‘जीवन गुलाबका फूलहरूको ओछ्यान होइन,’ पहिलो पटक यो वाक्य सुन्दा मिनेन्द्र रिजाल निकै प्रभावित भएका थिए। जुन उनकै सहपाठी अशोक राईले उदृत गर्दै लेखेका थिए।
विराटनगरको जनता हाइस्कुलमा सँगै पढेका मिनेन्द्र र अशोकबीच निकै गहिरो मित्रता थियो। उनीहरुलाई एकअर्कासँग छुट्टिनै मन लाग्दैनथ्यो। त्यसैले धेरैजसो सँगै हुन्थे। कहिले मिनेन्द्र अशोककहाँ जान्थे, कहिले अशोक मिनेन्द्रकहाँ।
अशोक निकै राम्रा निबन्ध र साथीलाई चिठी लेख्थे। पढाइमा पनि अब्बल थिए। तर, कक्षामा प्रथम भने मिनेन्द्र नै हुन्थे।
एसएलसीपछि आईएस्सी पढ्न मिनेन्द्र काठमाडौँ आए। अशोक उतै छुटे। तर, उनीहरुको मित्रता छुटेन।
कहिलेकाहीँ मिनेन्द्र धरान हान्निन्थे। धरान पुगेर साथीलाई भेट्थे। दिनभर सँगै फिल्म हेर्थे, मःम खान्थे र साँझ विराटनगर फर्किन्थे। लामो समय यस्तै चल्यो। तर, पछि अशोक कम्युनिस्ट पार्टीका नेता बने, मिनेन्द्र कांग्रेसको।
धरानमा पुगिसरी आएको परिवारमा हुर्केका थिए मिनेन्द्र। उनले बाल्यकालमा अभावको महसुस कहिल्यै गर्नुपरेन।
बुबा श्रीप्रसाद रिजालले पढेका थिएनन्। तर, माइला बुबा र काइँला बुबाले बनारस गएर पढेका थिए।
‘माइला बुबाको बनारसमै पढ्न गएको बेला मृत्यु भएको थियो,’ उनी भन्छन्, ‘त्यसैले होला हजुरआमाले पढ्न टाढा जान हुँदैन भन्नुहुन्थ्यो।’
उनको घरमै दाजु नाता पर्ने एक जना शिक्षक बस्थे। उनैले कखरा र अंग्रेजी सिकाइदिएका थिए मिनेन्द्रलाई। त्यसपछि कक्षा ३ सम्म धरानको एक पाठशालामा पढे। २०२२ सालमा विराटनगर आएपछि कक्षा ४ देखि ५ सम्म त्यहाँको प्राइमरी स्कुलमा पढे। त्यतिबेला पनि स्कुलको शुल्क महिनाको पाँच-छ सय रुपैयाँ थियो।
‘सम्पन्न परिवारमा जन्मिएको भएर यसरी टप हुने अवसर पाएँ,’ उनी भन्छन्, ‘यदि रिजाल परिवारमा नजन्मिएको भए यो अवस्थामा आउने थिइनँ होला।’
कक्षामा सधैँ प्रथम हुने हुनाले साथीहरु उनको नजिक हुन खोज्थे। विद्यार्थीको सिकाइ र समग्र विकासका लागि पारिवारिक पृष्ठभूमि तथा अभिभावकको संलग्नताले ठूलो प्रभाव पार्ने उनको ठम्याइ छ।
सानो छँदा बुबाले उनलाई पढ्न उत्प्रेरित गर्थे। परीक्षाको नतिजा आउने दिन उनी आफैँ छोरालाई लिन स्कुल पुग्थे। प्रथम भएका छोरालाई लिएर खुसी हुँदै फर्किन्थे।
उनी कक्षा ९ मा पढ्दापढ्दै बुबा बिते। त्यो वर्ष पनि उनी प्रथम नै भए। तर, उनलाई लिन बुबा आएनन्। त्यो दिन एक्लै घर फर्किनुपर्दा उनको मन नराम्ररी रोएको थियो।
‘बुबा भइदिएको भए सबै प्रगति र संघर्ष देख्नुहुन्थ्यो,’ उनलाई आज पनि लाग्छ, ‘उसो त उपलब्धि पनि परिवारले ममाथि गरेको लगानी सुहाउँदो नै छ।’
‘राजनीतिक हुटहुटीले डाक्टर बन्न सकिएन’
परिवारको चाहना थियो, छोरा डाक्टर बनोस्, बिरामीको सेवा गरोस्। डाक्टरले आमालाई उपचार गरेको देखेपछि उनलाई पनि लागेको थियो, डाक्टर नै बन्छु। तर, त्यो सोच लामो समय टिकेन।
‘२०२५ सालमा बीपी कोइरालालाई स्वागत गर्न विराटनगर विमानस्थल गएपछि बीपीको राजनीति र व्यक्तित्वबाट प्रभावित भएँ,’ उनी भन्छन्, ‘त्यसपछि डाक्टर बन्ने सपना छुट्यो।’
कक्षा ६ मा हुँदै मिनेन्द्रले विद्यार्थी युनियनको चुनाव लडे। सफल पनि भए।
आफ्नै परिवारबाट काका नाता पर्ने नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बनेपछि झन् राजनीतितर्फ आकर्षित भए।
‘राजनीतिबाट धेरै गर्न सकिन्छ भन्ने हुटहुटीले डाक्टर बन्न सकिएन। काठमाडौँको त्रिचन्द्र क्याम्पसको वातावरणले झन् धेरै राजनीतिप्रति लगाव बढाएको हो,’ उनी भन्छन्, ‘आमाबुबाको चाहना मलाई डाक्टर बनाउने थियो। पुरा भएन।’
अमृत साइन्स कलेजबाट आईएस्सी सकेपछि त्रिचन्द्रबाट बीएस्सी गर्दा उनी टपर भएका थिए।
‘राजनीतिमा प्रयास गरेका सबै सफल हुँदैनन्। त्यसैले होला, आमाबुबाको चाहना छोराछोरी राजनीतिमा नगइदिऊन् भन्ने हुन्छ,’ उनी भन्छन्, ‘किनभने मान्छेले कोइराला मात्रै देख्छन्, गान्धीहरु मात्रै देख्छन्। राजनीतिमा सफल भएका मान्छे मात्रै देखिन्छन्। असफल हुनेहरु देखिँदैनन्। र, सफल हुन सजिलो छैन।’
छात्रवृत्तिमा अमेरिकामा गए, उतापनि टपर भए
मिनेन्द्र त्रिभुवन विश्वविद्यालयमा मास्टर्स पढ्दै थिए। नेविसंघको केन्द्रीय नेता थिए। संगठनकै काममा उनको दुर्गा भट्टराईसँग भेट भयो, जो पद्यकन्यामा पढ्थिन्। चार वर्षको चिनजान/प्रेमपछि विवाह भयो।
त्रिवि केन्द्रीय क्याम्पसबाट व्यवस्थापन मास्टर्समा सर्वोत्कृष्ट बनेपछि उनी त्यहीँ पढाउन थाले। पढाइरहेका बेला २०४४ सालमा फुलब्राइट छात्रवृत्तिमा अमेरिकामा एमबीए गर्ने अवसर मिल्यो।
विद्यावारिधि पनि छात्रवृत्तिमा गरेका उनी न्युयोर्क युनिभर्सिटीमा सर्वोत्कृष्ट भएका थिए। विद्यावारिधिपछि उनी ‘वाल स्ट्रिट जर्नल स्टुडेन्ट अचिभमेन्ट अवार्ड’ बाट समेत सम्मानित भए।
‘यो अवार्ड टप विद्यार्थीले मात्रै पाउँथे,’ उनी भन्छन्, ‘पढाइमा अमेरिका पुगेर पनि उत्कृष्ट भएँ।’
उत्कृष्ट विद्यार्थी उत्पादनका लागि घरको आर्थिक र शैक्षिक अवस्था बलियो हुनुपर्ने उनको अनुभव छ।
‘मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था प्रारम्भिक बाल्यावस्था हो। नेपालका सन्दर्भमा सबै व्यक्ति मजस्तो सम्पन्न परिवारमा हुर्किंदैनन्,’ उनी भन्छन्, ‘शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास हुने समयमा उचित विकासको अवसर नपाउँदा सबैले राम्रो गर्न सक्दैनन्।’
शैक्षिक सफलताको निर्धारण परिवार, विद्यालयभित्रको लगानी र सिकाइ प्रक्रियाले गर्ने उनी बताउँछन्।
करिब एक दशक अमेरिकामा बिताएका उनले तीन वर्ष त्यहाँ अध्यापन पनि गरे। यसक्रममा उनले नेपाल र अमेरिकाको शिक्षा प्रणालीमा आकास–पातालको भिन्नता पाए।
त्यहाँ उनी हप्ताको २ घण्टा ४० मिनेट पढाउँथे। तर ५ घण्टा २० मिनेट कार्यालय समय हुन्थ्यो। विद्यार्थीले नजानेका प्रश्न अफिसमा आएर सोध्थे। विद्यार्थीले शिक्षकलाई सुझाव र प्रतिक्रिया दिन्थे।
अमेरिकामा एकपटक उनका एक विद्यार्थीले परीक्षाअघि फिडब्याक दिँदा लेखेका थिए– ‘तपाईं रिसउठ्दो खालको हुनुहुन्छ, तर शिक्षकका रुपमा एकदमै उत्कृष्ट हुनुहुन्छ। एकदमै राम्रो शिक्षक भएकाले यो कमजोरी सहजै स्वीकार्न सक्छु।’
उनलाई लाग्छ, बच्चाले नजानेको कुरा सिकाउन सक्ने वातावरण र अभिभावक चाहिन्छ।
‘घर परिवारबाट पाउने सहयोग। नजानेको कुरा सिकाइदिनुस् भन्दा सिकाउने ठाउँ भएन भने कहाँ जाने?’ उनी भन्छन्, ‘बच्चामा अनेकौँ सम्भावना हुन्छन्। त्यो क्षमता र सम्भावनालाई उजागर गर्न परिवारको साथ चाहिन्छ।’
नेपालको शिक्षा क्षेत्रको वर्तमान समस्या निजी र सरकारी विद्यालयबीचको खाडल भएको उनको भनाइ छ।
‘सार्वजनिक र निजी स्कुल अनि सम्पन्न र विपन्न विद्यार्थीबीचको फाटोलाई कसरी कम गर्ने भन्ने नै आजको शिक्षाको चुनौती हो,’ उनी भन्छन्, ‘सार्वजनिक विद्यालयलाई कसरी निजीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने, त्यसतर्फ ध्यान दिनुपर्छ।’
शिक्षाको अधिकार स्थानीय तहमा पुगेपछि पनि सुधार नआएकोमा उनी चिन्तित छन्।
‘सुधार हुन्छ भन्ने अपेक्षासहित शिक्षाको सबै अधिकार स्थानीय सरकारलाई दियौँ। स्थानीय तहमा त कम्तीमा नपढाउने शिक्षकले तलब नपाउला भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘अहिले अवस्था झन् जटिल बन्यो।’
अब १२ वर्षजति क्रियाशील जीवनका तीन विकल्प
अमेरिकाबाट नेपाल फर्किएपछि उनले केही वर्ष काठमाडौँ विश्वविद्यालयमा पढाए।
‘केही समय अध्यापन पेसामा रहेपछि आफैँ कलेज स्थापना गर्ने इच्छा भयो। सोहीअनुसार २०५७ सालमा एपेक्स कलेज स्थापना भयो,’ उनी भन्छन्।
स्थापना कालदेखि हालसम्मै उनी एपेक्स कलेजको अध्यक्ष छन्। तर, उनी विद्यार्थीमाझ ज्यादा रमाउँथे।
‘थाकेका बेला पनि पढाउन आनन्द आउँछ। पढाएर निस्किँदा थकान मेटिन्छ,’ उनी भन्छन्, ‘निकै लामो समयसम्म विद्यार्थीसँग रहन सक्छु। एक दिनमा आठ घण्टा निरन्तर पढाएको अनुभव छ।’
२०६२ सालयता उनले अध्यापन छाडेका छन्। तर, अझै पनि कक्षाकोठामा फर्किने उनको चाहना छ।
‘मेरो क्रियाशील जीवन अब १२ वर्षजति छ। त्यो समयलाई कसरी प्रयोग गर्ने भन्ने हो,’ उनी भन्छन्, ‘मेराअघि तीन विकल्प छन्। पहिलो, केही समय राजनीति गर्ने त्यसपछि पढ्ने पढाउने काम गर्ने। दोस्रो, राजनीतिक संलग्नता घटाउँदै जाने, शिक्षा क्षेत्रमा संलग्नता बढाउने। र, तेस्रो भनेको चटक्कै राजनीति छोडेर शैक्षिक र प्राज्ञिक काममा जाने। कुन बाटो जान्छु दुईचार महिनामै टुंगो लगाउँछु। तत्काल सबैथोक छाडेर शिक्षणमा लाग्न सक्छु।’
उनको व्यक्तित्वको दुई वटा तस्बिर छन्। शिक्षक र राजनीतिकर्मी। उनका थुप्रै विद्यार्थीले उनलाई खरो शिक्षकका रुपमा चिन्छन्।
‘स्वभाव अलि कडा छ। म सबैलाई टेर्दिनँ। पढाउँदा अहिले तपाईंसँग बोलिरहेको मिनेन्द्र रिजाल जाँदैन। मास्टर मिनेन्द्र रिजाल जान्छ,’ उनी हाँस्दै भन्छन्।
राजनीतिमा उनका प्रशंसकहरु उनलाई एक आशावादी र उदाहरणीय नेता मान्छन्।
‘बच्चादेखि नै राजनीतिले तान्यो। महत्वाकांक्षा पनि थियो। काका प्रधानमन्त्री भए। म आफैँ पनि पटकपटक मन्त्री भइसकेँ। यसो हुँदा सामाजिक अभिप्रेरणा सिर्जना भयो,’ उनी भन्छन्, ‘जनतालाई ठग्ने राजनीति गर्ने इच्छा छैन। समाज विस्तारै विकास हुँदै जान्छ। २० वर्षअघि जस्तो आज छैन। हरेक चिज सुधार हुँदै गएको छ।’
त्यो सुधारलाई अझ तीव्र पार्ने उनको चाहना छ।
‘मैले मात्रै गरेर केही हुँदैन तर पुरै राजनीतिको मार्गलाई त्यतातिर लैजान सहयोग गर्छु,’ उनी भन्छन्, ‘त्यसका लागि राजनीतिमा अथवा पदमै टाँसिनुपर्छ भन्ने छैन।’
राजनीतिमा सधैँ चाहेजस्तो हुँदैन। कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी पराजित भए। त्यसपछि रक्षामन्त्री पदबाट राजीनामा समेत गरे।
यस्तो बेला उनलाई उही आफ्ना स्कुले सहपाठी अशोक राईले उदृत गर्दै लेखेको हरफ याद आउँछ, ‘जीवन गुलाबका फूलहरूको ओछ्यान होइन।’
Shares
प्रतिक्रिया