बुवा रोयल नेपाल एयरलाइन्सको सिनियर अफिसर। आमा शिक्षिका। काठमाडौंको बसाइ। दुई दाजु, दिदी, दुई भाइ र बहिनी। अस्मिता सुमार्गीको बाल्यकाल निकै सुखद् थियो। हुर्कने क्रममा उनलाई थाहै भएन दुःख के हो। मन लागेको चिज खान पाउनु, रहर लागेको खेल्न पाउनु, हरेक साँझबिहान बुबाआमासँगै हुन पाउनु, दाजुदिदीको माया, भाइबहिनीसँगको झगडा, आज सम्झिनलाई थुप्रै मिठा स्मृति छन् अस्मितासँग।
१७ पुगेर १८ लागेकी अस्मिता त्यतिबेला १२ कक्षा पढ्दै थिइन्। उनकी दिदीको विवाह भइसकेकाले पनि विवाह गर्ने पालो उनकै थियो। एकदिन हेटौँडाका अजय सुमार्गीसँग अस्मिताको विवाहको कुरा चल्यो।
अजयलाई अस्मिताले सानैबाट देखेकी हुन्। सानिमाको घरमा पढ्न बसेका अजय साना केटाकेटीलाई जम्मा पार्थे र मिठाइ बाँडिरहन्थे। टोलका केटाकेटी अजयलाई दाइ भन्थे र झ्यामिन्थे। अस्मिता पनि दाइ भनेरै बोलाउँथिन्। एकदिन आमाले भनिन् ‘अजयसँग तिम्रो बिहेको कुरा आएको छ।’ अस्मिताले जिब्रो टोकिन र भनिन् ‘दाइसँग कसरी बिहे गर्नु?’
उनलाई अजयसँग विवाह गर्न मन थिएन। विवाह गर्न मन नलाग्नुको कारण दाइ भनेर गरेको सम्बोधनबाहेक अरु थिएन। आमाले निकैबेर सम्झाएपछि भने अस्मिता बिहेका लागि कुरा गर्न राजी भइन्। अजय र अस्मितालाई कुरा गर्न एउटा कोठामा छाडियो। लामो भूमिका बाँधेपछि अजयले भने ‘म तिमीसँग विवाह गर्न तयार छु। तिमी के भन्छौ?’ अस्मिताले भनिन् ‘बुबाममीले दिएको ठाउँमा जान्छु।’
कुरा भएको एक हप्तामा उनीहरुको विवाह भयो।
विवाहपछि अस्मिता हेटौँडाकी बुहारी भइन्। त्यतिबेला हेटौँडा बजार भइसकेकै थिएन। पातलो बस्ती। कच्ची सडक। गाडी कम गुड्थे। बिहान बेलुका सिमेन्ट कारखानाको बस स्कुलका बच्चा बोकेर दौडन्थ्यो। दिनमा २/४ मोटरसाईकल कुद्नु बाहेक प्रायः बाटो सुनसान देखिन्थ्यो। अस्मितालाई यी सबै कुरा अनौठा लाग्थे। घरमा राजनीतिक माहौल थियो। मानिसहरुको आउनेजाने क्रम चलिरहन्थ्यो।
बेलाबेला आमाबुबाको सम्झनाले अत्यास लाग्थ्यो। तर निकै बुझ्ने सासू र श्रीमान् उनका लागि सबैभन्दा ठूला शक्ति भैदिए। सासू सधैं आमाको भूमिकामा देखिइन्। सानैमा बुबा गुमाएर आफ्ना भाइबहिनीलाई अभिभावकत्व प्रदान गरिरहेका अजयले श्रीमतीलाई उसैगरी माया गरे। अस्मिताले विवाहपछि पनि अजयलाई दादा सम्बोधन गर्छिन्।
समय अहिलेको जस्तो थिएन। बच्चा जन्माउन आमाको शरीर परिपक्व हुनुपर्छ भनेर कसले सिकाउने? थाहा हुँदो हो त उनी केही वर्ष बच्चा नजन्माई वैवाहिक जीवनको खुसी मनाउँथिन्। घुम्थिन्। गाउँघरसँग बानी परेपछि बच्चा जन्माउँथिन्। उनी विवाह गरेको केही महिनामै गर्भवती भइन्।
पेट बढ्दै जाँदा लाज पनि बढ्दै गयो
अस्मिता भान्छामा खाना बनाउँदै थिइन्। सधैँ मिठो बास्ना आउने खानाको गन्ध पहिलो पटक मन परेन। पेट बटारिएर आयो। सहेर खाना बनाइन्। के भएको हो उनलाई थाहा थिएन। परिवारसँगै खाना खान बसिन्। केही गाँस खाना खाएपछि वाक्वाकी आयो। उनी आत्तिइन्। नजिकै रहेकी सासू मुस्कुराइन्। सासूले उनको हात समातेर भनिन्, ‘घरमा खुसी आउन लागेजस्तो छ।’ तैपनि अस्मिताले बुझेकी थिइनन्, घरमा कस्तो खुसी आउने तयारी हुँदैछ। सासूसँगै अस्मिता हेटौँडा अस्पताल जँचाउन गइन्। प्रेगनेन्सी रिपोर्ट पोजिटिभ आयो। त्यसपछि बल्ल अस्मिताले बुझिन् घरमा आउन लागेको खुसी। घरमा सबै खुसी हुँदा अस्मिता भने लाजले भुतुक्क भएकी थिइन्।
जति पेट बढ्दै जान्थ्यो, अस्मिताको लाज पनि बढ्दै जान्थ्यो। धेरै कुरा खान मन लाग्दैनथ्यो। दूध र मासु गर्भावस्थाभरि नाक लाग्यो। केही फल पनि खान मन लाग्दैनथ्यो। खान मन लागेको कुरा घरमा हुँदैनथ्यो। भनेको भए नदिने कोहि थिएन, भन्न अप्ठ्यारो लाग्थ्यो। सासू र श्रीमान् सबै उनको ख्याल गर्थे। जेठी बुहारी। यतिबेलासम्म उनको घरमा कसैका केटाकेटी भएका थिएनन्। त्यसैले पनि नयाँ सदस्यको पर्खाइमा उत्साहित देखिन्थ्यो परिवार। अस्मितालाई भने रुन मात्रै मन लाग्थ्यो। परिवारको अगाडि रुन सक्दिनथिन्। बाथरुममा पस्थिन्। रुन्थिन् र मुस्कुराउँदै बाहिर निस्कन्थिन्।
उनलाई छोरी निकै मन पर्ने। छोरीको रहर लाग्थ्यो। सोच्थिन्, ‘मेरी छोरी भइन् भने परी जस्तै बनाउँछु।’ गर्भावस्थाको समयमा उनमा अलि धेरै समस्या देखिए। डाक्टरले भनेका थिए ‘ग्यास हुने खानेकुरा नखानू।’ उनलाई बकुल्ला र गान्टेमुलाको तरकारी खान मन लाग्थ्यो। दुवैको सिजन थिएन। ‘गर्भावस्थाको समयमा खान मन लागेर नपाएको कुराप्रति पछि उतिसाह्रो मन बस्दो रहेनछ,’ अस्मिता सुनाउँछिन्।
बच्चा साट्दिन्छन् भन्ने पीर
गर्भावस्थाको समय अलि धेरै समस्या देखिएपछि अस्मिता सुत्केरी हुन रक्सौल पुगिन्। श्रीमान र सासू उनको साथमा थिए। सुत्केरी हुने दिन बिहान अस्मिता खाना बनाउँदै थिइन्। उनको दुखाइ सुरु भयो। एकैछिन् छोड्ने, एकैछिनमा मरिन्छ जस्तो हुने त्यो समयको दुखाइनै अर्कै किसिमको थियो।
‘एक जना दिदीले पेटमा छामेर व्याथा त लाग्यो बच्चा जन्माउने बेला भएको छैन। अलि साँझ अस्पताल लैजाँदा हुन्छ भन्नु भयो,’ अस्मिताले सुत्केरी व्याथा लाग्दाको समय सम्झँदै भनिन्।
फागु पूर्णिमाको दिन थियो। दिनभरि उनकी सासूले अस्पताल जाने तयारी गरिन। अस्मितालाई कहिले व्याथा लाग्ने कहिले छोड्ने भइरह्यो। कति दुखेपछि बच्चा जन्मिन्छ उनलाई थाहा थिएन। घरीघरी लाग्थ्यो, ‘अब त मरिन्छ होला।’ बेलुकीपख उनी अस्पताल भर्ना भइन्। छेउमा सासू थिइन्। श्रीमान् बाहिर थिए। अस्मिता भने जति धेरै दुखाइ बढ्दै जान्थ्यो, त्यति आफ्नी आमालाई सम्झिन्थिन्। उनलाई लाग्थ्यो ‘आमा छेउमा हुनुभएको भए कति धेरै रुन्थेँ होला।’ अस्मितालाई त्यही बेला थाहा भयो, ‘आँसुले पनि आफन्त खोज्दो रहेछ।’
उनी सामान्य रुपमा सुत्केरी हुन सकिनन्। त्यो बेला अप्रेसन गरिहाल्ने प्रचलन थिएन। लामो प्रसव व्याथापछि ‘भ्याकुम’ लगाएर उनको बच्चा तानियो। त्यो क्षणको पीडा व्यक्त गर्ने शब्द अहिले पनि छैनन् उनीसँग।
भ्याकुम लगाएर तान्दा नमिल्दो देखिएको छोराको टाउकोका कारण उनलाई झन् धेरै पीडा भयो। त्यो दिन अस्पतालमा १३ जना महिला उनीसँगै आमा भए। १२ महिलाले छोरी जन्माउँदा छोराकी आमा उनी मात्रै थिइन्। त्यतिबेला अस्पतालमा बच्चा साटिन्छ भन्ने हल्ला निकै सुनिन्थ्यो। अजय आफ्नो छोरो साटिएला भनेर रातभरि छोरो च्यापेर बसे। अस्मितालाई भने आफ्ना श्रीमानको अवस्था देखेर हाँसो उठेको थियो। तर सुत्केरी वार्डबाट बाहिर निस्किएर श्रीमानलाई देख्दा भने अस्मिता डाँको छोडेर रोएकी थिइन्। अजयले पनि रुँदै सम्झाएका थिए, ‘अब सकिइ त सक्यो।’
बच्चा हातमा लिएपछि भने अस्मितालाई अर्कै लोकमा पुगेको जस्तो महसुस भयो। उनको मन भरिएर आयो। उनलाई लाग्यो ‘अहो! हिजोसम्म म आफैँ बच्चाजस्तो थिएँ। अहिले त म आमा भएँ। समय कति शक्तिशाली हुने रहेछ।’ सुत्केरी भएपछि टाँका लगाउँदा डाक्टरले गल्ती गरेछन्। उनी ६ दिनसम्म उठ्न बस्न सकिनन्। टाँका काटेपछि भने अलि सहज भयो।
सुत्केरी भएको आठ दिनपछि अस्मिता घर फर्किन्। सुत्केरी भएको ११ दिनसम्म कुनामा बस्ने चलन थियो। श्रीमानले छुन हुन्न भन्ने मान्यता थियो। अस्पतालबाट फर्किएपछि अस्मिता पनि कुना बसिन्। उनलाई त्यो समय हिजोसम्म पसिरहेको भान्सामा पस्न नपाउँदा, आफ्नै कोठामा जान नपाउँदा नमिठोसँग दुखेको थियो। भन्छिन्, ‘११ दिनको दिन त अरु भन्दा पनि अब सबै तिर जान पाइन्छ भनेर खुसी लागेको थियो।’
संयुक्त परिवार भएकाले बच्चा हुर्केको थाहै भएन
संयुक्त परिवार थियो। परिवारको पहिलो बच्चा। छोरो हुर्काउँदाका कष्ट अस्मितालाई थाहै भएन। उनका छोरा सबैको माया र हेरचाहमा हुर्किए। आफ्नो छोरालाई सबैले माया गरेको देख्दा हर्षले अस्मिताका गहभरी आँसु हुन्थे।
उनका छोरा तीन वर्षका भएका थिए। छोराको शरीरमा स–साना डाबर आए। काठमाडौं आएको बेला थियो। अस्पताल लगेर चेकअप गराइन्। भोलिपल्ट श्रीमान आमा छोराको रिपोर्ट लिन गए। रिपोर्ट हेरेर डाक्टरले ब्लड क्यान्सरको आशंका गरे। अजय आत्तिए। उनले हेटौँडामा रहेकी आमालाई फोन गरेर भने, ‘आमा म छोरालाई बैंकक लिएर जान्छु। आफ्नो रहेछ भने लिएर आउँला। रहेनछ भने रित्तै फर्किन्छु।’
घरमा रुवाबासी चल्यो। अस्मितालाई भने अजयले छोराको रोग बताएनन्। बैंकक लैजाने तयारी चल्दै गर्दा आफन्तले सुझाए, एक पटक टिचिङमा चेकअप गराऊ। टिचिङ अस्पतालमा पुनः रगत जाँच भयो। रिपोर्ट सामान्य आयो। त्यसपछि बल्ल अजयले श्रीमतीलाई केही दिन आफ्नो मनमा चलेको आँधी सुनाए। अस्मिता फेरि एक पटक डाँको छोडेर रोइन्।
छोरा हुर्किंदै थिए। अस्मिताले अर्को बच्चा पाउने नपाउने निर्णय लिन सकिरहेकी थिइनन्। मनको भित्री कुनामा छोरीको रहर त छँदै थियो। यहीबीचमा उनकी नाताले जेठानी पर्ने एकजना दिदीको बच्चा ठूलो भएर बिते। जेठानीका दुईवटा बच्चा थिए। एउटा बिते पनि अर्को भएकाले उनलाई सम्हालिन अलिक सहज भयो। त्यसपछि अस्मितालाई लाग्यो, ‘एउटा बच्चा भनेर बस्नु हुँदैन।’ उनले दोस्रो पटक आमा बन्ने निधो गरिन्।
मृत्युको मुखबाट फर्किएको त्यो क्षण
जेठो छोरो ६ वर्षको भएपछि अस्मिता दोस्रो पटक गर्भवती भईन्। दोस्रो पटक पहिलाको जति सजिलो भएन। गर्भमा हुर्किंदै गएपछि सुरुवातबाटै बच्चा उल्टो बस्न थाल्यो। हरेक महिना वीरगञ्ज अस्पताल जानुपर्यो। कष्ट भएपनि छोरीको आश थियो। उनी परीजस्तै छोरीको कल्पना गर्थिन्।
नौ महिनाको कष्टकर समय गुजारेर अस्मिता वीरगञ्ज अस्पताल भर्ना भइन्। दिउँसो अस्पताल भर्ना भएकी अस्मिताले साँझसम्म बच्चा जन्माउन सकिनन्। श्रीमानलाई प्रसूति वार्डमा पस्न अनुमति थिएन। सासूलाई पनि कतिबेलादेखि डाक्टरले भित्र पस्न दिएनन् अस्मितालाई थाहा छैन। रातको कति बजेको थियो पनि उनलाई थाहा छैन। डाक्टरले उनको दुवै खुट्टा बाँधिदिए। अस्मिताले आफ्नो जिन्दगीको माया मारिन्।
श्रीमान, आमा, सासू र छोरा सबैलाई देख्न मन थियो। कसैलाई देख्न पाइनन्। सबैलाई सम्झिएर रुँदारुँदै अस्मिता कतिबेला बेहोस भइन्, उनलाई नै थाहा भएन। राम्रोसँग उज्यालो भएकै थिएन। बुहारी हेर्न भित्र पसेकी सासूले अत्तालिँदै बाहिर आएर छोरालाई भनिन्, ‘बाबु अस्मिता मरिछ। हाम्रो बर्बाद भयो।’ अस्पतालभित्र श्रीमतीको अवस्था देखेपछि अजयले खप्न सकेनन्। सुत्केरी हुने अन्तिम तयारीमा रहेकी श्रीमतीको जिन्दगीसँग डाक्टरले गरेको हेलचेक्र्याइँ सह्य भएन उनलाई। उनले चिच्चाएर भने ‘मेरी श्रीमतीको लास लिएर जानु पर्यो भने म अस्पतालमा आगो लगाइदिन्छु।’
त्यसपछि अस्पतालमा सानोतिनो हंगामा भयो। सुत्न गएका डाक्टर अस्पताल आए। बिरामी हेरे। सलाइन पानी चढाए। अनि भ्याकुम लगाएर बच्चा ताने। अस्मिता मृत्युको मुखबाट फर्किएर आइन्। बाहिर नर्मल वार्डमा आएपछि सासू र श्रीमानले ‘तिमीलाई हामीले झण्डै गुमाइसकेको’ भन्दै बेस्मारी अंगालो हालेर रोए। अस्मिता पनि सासू र श्रीमानसँगै निकैबेर रोइन्। यो चोटबाट बाहिर निस्कन उनलाई धेरै दिन लाग्यो। दोस्रो पटक पनि उनले छोरा जन्माइन्।
सानो छोरो पनि उनले थाहै नपाई हुर्किए। दुई छोरा जवान हुँदै गर्दा अस्मितालाई छोरीको अभाव महसुस भइरह्यो। ठूलो छोरा १२ पढ्दै थिए। अस्मिताले छोरालाई सोधिन ‘बाबु एउटा बहिनी पाउँछु है?’ सानो छोरा सानै थिए, खुसी भए। ठूलो छोराले भने उनलाई गाली गर्दै भने, ‘म यति ठूलो भइसकेँ। अब हजुरलाई बहिनी पाउँछु भन्न लाज हुँदैन? म चाहिँ यति ठूलो, बहिनी सानी हुँदा मलाई लाज हुन्छ।’ त्यसपछि भने अस्मिताले छोरीको रहरलाई गाँठो पारेर राखेकी छन्।
छोराहरु हुर्किने क्रममा कहिले होस्टलमा बसे। कहिले पढ्नका लागि विदेश पुगे। सानैबाट उनीहरुले पाउनु पर्ने आमाको काख पाएनन्। हरेक साँझबिहान खाना पस्किँदा अस्मितालाई भक्कानो फुट्थ्यो। चाडपर्वमा अरुका बच्चा जम्मा हुँदा मन र आँखा दुवै थामिँदैनथे। फेरि ‘उनीहरुको भविष्य पनि त बनाउनु पर्यो’ भन्ने सोचेर आफूलाई बलियो पार्थिन्। छोराहरु पनि बेलाबेला गुनासो गर्थे, ‘हामी हुर्काउने बेला हजुरहरुले समय दिनु भएन।’ अस्मिताको मन भारी हुन्थ्यो। सोच्थिन्, ‘समयले एकदिन आफैँ बुझाउने छ।’
अहिले त उनका छोरा हुर्किसके। दुवै छोरा बुबाआमाको व्यवसायको हिस्सा सम्हालेर बसेका छन्। अस्मिताको एउटै रहर छ, अब त छोराले विवाह गरिदिए हुन्थ्यो।
Shares
प्रतिक्रिया