म्यागेजिन


मीन विश्वकर्माको कोभिड अनुभवः त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ

गुहार लगाए : डाक्टरसा'व बाँच्न आएको हुँ, मलाई बचाउनुस्
मीन विश्वकर्माको कोभिड अनुभवः त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा। तस्बिर : विक्रम राई/नेपालखबर

गतवर्ष कात्तिकमा कांग्रेस नेता मीनबहादुर विश्वकर्माले कोभिड पोजिटिभ आएका साथीहरुलाई धमाधम निको भइसकेको देखेका थिए। त्यो देख्दा उनलाई पनि लाग्थ्यो– कोभिड सामान्य त हो नि, रुघाखोकी हो, केही दिनमा निको भइहाल्छ। 

तर जब उनलाई कोभिड संक्रमण भएर ३६ दिन अस्पताल बस्नुपर्यो र भेन्टिलेटरबाट जीवन फर्कियो, तब उनको सोचाइ पुरै परिवर्तन भएको छ। 

‘म आफैंलाई सामान्य हो, रुघाखोकी मात्रै हो निको हुन्छ लागेको थियो। नेपालीहरुको प्रतिरक्षा प्रणाली पनि राम्रो छजस्तो लाग्थ्यो,’ कोरोनाको तेस्रो लहर सुरु हुँदै गर्दा उनले अनुभव सुनाए, ‘सामान्य हेलचेक्र्याइँले ठूलो दुष्परिणाम भोगिँदो रहेछ। ३६ दिने अस्पताल बसाइपछि म पुनर्जन्म पाएर फर्किएँ।’ 

त्यसबेला धनुषा र रौतहटमा दलित युवाको हिरासतमा मृत्यु भएको खबर आएको थियो। उनी संसदीय समूहसहित उक्त घटनाको अनुसन्धानका लागि मधेश गएका थिए। तीन दिन बिताएर घर फिरे। घरमा जेठो भिनाजु सिकिस्त बिरामी थिए। उनलाई छुनभन्दा अगाडि परीक्षण गराए। अर्कोदिन (२०७७ कात्तिक १) आएको नतिजामा उनलाई पोजिटिभ देखियो। 

लक्षण केही थिएन। तर ५२ वर्षे पूर्वमन्त्रीलाई डाक्टरले जटिल अवस्था हुनसक्छ, होसियारी अपनाउनुहोला भनेका थिए। 

घरमा एट्याच्ड बाथरुम भएको कोठा थियो। उनी घरमै आइसोलेसनमा बसे। चिकित्सकहरूसँग फोनबाटै सम्पर्कमा थिए। 

‘संक्रमण भएको ८–९ दिनमा सिकिस्त बनाउने सम्भावना हुन्छ। १४ दिनपछि त निको भएरै जान्छ,’ चिकित्सकहरुले उनलाई भन्थे। 

कोरोना पुष्टि भएको ७ दिनपछि उनलाई एक्कासि सास फेर्न गाह्रो हुन थाल्यो। निमोनिया भइसकेछ। राति छोरीलाई भनेर अक्सिजन ल्याएर लगाइयो।  

झन् गाह्रो हुन थालेपछि वीर अस्पताल जाने निर्णय गरे र क्याबिन मागे। तर, ८ गते क्याबिन खाली छैन, ९ गते आउनुहोला भन्ने जवाफ आयो। उनी पनि ९ गते नै एम्बुलेन्स चढेर अस्पताल पुगे। 

वीरमा एक्सरे गरेपछि संक्रमण निकै बढिसकेको पत्ता लाग्यो। सिटी स्क्यान गर्दा उनलाई तुरुन्तै आईसीयूमै भर्ना गर्नुपर्ने डाक्टरले सुझाए। 

जनरल आईसीयू थियो। दस बेडको कोठामा उनको नम्बर ७ थियो। त्यहाँको अनुभव भने उनका लागि एकदमै खराब रह्यो। 

‘दिसापिसाव लाग्दा जाने ठाउँ असहज, नर्सहरु पनि डराउने, सजिलै सेवा नदिने। डाक्टर नजिक नपरेर बिरामीहरु निरुत्साहित भएरै मर्छन् भन्ने सुनेको मात्रै थिएँ, त्यो मैले भोगेँ,’ उनले वीर अस्पतालको अस्तव्यवस्तता सुनाए, ‘मलाई सास फेर्न एकदमै गाह्रो भएको थियो। क्रोम मास्क फुस्किँदा कसैले लगाइदिएन। डाक्टरहरु पनि काँचबाहिरबाटै हेरेर फर्किन्थे। कोभिडको बिरामीलाई पौष्टिक आहारा खुवाउनुपर्छ भन्थे तर त्यहाँको खाना निकै सामान्य थियो। कैदीलाई जस्तो व्यवहार हुन्थ्यो। मलाई त्यो देख्दा एकदमै दिक्क लाग्यो।’  

उनीसँग आफैँ उठ्ने क्षमता थिएन। कोही नआएपछि उनले गरे– ‘अब म मर्दैछु।’

त्यसपछि उनले आफूलाई फर्केर हेर्न थाले। उनको दिमाग प्रश्नहरु उब्जिन थाले– जीवनमा मैले के के गरेँ? सन्तुष्ट छु कि छुइनँ? 

‘सामान्य परिवारमा जन्मिएको मान्छे। युनिभर्सिटी डिग्री प्राप्त गरिएको छ। मास्टर हुने लक्ष्य लिएको मान्छे, मन्त्री भइसकेँ। केन्द्रीय कमिटीमा दुई कार्यकाल बिताइसकेको थिएँ। सांसद छु। परिवारमा कहिले झगडा गरिनँ। छोराछोरी छन्। दुवैले उच्च शिक्षा हासिल गरेका छन,’ उनले भने, ‘यत्तिको मान्छेले धर्तीबाट विदा लिन केही आपत्ति छैन भन्ने आत्मबोध भयो।’

उनले आफ्नो शव वराहक्षेत्र लैजान श्रीमतीलाई भन्ने योजना पनि बनाए। किनकि आमाबुबाको अन्त्येष्टि त्यहीँ भएको थियो।

भिडिओ 

फेरि सोचे, उनी कोभिड पोजिटिभ थिए। त्यसबेला कोभिड पोजिटिभको शव सेनाले आफन्तलाई नदिई आफैँ व्यवस्थापन गथ्र्यो। त्यसो हुँदा श्रीमतीसँग शव वराहक्षेत्र लगिदिन भन्नु पनि व्यर्थ थियो। बरु, त्यसले श्रीमतीलाई उनको अन्तिम इच्छा पुरा गर्न नपाएको पश्चाताप जिन्दगीभर हुने ठानेर केही नभन्ने निर्णयमा पुगे।

‘मेरो बुढाको अन्तिम इच्छा मैले पूरा गर्न सकिनँ भनेर जिन्दगीभर उनलाई पछुतो हुन्छ भनेर मैले भनिनँ,’ उनी सम्झन्छन्।
 
तैपनि श्रीमतीलाई फोन गरेको बेला उनको मुखबाट हत्त न पत्त मुखबाट निस्कियो, ‘मलाई यो अस्पतालबाट निकाल। यहाँ म बसेँ भने आज राति पनि म बाँच्दिनँ। मलाई आज रातभरि नै अर्को अस्पताल लैजानू। अस्पताल खाली छैनन् रे। सक्छौ, तिमी गर्नु सक्दिनौ, शेरबहादुर (देउवा) दाइलाई भन्नू।’

उनले यति भन्न नपाउँदै श्रीमतीले भनिन्, ‘सबै मिलाइसकेको छु। कति आत्तिएको, नआत्तिनुस्।’

बेलुका १० बजेसम्म कोही लिन नआउँदा उनी झन् आत्तिए।

‘बेलुका १० बजेसम्ममा म मर्छु भन्ने महसुस भइसकेको थियो। लत्तो छाडेर बसेको थिएँ,’ उनी भन्छन्,  ‘घरमा पनि भनि हालेँ। अब भइहाल्यो भनेर मर्छु भनेर मानसिक रुपमा तयार भएर बसेको थिएँ।’

त्यहीबेला एक जना सेतो पीपीई लगाएकी युवती ढोकाअगाडि आएर उभिएर भनिन्, ‘अंकल उठ्नु, अब ग्रान्डी जाने।’ 

मनमा अनेक कुरा खेलाइरहेका मीनलाई अरु कसैलाई भनेको होला। उनी चुपचाप बसे।

दोस्रोपटक पनि ती नर्सले भनिन्, ‘अंकल उठ्नु न, तपाईंलाई भनेको। मलाई चिन्नुभएन? म मुना,’ नर्सले भनिन्। 

यसपटक भने उनको चेतनाले काम गर्यो। मुना ग्रान्डी अस्पतालमा काम गर्ने उनले चिनेकी नर्स थिइन्। उनी जुरुक्क उठे। तर, त्यतिबेलै वीरकी एक नर्स भित्र पसिन् र ‘के गरेको!’ भन्दै कराउन थालिन्।

उनले अर्को अस्पताल जाने बताउँदा पनि नर्सले थर्काइन्, ‘तपाईंले भनेर हुन्छ? चुपचाप बस्नुस्।’ 

उनले नर्स मुनालाई पनि बाहिर जान अह्राइन्। 

त्यत्तिकैमा वीरका तत्कालीन निर्देशक केदार सेञ्चुरी भित्र पसे र सबै मिलिसकेको भन्दै पठाइदिन भने। 

निर्देशकले त्यति भनेपछि ह्विलचेयरमा राखेर उनलाई एम्बुलेन्समा राखियो। नर्सले चालकलाई चाँडो एम्बुलेन्स कुदाउन भनिन्।

‘दसैंको टीकाको दिन उसै त सडक खाली हुन्छ। अझै १० बजेपछिको सुनसान सडकमा एम्बुलेन्स कुदाउन नर्सले अनुरोध गर्नुले मेरो अवस्था कस्तो क्रिटिकल थियो होला सहजै अनुमान लगाउन सकिन्छ,’ उनी भन्छन्।

ग्राण्डीमा उनलाई सिधै आईसीयूमा लगियो। एक जना डाक्टर उनीसँग बोल्न खोज्दै नजिक आए। तिनै डाक्टरसँग उनले गुहार मागे, ‘डाक्टरसा'प म बाँच्न आएको हुँ। मलाई बचाउनुस्।’

कात्तिक ११ देखि २१ सम्म उनले भेन्टिलेटरमा बिताए। अनेक औषधोपचार भए। कात्तिक २२ गतेदेखि बल्ल उनको अवस्थामा सुधार आयो। तैपनि उनी चिकित्सकले बोलेको कुरा बुझ्थे मात्रै, फर्काउन सक्दैनथे। 

२६ गते डाक्टरले कस्तो छ भनेर सोध्दा बल्ल उनले जवाफ फर्काए, ‘डाक्टर साप अब म बाँच्छु।’ भेन्टिलेटरमा पुगेको १५ दिनपछि उनको बोली फुटेको थियो। 

‘लापरबाही गर्दागर्दै पोजिटिभ भयो। कोभिडलाई हल्का ठानेर म सार्वजनिक ठाउँमा सजिलै हिँडे। पोजिटिभ देखिएपछि सामान्य हो भनेर हेपेर बसेँ,’ उनी भन्छन्, ‘म बालबाल बचेँ। त्यहाँका डाक्टर र नर्सले मलाई पुनर्जन्म दिलाए।’ 

मृत्युको मुखमा पुगेर भएको बोध
उनी त्यसअघि पनि दुईपल्ट मृत्युको मुखबाट बाँचेर फर्किएका छन्। 

२०५४ सालमा मोरङको पथरीमा उनी चढेको मोटरसाइकल गाईसँग ठोक्किएको थियो। उनको शरीरका अधिकांश छाला बाँकी थिएन। उनको मृत्यु भइसकेको भन्ठानेर मान्छेहरु नजिक समेत जान डराएका थिए। डाक्टरले एम्बुलेन्स चाहिने हो कि शववाहन भनेर सोध्दै गर्दा उनको होस फर्केको थियो। त्यसबेला लामो उपचारपछि उनी निको भए। 

त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी ओलीको नेतृत्वमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने भन्दै उनी र्‍याफ्टिङका लागि त्रिशुली पुगेका थिए। ढुंगामा डुंगा ठोक्किदा उनी नदीमा खसे। ७ मिनेट पानीमा बगिरहे। घरी पानीमा डुब्थे। घरी पानीले माथि निकाल्थ्यो। हेलमेट र ज्याकेट भने फुस्किएको थिएन। 

‘ज्योतिषले पनि आगो र पानीबाट जोगिनु भनेका थिए। अब एक मिनेट जतिमा मलाई रेस्क्यु गर्न कोही आएन भने म मर्छु भन्ने ठानिसकेको थिएँ,’ उनी सम्झन्छन्, ‘लगत्तै सानो रेस्क्यु डुंगा लिएर आए र हात समातेर पानीमाथि निकालेर मलाई जोगाए।’ 

कोभिडका कारण उनी तेस्रोपटक मृत्युको मुखबाट जोगिए। 

यसले उनलाई जीवनप्रति गराएको बोध हो– जीवन अस्थायी छ र मृत्यु स्थायी। अस्थायी जीवनसँग संघर्ष गर्नुपर्छ भने स्थायी जीवनसँग दोस्ती गर्नुपर्छ। 

‘अस्थायीसँग संघर्ष गर्ने हो। स्थायीसँग दोस्ती गर्ने हो। जीवन अस्थायी छ, संघर्ष गर। मृत्यु स्थायी छ दोस्ती गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले वीर अस्पतालको बेड नम्बर ७ बाट आफ्नो मृत्युको बारेमा विश्लेषण गर्दैगर्दा मलाई कुनै अप्ठेरो लागेन।’

अस्पतालमा देखेका नर्सका पीडा
नर्सहरु अस्पतालमा उनको सेवामा १२ घण्टा खटिन्थे। ३६ दिन बस्दा उनलाई ३० नर्सले हेरे। होसमा आएपछि नर्सहरुसँग उनको भलाकुसारी हुन्थ्यो। नर्सहरुले तलब एकदमै थोरै भएको गुनासो पोख्थे। 

उनीहरुको १८–२२ हजार तलब रहेछ। उनी अस्पतालमा दिनको १ लाख रुपैयाँ तिरिरहेका थिए। उनलाई बचाउन १२ घण्टा घट्ने नर्सको भागमा १ हजार पनि नपर्ने रहेछ। 

‘यसले मलाई साह्रै पीडा भयो। नर्सिङ सर्भिस भनेर अस्पतालले मबाट दैनिक १० हजार चार्ज गरेको थियो। उनीहरु भने थोरै पारिश्रमिकमा दिनरात सेवा दिन बाध्य पारिएका थिए,’ उनले सुनाए, ‘नर्सहरु खुसी भए भने बिरामीको जीवन राम्रो हुनेरैछ भन्ने लाग्यो। निको भएपछि मैले संसदमा थरथर काम्दै उनीहरुको मुद्दा उठाएँ।’ 

उनले नर्सको न्यूनतम पारिश्रमिक स्टाफ नर्सका लागि नासु सरहको र बीएस्सी नर्सका लागि अधिकृत सरह हुनुपर्ने कुरा उठाएका थिए। तत्कालीन स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले कार्यान्वयन गर्छु भन्ने बचन समेत दिए। तर उनी मन्त्रीबाट हटेसँगै त्यो कुरा अहिले सेलाएको छ। आगामी दिनमा कार्यान्वयनका लागि आफू कटिबद्ध भएर लाग्ने विश्वकर्माको बाचा छ। 

अस्पतालबाट बाहिरिँदै गर्दा अस्पतालप्रति बिरामीको धारणा लेख्न पाइन्थ्यो, फर्कंदा उनले लेखे, ‘बिरामीको ज्यान जोगाउन डाक्टरको भन्दा नर्सको भूमिका ज्यादा हुन्छ।’

उनको स्थानमा अरु भएको भए?
उनको स्थानमा सर्वसाधारण भएको भए बाँच्न सम्भव थिएन जस्तो उनलाई लाग्छ। त्यसैले स्वास्थ्य र शिक्षालाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने उनी बताउँछन्। 

‘वीर अस्पतालमा मेरो स्थानमा अरु सामान्य नागरिक भएको भए बाँच्दैनथ्यो होला,’ उनी भन्छन्, ‘नेपालमा डाक्टर, नर्सको सुविधामा ध्यान दिन्छौँ। भवनमा ध्यान दिन्छौँ। तर व्यवस्थापनमा ध्यान नदिँदा उपचार सेवा पाउन गएका बिरामीले उल्टै सास्ती भोगिरहनुपरेको छ। सरकारले अस्पतालहरुमा संरचनामा भन्दा व्यवस्थापकीय पाटोमा ध्यान पुर्याउनै पर्छ।’

ग्रान्डीमा उनको उपचारमा खटिएका चिकित्सकहरु तिनै थिए, जो वीर र टिचिङजस्ता सरकारी अस्पतालमा समेत काम गर्थे। 

उनले एकदिन ती डाक्टरलाई सोधे, ‘मलाई वीरमै राखेर यत्तिको उपचार गरे हुन्थेन?’ 

डाक्टरको जवाफ थियो, ‘उपचार उहाँ र यहाँ एउटै हो। उपकरण, औषधि एउटै हुन्। तर व्यवस्थापन,  सुविधा फरक छ। त्यही भएर तपाईंलाई यहाँ ल्याएर जोगाएको हो।’

पुस ३०, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .