गाउँको परिवेश। संयुक्त परिवार। उस्तै उमेरका थुप्रै केटाकेटी। उनका बुबाआमाका सात सन्तानमध्ये साइँली छोरी उनी। २०३४ सालमा गुल्मीको म्यालपोखरी–१ मा जन्मिएकी अहिलेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको बाल्यकाल निकै रमाइलो तरिकाले बित्यो। आफूभन्दा सानी बहिनी हुर्काउन उनले आमालाई सहयोग गरिन्। बच्चाहरुसँग खेल्दै हुर्किएका कारण पनि उनी सानैदेखि बालबच्चा मन पराउँथिन्।
एसएलसी गाउँकै स्कुलबाट पास गरेकी झाँक्री त्यसपछिको अध्ययनका लागि काठमाडौँ आइन्। एसएलसी दिनुअघि नै उनले आफूलाई भावनात्मक रुपमा घर छोड्न तयार पारेकी थिइन्। किनभने पढ्न सहर जानैपर्थ्यो। एसएलसी परीक्षा दिएपछि उनलाई आमाको सुर्ताले सताउन थाल्यो। अब आमालाई छाड्नु पर्छ भन्ने चिन्ताले गाँजेपछि नतिजा नआउञ्जेल हरेक रात आमासँगै सुतिन्। घर छाड्ने बेला छोरीको निधारमा टीका लगाउँदै रोइन् आमा। रामकुमारीको मन रोए पनि आँसु झार्न सकिनन्। उनलाई लाग्यो, ‘पढ्न जाने छोरी रुँदै जानु हुँदैन।’
तर, घरबाट निस्किएपछि केही कान्लामुन्तिरको डुवा (गोठ) पार गरेपछि उनका आँखा भरिए। आँसुले ओरालो बाटो धमिलो बनायो। आँगनको डिलमा बसेर उनी झरेको बाटो हेरिरहेकी आमालाई फर्किएर हेर्न सकिनन्। यो क्रम उनको जीवनमा बाम्बार दोहोरिइरह्यो।
काठमाडौँ आएपछि पनि बच्चाहरुसँग रामकुमारीको सम्बन्ध प्रगाढ थियो। उनी कलेज पढ्ने हुँदा उनका दाजु–दिदीका छोराछोरी भइसकेका थिए। उनी बच्चाहरुलाई असाध्यै माया गर्थिन्। तर त्यसबेला बच्चालाई गरेको मायाको बदला उनको मनले पनि बच्चाको मायाको अपेक्षा गथ्र्यो। त्यसबेला उनी पीसीएल पढ्दै थिइन्। हरेक दिन बाहिर निस्कँदा होस् अथवा बाहिरबाट घर आउँदा उनलाई घरबेटीका छोराले निकै पछ्याउँथे। तीन वर्षका बालकले एकदिन नजिकै हुँदा पनि उनको वास्तै गरेनन्। रामकुमारीको मन कुँडियो। उनलाई लाग्यो ‘ला मलाई त उसले वास्तै गरेन। आफ्नै सन्तान भएपछि भने मायाको बदला बच्चाबाट मायाकै आशा गर्न सकिने रहेछ,’ रामकुमारीले सुनाइन्।
ढिलो विवाह
गुल्मीकै पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदहबाट माध्यमिक तहको शिक्षा सकेर काठमाडौं आएकी रामकुमारी पढाइसँगै विद्यार्थी राजनीतिमा सक्रिय भइन्। २०४७ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरु गरेकी रामकुमारीले बहिनीका छोराछोरी भइसक्दा समेत विवाह गरेकी थिइनन्। उनका बुबाआमालाई छोरीले विवाह नगर्ने भइन् भन्ने ठूलो चिन्ता थियो। बा–आमाको चिन्ता बढिरहेकै बेला काठमाडौँका पशुपतिबाबु पुरीसँग उनको चिनजान भयो। त्यहि चिनजान प्रेम हुँदै विवाहमा परिणत भयो। रामकुमारीका बा–आमाका पीडाका सुस्केरा सकिए।
विवाह गर्दा उनी अखिल अध्यक्ष थिइन्। पार्टीको जिम्मेवारीले भागदौडको जिन्दगी बाँचिरहेकी झाँक्रीले तत्काल बच्चाको योजना बनाइनन्। तर परिवार र उनका बा–आमालाई भने बच्चा जन्माउँदैनन् कि भन्ने चिन्ता थियो। विवाहको दुई वर्षपछि अखिल अध्यक्ष छाडेकी झाँक्रीले त्यसपछि बल्ल सन्तान जन्माउने योजना बनाइन्।
आमा बन्ने तयारी गर्दै गर्दा उनलाई गर्भावस्थाका बारेमा धेरै जानकारी थियो।
‘प्रेगनेन्सी रिपोर्ट पोजिटिभ आएको दिन पनि त्यस्तो फरक महसुस केही भएन। आफैँले प्लान गरेको कुरामा नर्भस हुने कुरा पनि भएन,’ उनी भन्छिन्।
गर्भावस्थाका दिनहरु वाक्वाकी लाग्ने, खान मन नलाग्ने, झिँजो लाग्ने भइरह्यो। तर आफूभन्दा पहिल्यै आमा बनेका बहिनी, साथीहरुले सुनाएका कुराले पनि उनलाई यी सबै सामान्य हुन् भन्ने लाग्यो। सुरुवाती दिनमा डा. पद्मराज पन्तसँग टिचिङ अस्पतालमा नियमित जाँच गराइन्। पन्तले आफैँले लेखेको ‘मातृत्व’ भन्ने किताब दिए। झाँक्रीले एकै रातमा पढेर सकिन्। उक्त किताबमा गर्भावस्थादेखि डेलिभरीसम्मका सबै प्रक्रिया लेखिएको थियो। जसले गर्दा गर्भावस्थाको समय उनका लागि अझै सहज भयो।
झाँक्री गर्भवती भएका बेला पेट्रोलको भाउ निकै बढेको थियो। ट्याक्सीमा चढेपछि एक हजार रुपैयाँ नजिकैको यात्रालाई छुट्याउनु पर्ने। शंखमूलको बसाइ। नियमित जँचाउन टिचिङ अस्पताल टाढा लाग्यो। त्यसपछि उनले अस्पताल र डाक्टर परिवर्तन गरिन्। गर्भावस्थाको पछिल्लो समय उनी पाटन अस्पतालमा डा. अल्का सिंहको निगरानीमा बसिन्। जस्तै बलियो बन्न खोजे पनि शारीरिक तथा मानसिक रुपमा कमजोरी देखिन्थे। त्यो समय आफ्ना समस्या भन्दै गरेकी झाँक्रीलाई डाक्टरले भनिदिन्थे ‘तिमी बहादुर छोरी हौ। यो सामान्य प्रक्रिया हो। केही हुँदैन।’
उनलाई लाग्थ्यो– म साँच्चै बहादुर हुनुपर्छ।’
अखिल अध्यक्ष छाडेपछि दौडधुप कम भएको थियो। गर्भावस्थाका बेला उनी राजनीतिक आन्दोलनमा हिँडिनन्। भाषण गरिनन्। बरु यो समय उनले लैङ्गिक समानतासम्बन्धी कार्यक्रम र बहसहरुमा भाग लिइन्।
उनका जेठानीहरु सबै निजामती कर्मचारी। १० बज्दा सबै हिँडिसकेका हुन्थे। सधैँ दौडधुपको जिन्दगी बाँचिरहेकी झाँक्रीलाई घरमै देखेर उनकी सासू भन्थिन्, ‘तिम्रो मिटिङ छैन? कहीँ जान्नौ?’
उनलाई लाग्थ्यो, ‘अहो! म त सक्रिय पो थिएँ त!’ त्यसपछि घरबाट निस्किन्थिन्। आमालाई भेट्न जान्थिन्। साथीसँग भेट्थिन्। कफीसपतिर टहलिन्थिन्। गर्भावस्थाको सुरुवाती तीनचार महिना उनी बाहिर गएर लेमन सोडाबाहेक केही खान्नथिन्। चार महिनापछि भने खानेकुरा नाक लाग्न छोड्यो।
त्यही समय मिडियामा समाचार आउँथ्यो, ‘विवाहपछि रामकुमारी हराइन्।’ ती समाचारप्रति उनको गुनासो र टिप्पणी थिएन। उनलाई लाग्थ्यो, ‘म जीवनको अर्को अध्यायमा प्रवेश गर्दैछु।’ पेटमा बच्चा चल्न थाल्दा उनी सबै कुरा बिर्सिएर रमाउँथिन्। गर्भावस्थाको समयमा श्रीमान् भने कामको सिलसिलामा दोलखामा थिए। उनले गर्भावस्थाका धेरै समय श्रीमानसँग बिताउन पाइनन्। डेलिभरीका बेलामा भने उनका श्रीमान् ललितपुर सरुवा भएर आएका थिए।
जब सहनुको सीमा भत्कियो
आफू गर्भवती भएको उनले धेरै मान्छेलाई सुनाइनन्। जाडो महिना थियो। लामो कोट लगाएर हिँड्थिन्। कतिपय नजिकका साथीले पनि उनी गर्भवती रहेको थाहा पाएनन्। तर, डाक्टरले भनेका हरेक कुरा पालना गरिन्। डेलिभरीको समयमा सजिलो हुन्छ भनेर उनी निकै हिँड्थिन्।
माघे संक्रान्तिको साँझ उनको पेट दुख्यो। ‘मातृत्व’ किताबमा लेखेअनुसार अस्पताल जाने समय हो भन्ने लागेन। रातभरि दुखाइ सहेर बसिन्। २ गते पनि उनी दिनभरी घरमै बसिन्। त्यो रात भने उनलाई निकै पीडा भयो। जब पेट दुख्थ्यो, उनी अस्पताल जान तयार हुन्थिन्। केहीबेरमा दुखाइ कम हुन्थ्यो, नजाने भन्थिन्। यो क्रम रातभरि चल्यो। बिहान ५ बजे उनी अस्पताल भर्ना भइन्। विद्यार्थी राजनीतिमा सक्रिय उनलाई नचिन्ने कमै डाक्टर थिए अस्पतालमा। उनी भर्ना भएपछि अस्पतालमा एकखालको हल्ला नै भयो। उनलाई डाक्टरहरुले भनिरहेका थिए, ‘तपाईंको बच्चा नर्मल जन्मन्छ।’
प्रसूति वार्डमा आमा बन्ने तयारीमा रहेका थुप्रै महिला थिए। उनीहरु रोएको कराएको सुनेरै झाँक्रीको मन आत्तिएको थियो। तर उनी आफूले सहनै नसक्ने हुँदा पनि रुन सकिनन्। भन्छिन्, ‘सबै जना चिनेका थिए। रुन लाज हुँदो रहेछ। पपुलारिटीले दुख्दा रुन पनि नदिने रहेछ।’
उनलाई निकै गाह्रो भएको थियो। डाक्टर आउँथे, उनलाई धाप मारेर भन्थे, ‘मेरो बहादुर बिरामी।’ प्रसवका बेलाको दुखाइले उनलाई झण्डै ६ महिना झस्काइरह्यो। उनी लामो समय निद्रामा पनि झस्किन्थिन्। अस्पताल भर्ना भएको बिहान ९ः५४ मा उनले छोरा जन्माइन्। बच्चा जन्माएपछि उनलाई झन् धेरै गाह्रो भयो। लाजले लुकाएर राखेका आँसु त्यसपछि झरे। ‘सहनुको सीमा भत्किएपछि लाजको घुम्टो पनि उतारिने रहेछ,’ झाँक्रीले सुनाइन्।
डेलिभरीपछि पनि प्रसूति वार्डबाट निस्कन उनलाई लामो समय लाग्यो। एकातिर दुखाइ कम भएन। अर्कोतिर स्टिचिङमा पनि समय लाग्यो। बच्चा जन्मिएको झण्डै दुई घण्टापछि प्रसुति वार्डबाट नर्मल वार्डमा आइपुग्दा ठूलो युद्धपछिको सन्नाटा जस्तो लागेको थियो उनलाई। उनी सुत्केरी हुँदा बाहिर को को थिए, कसरी खुसी व्यक्त गरे, रामकुमारीले थाहै पाइनन्। उनी बाहिर निस्कँदा उनको छोरो श्रीमानको काखमा थिए।
उठेर हिँड्न ३ महिना लाग्यो
प्रसूति वार्डबाट बाहिर निस्कँदा सबै प्रफुल्ल थिए। छोराको अनुहार हेरेर उनी पनि पीडा बिर्सिन खोजिरहेकी थिइन्। तर, त्यसपछि उनलाई ‘युरिनरी ट्रयाक्ट इन्फेक्सन’ भयो। थुप्रै औषधि लिनुपर्यो। १० दिन अस्पताल बसिन्। विभिन्न परीक्षणको क्रममा डाक्टरले भने, ‘कलेजोमा मासु देखियो।’ उनलाई क्यान्सरको सन्त्रास भयो। तर पछिल्लो परिक्षण रिपोर्ट सामान्य आयो। अस्पतालबाट घर फर्किंदा रामकुमारी निकै गलेकी थिइन्। सधैँ हिँडेको बाटो उठेर हिँड्न आँट आएन। पर्याप्त स्याहार हुँदा पनि उनलाई उठेर हिँड्न ३ महिना लाग्यो।
सबैले भन्थे, ‘आफू आमा भएपछि आमाको झन् धेरै याद आउँछ।’ रामकुमारीले भने आमालाई कम, छोरालाई धेरै सम्झन थालिन्। भन्छिन्, ‘आमाले मात्रै रहेछ बच्चा भनेर हिरिक्क हुने।’ बेलाबेला आमासँग कुरा हुन्थ्यो। आमा आफ्नी छोरी आमा भएकोमा निकै खुसी थिइन्।
बच्चा छाड्दाको सकस
बच्चा १३ महिनाको हुँदा उनले पहिलो पटक छाडिन्। केही दिनका लागि गुल्मी पुगेकी झाँक्री कार्यक्रम नसकी दुई दिनमै फर्किइन्। त्यतिबेला बल्ल उनलाई महसुस भयो, ‘हरेक पटक घरबाट निस्कँदै गर्दा किन रसाउँथे आमाको आँखा!’
त्यसपछि त सानो बच्चा छाडेर हिँडिरहनुपर्यो। परिवारमा बच्चाको रेखदेखमा कमी थिएन। ‘तर मानसिक रुपमा भएको गाह्रो शब्दमा व्यक्त गर्न कहाँ सकिँदो रहेछ र?’ उनी भन्छिन्।
रामकुमारीका छोरा हुर्कने क्रममा त्यत्ति बिरामी भएनन्। तैपनि बेलाबेला अस्पताल लगिरहिन्थन्। राम्रोसँग हुर्किरहेका छोराको हातमा अचानक ‘ट्रिगर थम्ब’ भयो। चार वर्ष लाग्दै गरेका उनका बच्चाको अप्रेसन गर्नुपर्ने भयो। अस्पताल जानुअघि रामकुमारीले छोरालाई ‘अप्रेसन गर्नुपर्छ, तिमीलाई नदुख्ने औषधि दिएको हुन्छ, तिमी बेहोस भएको हुन्छौ’ भनेर सम्झाएकी थिइन्।
तर, लट्याउने सुई दिँदा छोरालाई दुख्यो। छोरा कराए, ‘मामु, हजुरले दुख्दैन भन्नु भएको होइन्? मलाई दुख्यो।’
‘बाबुको त्यो क्षणको अवस्था देखेर मरौँजस्तै भयो,’ उनी भन्छिन्। उनी ठूलो फ्रेम भएको चस्मा लगाएर रुँदै बसिन्।
अप्रेसन थिएटरबाट छोरालाई ट्रलीमा बाहिर निकाल्दै गर्दा उनलाई अँगालो हाल्न मन थियो। तर छोरालाई एनेस्थेसियाले राम्रोसँग छोडेको थिएन्। त्यहि दिन अप्रेसन गरेको छोरो छाडेर उनी पार्टीको कार्यक्रममा सिन्धुपाल्चोक पुगिन। जिन्दगीभरीको सबैभन्दा गाह्रो क्षण थियो यो उनका लागि। अहिले फर्किएर हेर्दा उनलाई लाग्छ, ‘त्यो चाहिँ नगरेको भए हुन्थ्योजस्तो लाग्छ।’
कोरोना कालमा रामकुमारी बिरामी परिन्। दुरी कायम गर्नुपर्ने बेलामा उनलाई छोरा काखमा राख्न मन हुन्थ्यो। उनले परैबाट छोरो हेरेर चित्त बुझाइन्। त्यो समय उनी भान्सामा पस्न सकिनन्। छोराले भन्थे, ‘मामु माम पकाउनु हुन्न?’ छोराको प्रश्नले कुँडिन्थ्यो उनको मन। अहिले उनका छोरा ४ कक्षा पढ्ने भए। उनी मन्त्री छिन्। आमाछोराकै दैनिकी निकै व्यस्त चलिरहेको छ। कहिलेकाहीँ त उनका आमाछोराको लामो समय भेटै हुँदैन। उनलाई भित्रभित्रै लाग्छ, ‘भोलि कतै छोराले गुनासो त गर्ने होइन।’
छोरालाई लिएर रामकुमारीका ठूला सपना केही छैनन्। भन्छिन्, ‘स्वस्थ हुर्कियो। आफ्नो जिन्दगीको फ्रेम आफैँ बनाएर बाँचोस्। उसले बाँच्न चाहेको जिन्दगीमा भर दिन सकियोस्।’
Shares
प्रतिक्रिया