ad ad

म्यागेजिन


पहिलो ‘जनजाति सेनापति’ बन्ने सनकमा छत्रमानले मेटाउन खोजेका थिए अभिमानसिंहको इतिहास

पहिलो ‘जनजाति सेनापति’ बन्ने सनकमा छत्रमानले मेटाउन खोजेका थिए अभिमानसिंहको इतिहास

सैनिक प्रदर्शनीस्थलमा राखिएको अभिमानसिंह राना मगर (बीच), माथवरसिंह थापा र जङ्गबहादुरको तस्बिर


सीताराम बराल
फागुन १७, २०७८ मंगलबार १३:१४, काठमाडौँ

प्रधानसेनापतिको जिम्मेवारी पाएपछि अक्सर सबैजसो सेनाप्रमुखहरु छाउनी (स्वयम्भू) स्थित संग्रहालयमा पुग्छन्, त्यहाँ सुरक्षित राखिएका सैनिक इतिहाससँग सम्बन्धित विषय–वस्तुहरु अवलोकन गर्छन्। 

छत्रमानसिंह गुरुङ पनि २५ भदौ २०६६ मा प्रधानसेनापतिको जिम्मेवारी पाएको केही दिनपछि छाउनीस्थित सैनिक संग्रहालय पुगे। संग्रहालयको अध्ययन गरे। 

आफ्ना पूर्ववर्तीहरुले नगरेको एउटा काम त्यसदिन तत्कालीन प्रधानसेनापति गुरुङले गरे। त्यो हो, संग्रहालयको भित्तामा झुण्ड्याइएको प्रधानसेनापति जनरल अभिमानसिंह राना मगर (विसं १९०२–३) को तस्बिर निकाल्न लगाए। 

संग्रहालयमा जनरल अभिमानसिंहको तस्बिर नेपाली सेनाको स्थापना भएपछि सेना प्रमुख भएका व्यक्तिहरुको लहरमा थियो। अभिमानसिंहको तस्बिर अगाडि उनीअघिका प्रधानसेनापति (तथा प्रधानमन्त्री) माथवरसिंह थापाको तस्बिर थियो भने पछाडि कोतपर्वमार्फत् शासन हत्याएका जंगबहादुरको। 

गुरुङ प्रधानसेनापति रहुञ्जेल रानामगरको तस्बिरले नेपाली सेनाको सैनिक संग्रहालयमा स्थान पाएन। प्रधानसेनापति गुरुङले आदेश दिएपछि हटाइएको तस्बिर उनकै कार्यकालमा ल्याएर झुण्ड्याउने कसैको हिम्मत हुने कुरा पनि भएन।  

अभिमानसिंह रानामगर नेपाली सेनाको प्रधानसेनापति थिएनन् भन्ने गुरुङको ‘व्यक्तिगत निष्कर्ष’ थियो। यसै आधारमा उनले सैनिक संग्रहालयमा झुण्ड्याइएका पूर्वप्रधानसेनापतिहरुको लहरबाट जनरल अभिमानसिंह रानामगरको तस्बिर हटाउन लगाएका थिए।

१ सय ६३ वर्षअघि (२०६६ को हिसाबअनुसार) को कोतपर्वमा ज्यान गुमाएका अभिमानसिंहलाई गणतन्त्र नेपालका दोस्रा प्रधानसेनापति गुरुङले प्रधानसेनापति मान्न अस्वीकार गरे पनि जङ्गीअड्डाले उनलाई पूर्ववतरुपमा नेपाली सेनाको प्रधानसेनापति मान्न थालेको छ।   

यसको प्रमाण सेना दिवसको सन्दर्भमा १४ फागुनदेखि जंगीअड्डा परिसरमा सुरु भएको ‘बृहत् सैनिक प्रदर्शनी’ मा राखिएको अभिमानसिंहको तस्बिर हो। प्रदर्शनीमा लहरै राखिएका ‘आर्मी लिडरसिप’ (सेना प्रमुख) हरुको तस्बिरमा जनरल अभिमानसिंहलाई नेपाली सेनाको ‘कमान्डर–इन–चिफ’ (प्रधानसेनापति) को रुपमा परिचय दिइएको छ। 

‘पछि अर्काे कुनै तथ्यले अभिमानसिंह रानामगर प्रधानसेनापति नभएको पुष्टि भयो भने त्यो छुट्टै कुरा हो,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवाल भन्छन्, ‘अहिलेसम्मका तथ्यका आधारमा उहाँ नेपाली सेनाको प्रधानसेनापति हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ। त्यसैका आधारमा उहाँको तस्बिर प्रदर्शनी स्थलमा कमान्डर–इन–चिफहरुको लहरमा राखिएको हो।’  

‘पहिलो जनरल’ अर्थात् प्रधानसेनापति
कोतपर्वअघिसम्म जनरल अभिमानसिंह राजदरबारका शक्तिशाली भारदार थिए। त्यसैले, राजा राजेन्द्र र रानी राज्यलक्ष्मीले प्रधानमन्त्रीसमेत रहेका माथवरसिंह थापाको हत्या उनकै भान्जा जंगबहादुर कुँवरलाई अघि सारेर गराएपछि जनरल अभिमानसिंह रानामगरलाई सेनाप्रमुख बनाइएको थियो।

इतिहास हेर्दा हत्या हुनुअघिसम्म माथवरसिंह थापा प्रधानमन्त्रीका अलावा नेपाली सेनाको प्रमुख अर्थात् ‘कमान्डर–इन–चिफ’ पनि रहेको देखिन्छ। २०६५ मा जङ्गी अड्डाद्वारा प्रकाशित ‘नेपाली सेनाको इतिहास (भाग २)’ मा उल्लेख भएअनुसार थापाको सैनिक जिम्मेवारी नेपाली सेनाको ‘कम्यान्डर–इन–चिफ’ रहेको उल्लेख छ।

हाल सो दर्जालाई नेपालको सन्दर्भमा ‘प्रधानसेनापति’ भन्ने गरिएको छ। कोतपर्व अघिसम्म भने सेनाको नेतृत्व गर्ने सैनिक अधिकृतमध्ये कसैलाई काजी,  कसैलाई मूलकाजी, त कसैलाई कम्यान्डर–इन–चिफ भन्ने गरिएको थियो। 

प्रधानमन्त्री एवं प्रधानसेनापति माथवरसिंह थापाको हत्यापछि मुख्तियार (सरकार प्रमुख) को जिम्मेवारी चौतरिया फत्यजङ शाहले पाए। उनको मातहत जनरल अभिमानसिंह रानामगर, जनरल गगनसिंह भण्डारी र जनरल जंगबहादुर कुँवरसहितको तीन सदस्यीय मन्त्रिमण्डल बन्यो। 

यसमध्ये राजा राजेन्द्र र युवराज सुरेन्द्रनिकट रहेका जनरल अभिमानसिंह रानामगरलाई तीन पल्टनको तैनाथीसहित ‘पहिलो जनरल’ को वरीयतामा राखिएको थियो। इतिहासकार पुरुषोत्तम शमशेर राणाद्वारा लिखित ‘श्री ३ हरुको तथ्यवृत्तान्त (भाग १)’ मा उल्लेख भएअनुसार जनरल रानालाई पूर्व–पश्चिम र तराई–मधेसको रेखदेख गर्ने जिम्मेवारी पनि दिइएको थियो।   

राजा राजेन्द्र भए पनि शासनमा उनकी राज्यलक्ष्मीको दबदबा थियो। त्यसैले, रानी राज्यलक्ष्मीनिकट जनरल गगनसिंह भण्डारीले ‘दोस्रो जनरल’ को जिम्मेवारीसहित सात पल्टनको तैनाथी पाए। सात पल्टनको तैनाथी पाएकाले मन्त्रिमण्डलमा उनी सबैभन्दा शक्तिशाली बने। यही शक्ति नै उनको हत्या र कोतपर्वको कारण बन्यो।

मामा माथवरसिंह थापाको हत्याअघिसम्म नेपाली सेनाको कप्तानमात्र रहेका जंगबहादुर त्यसपछि जनरलमा पदोन्नत भए। चौतरिया फत्तेजङ शाहको मन्त्रिमण्डलमा उनलाई ‘तेस्रो जनरल’ को जिम्मेवारीसहित तीन वटा पल्टनको तैनाथी दिइयो। 

जनरल भण्डारीले सात वटा पल्टनको तैनाथी पाए पनि तीन वटा पल्टनको मात्र तैनाथी पाएका अभिमानसिंह ‘पहिलो जनरल’ थिए। जानकारहरुका भनाइमा सेनाभित्रको वरीयतामा जो सबैभन्दा माथि हुन्थ्यो, नेपाली सेनाको समग्र नेतृत्व उसैले गर्थ्यो। 

‘सैनिक वरीयतामा अभिमानसिंह रानामगर नै सबैभन्दा अगाडि थिए, त्यसैले उनलाई पहिलो जनरल मानिएको थियो,’ सैनिक इतिहासमा विद्यावारिधी गरेका नेपाली सेनाका पूर्व सहायकरथी डा. प्रेमसिंह बस्न्यात भन्छन्, ‘अभिमानसिंह ‘पहिलो जनरल’ भएकाले माथवरसिंह थापापछिका प्रधानसेनापति उनै हुन्।’  

तीन दर्जन भाइ–भारदारहरु मारिएको कोतपर्व (२ असोज १९०३) मा सबैभन्दा पहिले मारिनेमा प्रधानसेनापति अभिमानसिंह रानामगर नै थिए। जंगबहादुरले आफू मातहतमा तीन पल्टनलाई कोतवरिपरि ल्याएपछि आफू मातहतका पल्टनलाई पनि कोतभित्र लैजान खोज्दा उनको हत्या भएको थियो।  

जनरल अभिमानसिंह माथवरसिंहपछिका कमान्डर–इन–चिफ थिए भन्ने पहिलो प्रमाण हो यो। त्यस्तो, दोस्रो प्रमाण हो, तत्कालीन ब्रिटिस रेजिडेन्सी (राजदूतावास) का कार्यवाहक रेजिडेन्ट (राजदूत) ओट्टोलेले आफ्नो सरकारलाई गरेको पत्राचार।

कोतको स्केच (हेनरी ओल्डफिल्डको स्केचेज फ्रम नेपाल)

२ असोज (१९०३) को कोतपर्वबारे जानकारी दिन आफ्नो सरकारलाई गरेको पत्राचारमा ओट्टोलेले जनरल अभिमानसिंहलाई कमान्डर–इन–चिफ (प्रधानसेनापति) रहेको उल्लेख गरेका छन्। यिनै प्रमाणहरुको आधारमा विसं २०५० को दशकको मध्यताका स्थापित सैनिक संग्रहालयमा ‘कमान्डर–इन–चिफ’ को रुपमा राखिएको जनरल अभिमानसिंहको तस्बिरलाई गुरुङ प्रधानसेनापति (२०६६–२०६९) हुनुअघिसम्म स्थान दिइँदै आएको थियो।  

आफ्नो नाम लेखाउने छत्रमानको धोको 
विसं २०४९ मा ‘नेपाली सेनाको इतिहास’ प्रकाशित गरेको १६ वर्षपछि रुक्माङ्गत कटवाल प्रधानसेनापति रहेका बेला विसं २०६५ मा जङ्गीअड्डाले दोस्रो सैनिक इतिहास ‘नेपाली सेनाको इतिहास (भाग २)’ प्रकाशित गर्यो। कटवाललगत्तै प्रधानसेनापति बनेका गुरुङले सो पुस्तक प्रकाशित भएको ४ वर्षपछि नै फेरि अर्काे ‘नेपालको सैनिक इतिहास (२०६९)’ जङ्गीअड्डाबाट प्रकाशित गराए। 

आफ्नो तीन वर्षे कार्यकालमा हतार–हतारमा इतिहासकारहरुलाई लेख्न लगाएर कार्यकालको अन्तिम वर्ष (२०६९) मा तेस्रो सैनिक इतिहास तत्कालीन प्रधानसेनापति गुरुङले किन प्रकाशित गर्न लगाएका रहेछन् भन्ने कुरा सो पुस्तकका अन्तिम पाना पल्टाइयो भने धेरथोर अनुमान गर्न सकिन्छ। 

पुस्तकमा झण्डै तीन दर्जन पृष्ठ खर्चेर प्रधानसेनापति गुरुङको तीन वर्षे कार्यकालका उपलब्धिहरुको चर्चा गरिएको छ। ‘नेपालको सैनिक इतिहास’ मा छुट्टै लामो खण्डमा बहालवाला प्रधानसेनापतिको कार्यकालका उपलब्धिहरुको चर्चा गरिनु आफैँमा अमिल्दो कुरा हो। खासमा उनी प्रशंसाका कति भोका थिए भन्ने कुरा आफू बहालवाला प्रधानसेनापति रहँदा प्रकाशित इतिहासको पुस्तकमा आफ्नो कार्यकालको चर्चा गरिएबाट अनुमान लगाउन सकिन्छ। 

जानकारहरुका भनाइमा सैनिक संग्रहालयमा राखिएको कमान्डर–इन–चिफ जनरल अभिमानसिंह रानामगरको तस्बिर प्रधानसेनापति गुरुङले हटाउन आदेश दिनुको कारण थियो, ‘जनजाति समुदायको पहिलो प्रधानसेनापति’ को खिताब आफैँ भिर्ने प्रयास।

‘अभिमानसिंह मगर समुदायका थिए। नेपाल एकीकरणकालदेखि नै नेपाली सेनामा उनका पुर्खाहरुको योगदान थियो। उनको तस्बिर सैनिक संग्रहालयमा रहँदा आफू (छत्रमानसिंह गुरुङ) लाई जनजाति समुदायको पहिलो प्रधानसेनापति हुँ भन्न अप्ठेरो पर्ने भयो,’ डा. बस्न्यातले भने, ‘त्यसैले, गुरुङले प्रधानसेनापति बन्नासाथ सैनिक संग्रहालय पुगेर अभिमानसिंह रानामगरको तस्बिर हटाउने आदेश दिएका थिए।’

नेपाली सेनाका प्रधानसेनापतिहरु

डा. बस्न्यातका भनाइमा, प्रधानसेनापति गुरुङको आदेशपछि जनरल अभिमानसिंह रानामगरको मात्र होइन, नेपाल एकीकरणमा योगदान पुर्याएका काजी नरसिंह गुरुङलगायत आधा दर्जन योद्धाहरुको तस्बिर पनि संग्रहालयबाट हटाइएको थियो। 

‘प्राज्ञिक क्षेत्रको इतिहासमा नेपाली सेनाका प्रधानसेनापतिले जबर्जस्ती अतिक्रमण गरेर अभिमानसिंहको अपमान भएको छ,’ २०७४ मा प्रकाशित आफ्नो पुस्तक ‘नेपाली सेनाका परमाधिपति, अतिरथी तथा प्रधानसेनापतिहरु’ मा डा. बस्न्यातले लेखेका छन्, ‘यसैगरी छत्रमानले लेखाएको सैनिक इतिहास (२०६९) मा समेत उन (अभिमानसिंह) को नाम–निसाना छैन।’

गुरुङ प्रधानसेनापति छँदा जङ्गीअड्डाभित्र उनको यस्तो हर्कतविरुद्ध कसैले कुरा उठाउन सक्ने स्थिति थिएन। तर, उनी प्रधानसेनापतिबाट हटेपछि उनको हर्कतविरुद्ध कुरा उठ्न थाल्यो। र, राजेन्द्र क्षेत्री प्रधानसेनापति छँदा छत्रमानको कार्यकालमा हटाइएका जनरल अभिमानसिंह रानामगर लगायत एकीकरणकालीन योद्धाहरुका तस्बिरहरु संग्रहालयमा पुनर्स्थापित भए।   

इतिहासकारहरुले प्रश्न उठाएपछि प्रधानसेनापति क्षेत्रीले जनरल अभिमानसिंह रानालगायत अन्य योद्धाहरुको तस्बिर संग्रहालयमा पुनर्स्थापित गर्न निर्देशन दिएका थिए।

पूर्व प्रधानसेनापतिद्वय छत्रमानसिंह गुरुङ र राजेन्द्र क्षेत्री

‘सैनिक इतिहासकारहरुले पहिले हटाइएका केही तस्बिर तथ्य–प्रमाणका आधारमा संग्रहालयमा पुनर्स्थापित गर्नुपर्ने सुझाव दिनुभएको थियो। त्यसै आधारमा मैले ‘तथ्य–प्रमाणका आधारमा इतिहासको समीक्षा गरेर आवश्यक परे तस्बिरहरु पुनर्स्थापित गर्नुहोला भन्ने निर्देशन दिएको थिएँ,’ तत्कालीन प्रधानसेनापति क्षेत्री भन्छन्, ‘त्यसपछि फेरि ऐतिहासिक प्रमाणहरुको समीक्षा गरेर केही तस्बिर पुनर्स्थापित भए।’  

प्रधानसेनापति क्षेत्रीको निर्देशनपछि संग्रहालयमा पुनर्स्थापित भएको पहिलो तस्बिर जनरल अभिमानसिंह रानामगरकै थियो। अन्य तस्बिरहरुसँगै जनरल अभिमानसिंहको तस्बिर अहिले पनि देख्न सकिन्छ। 

त्यसबाहेक टुँडिखेलमा आयोजित ‘बृहत् सैनिक प्रदर्शनीस्थल’ मा जनरल अभिमानसिंह रानामगरको तस्बिरलाई ‘कमान्डर–इन–चिफ’ परिचयसहित राखेर व्यक्तिको सनकका आधारमा इतिहास मेटाउन खोजिएको प्रयासलाई जङ्गीअड्डाले सच्याएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .