साढे दुई महिना लाग्यो।

त्यसपछि उनी उदयपुर, गुल्मीलगायत आधा दर्जन ठाउँमा माइन हटाउने काममा खटिन्। 

उनीहरुले हटाउनुपर्ने माइनको सूची र अवस्थाको जानकारी पहिले नै गराइएको हुन्थ्यो। तर, जमिनमा भनेअनुसारकै अवस्थामा माइन छन् भनेर ढुक्क पर्ने स्थिति हुँदैनथ्यो। जसका कारण केही स्थानमा दुर्घटना पनि भएका थिए। स्याङ्जाको जालभञ्ज्याङमा माइन हटाउने क्रममा एक सैनिक घाइते भएका थिए।   

२०६७ जेठ ३१ गते ललितपुरको फुल्चोकीमा रहेको बारुदीसुरुङको काम सकिएसँगै तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नेपाललाई बारुदी सुरुङमुक्त देश घोषणा गरे। 

त्यसपछि पनि सम्झनाको ड्युटी ईओडीमै भयो। अहिले पनि कतै विस्फोटक पदार्थ फेला परे उनीहरुलाई खबर आउँछ। आवश्यक उपकरण लिएर डिस्पोजल टोली तत्काल घटनास्थलमा पुग्छ र आफ्नो काम सुरु गर्छ। सेनासँग अहिले विभिन्न देशले प्रयोग गर्ने डिस्पोजलका उपकरण छन्। यी सबै उपकरण चलाउन सम्झना माहिर छिन्।

त्यसबाहेक ईओडीमा नयाँ सैनिकका लागि तालिम सञ्चालन भइरहेको हुन्छ। सम्झना पनि उनीहरुलाई डिस्पोजलको तालिम दिन्छिन्। उनी ईओडी युनिटमा काम गर्न थालेको १० वर्ष भयो। त्यसअघिका ६ वर्ष अन्य युनिटमा रहँदा पनि उनले यहीसम्बन्धी काम गरिन्। 

बम डिस्पोजलको काममा महिला सैनिकहरु नेपालमा मात्र सीमित छैनन्। शान्ति सेनाका रुपमा द्वन्द्वग्रस्त विभिन्न मुलुकमा पुगेर महिला सैनिकहरुले बारुदी सुरुङ हटाएका छन्। 

नेपाली सेनाको शान्ति मिसनमध्ये माली सबैभन्दा जोखिमयुक्त मुलुकमा पर्छ। त्यहाँ पनि नेपाली महिला सैनिक कार्यरत छन्। यसअघि पाँच महिला सैनिक त्यहाँ खटिएका थिए। थप चार जना बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछन्। 

‘सेनामा जस्तो मापदण्ड पुरुषका लागि छ, महिलाका लागि पनि उस्तै हो। यो मापदण्ड पुरा गरेपछि उनीहरु फिल्डमा जान योग्य हुन्छन्। पुरुषभन्दा कुनै पनि काममा कमजोर छैनन्,’ मेजर कार्की भन्छन्।

मालीमा आईएस, अलकायदादेखि स्थानीय विभिन्न आतंकवादी समूह सक्रिय छन्। आत्माघाती विस्फोटका घटना पनि हुने गरेका छन्। 

मालीमा नेपालका एक सय ४० जना सैनिक कार्यरत छन्। थप जनशक्तिको रुपमा १६ जना पठाउन लागिएको हो। सोही टोलीमा जाँदैछिन् नवलपरासीकी उमा पुन। उनी कालीभजन गढी तनहुँमा कार्यरत छिन्। 

उनीसँगै जाने चार बम डिस्पोजल टोलीका सदस्यको जिम्मेवारी मालीमा पनि त्यही हुनेछ। सो टोलीले त्यहाँ आतंकवादीहरुले थापेका एम्बुसहरु सर्च गर्नुपर्छ। 

‘जोखिम त हुन्छ नै। तर, जोखिम छ भनेर नजाने कुरा पनि त भएन,’ उमा भन्छिन्। 

उमा पुन

ब्यारेकमा रासनलगायत अत्यावश्यक वस्तु आपूर्ति गर्दा उनीहरुले उनीहरुले सडक क्लियर गर्नुपर्छ। 

‘बाटोमा जहाँ जे पनि भेटिन सक्छ। त्यो हिसाबले आफू सतर्क हुनुपर्छ। तालिममा हामीलाई त्यही अनुसारले सिकाइएको छ,’ उमाले भनिन्, ‘खतरा हुन्छ। आफू सुरक्षित भएर काम गर्नुपर्छ।’

उमाले पनि काभ्रेको पाँचखालमा एक महिना र ईओडीमा एक महिनाको तालिम लिएकी छन्। 

मेजर सन्देश कार्की

डिटेक्टर लगायत उपकरणको प्रयोग, त्यहाँ हुने सक्ने सम्भावित खतरा र त्यसलाई कसरी निस्तेज पार्ने भन्ने उनले सिकिसकेकी छन्।

‘तालिममा सिकाएअनुसार गर्ने हो। गर्न सकिन्छ भन्ने विश्वास छ,’ उमा भन्छिन्।

भिडिओ :

फाेटाे/भिडिओ : विशाल कार्की, नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .